चन्द्र पात्रोअनुसार नव वर्ष परेको जाडो बिदामा म प्राथमिक तहको दोस्रो श्रेणीमा थिएँ । पहिला नजिकै बस्नुहुने मेरी फुपू टाढाको सहरमा सर्नुभएपछि एक दिन हामीलाई भेट्न आउनुभयो । लामो समयपछि भेट भएको उहाँको परिवारसँगै हामीले हर्षपूर्ण समय बितायौं । फर्कनुअघि फुपूले बिछोडिनुपरेकोमा क्षमाप्रार्थी हुँदै मलाई र बहिनीलाई आफ्नो घर लगेर डुलाउने अनि मीठो परिकार खुवाउने इच्छा गर्नुभयो । मलाई फुपू मन पर्थ्यो, अनि म उहाँसँगै जान पनि चाहन्थें, तर स्कूल सुरु हुनै लागेको र त्यसमाथि मलाई गाडीमा यात्रा गर्दा गाह्रो हुने भएकोले बुबा-आमाले मलाई जान दिनुभएन । अन्त्यमा फुपूले ७ वर्षकी मेरी बहिनीलाई मात्र लिएर जानुभयो ।
त्यो दिन मलाई थोरै एकलो महसुस त भयो, तर बिहिनीलाई खेलाउने जिम्माबाट मुक्त भएकीले राम्रो पनि लाग्यो । एक दिन, दुई दिन गर्दै एक हप्ता, एक महिना नै बित्यो, तर पनि उनी फर्केर आइनन् । ऋतु नै परिवर्तन हुँदासम्म पनि उनी आइनन् । मलाई बहिनीको तिर्सना लाग्यो । एक दिन म उनलाई सम्झिँदै गृहकार्य नगरी यो कोठा, त्यो कोठा गरिरहेकी थिएँ । तब मैले बुबा-आमाको कोठामा भएको फोन उठाएँ । बहिनीलाई फोन गर्न मन लागेको भए पनि मलाई फुपूको फोन नम्बर नै थाहा थिएन । मैले फोन उठाएर त्यत्तिकै बोलें ।
“तिमीलाई भेट्न मन लागेको छ, चाँडै घर आऊ है ।”
तब फोनको घण्टी बज्यो । बुबाले गर्नुभएको रहेछ । बुबाले, “हैन यतिका बेरसम्म तिमी कोसँग कुरा गरिरहेकी थियौ ?” भनेर मलाई सोध्नुभयो । म कतिबेर फोन उठाएर बसें भन्ने मलाई पत्तो भएन । बहिनीलाई भेट्न मन भएर मैले फोनमा त्यत्तिकै बोलेको कुरा बुबाले सुन्नुभयो भन्ठानेर म रातोपिरो भएँ ।
केही दिनपछि बहिनी घर फर्केर आइन् । उनले कपाल कुर्लुङ-कुर्लुङ बनाइछिन्, अनि बोलीको छाँट सउलतिरको जस्तो थियो । उनलाई भेटेर खुशी लागेको भए पनि अलि अप्ठ्यारो लाग्यो । तर एकैछिनमा हामीहरू पहिलाभन्दा पनि बढी घुलमिल भयौं । बहिनीसँग खेल्न अब अझ अप्ठ्यारो लागेन ।
हामी सानो छँदा, बहिनी फुपूको घरमा गएको बेला घर शून्य लागेको र उनको धेरै याद आएको कुरा ३० वर्ष बितिसक्दा पनि मैले भनेकी थिइनँ । अर्को पटक बहिनीलाई भेटें भने मुस्काउँदै त्यो कुरा बताउनेछु । अबचाहिँ मूर्ख यो दिदीले बहिनीप्रतिको आफ्नो प्रेम अभिव्यक्त गर्नुपर्ने बेला भएको छ ।