
मे २५ तारिख आइतबार, आलु उखेल्ने समय भएकोले जनशक्ति सहयोग गर्न हामीहरू आलु बारीतिर लाग्यौं । कोरियाभरिको साझा समस्या– व्यस्त मौसममा किसानलाई कामदारको अभाव । त्यसकारण हामीले यो स्वर्ण अवसर गुमाउन चाहेनौं ।
स्त्रीहरू लगायत आइतबार बिदाको दिन समय निकालेका पुरुष लगायत विद्यार्थीहरूसमेत गरेर करीब ३० जना बिहानै सियोनमा भेला भयौं । त्यसपछि हामीहरू दोसान-म्यनको बब्सोङ-रीमा भएको एउटा आलु बारीतिर लाग्यौं । मौसम धुम्मिएको थियो, तर हामी भने वनभोज जान लागेजत्तिकै ज्यादै उत्साहित थियौं ।
आलु बारी पहाडको फेदमा थियो । हामीले समाचारमा दिउँसोतिर पानी पर्ने खबर सुनेकाले काम सक्दो चाँडो समाप्त गर्ने निर्णय गऱ्यौं, र गाडीबाट ओर्लनासाथ बारीतिर लम्कियौं । उकालो लाग्दा मेरो सास बढ्यो, र काम सुरु गर्नुअघि नै सन्तहरू थकित हुनुहुने पो हो कि भनेर चिन्ता लाग्यो । तर उहाँहरू निकै उज्यालो देखिनुहुन्थ्यो ।
काम सुरु गर्नुअघि आलु बारीका मालिकले हामीलाई कामको प्रक्रियाबारे छोटकरीमा बुझाइनुभयो: आलु बारीलाई छोपेका सबै डाँठहरू र Vinyl प्लास्टिक(एथिलिन र क्लोरिनद्वारा बनेको एक किसिमको प्लास्टिक) हटाउने, माटो खनेर आलुलाई बाकसमा हाल्ने र त्यसलाई छोप्ने । खन्नुबाहेक बाँकी सबै काम हाम्रो जिम्मामा आयो ।
त्यो खासै कठिन काम त थिएन तैपनि खेतीको काममा खासै अनुभव नभएकोले व्यापार योग्य गुणस्तरको आलु र इतरका आलुलाई छुट्ट्याउने काम सजिलोचाहिँ थिएन । मैले न्यून गुणस्तरका आलुलाई छुट्टै राख्ने कामको जिम्मा पाएकोले प्रत्येक आलुलाई नजिकबाट नियाल्नुपर्थ्यो ।
कीराले खाएको छ/छैन अथवा धेरै सानो छ कि भनेर मैले जाँच्नुपर्थ्यो । त्यो काम गर्ने क्रममा, परमेश्वरले पनि स्वर्गीय ढुकुटीमा गहूँ जम्मा गर्नुहुँदा यसरी नै गर्नुहुन्छ होला भनेर सोच्न पुगें । दागरहित र परिपक्व विश्वास भएकाहरू मात्र स्वर्गीय राज्यमा प्रवेश गर्न सक्ने भएकाले हामी सन्तानहरू कमजोर भएको देख्नुहुँदा परमेश्वरको मन कति दुख्छ होला ? खेतीको कामद्वारा मैले आत्मिक किसान हुनुभएका परमेश्वरको मनलाई थोरै भए पनि बुझ्न सकें ।
काम द्रुत गतिमा गरिएकोले चाँडै समाप्त भयो । करीब १,००० वर्ग मिटरको आलु बारी र अन्य साना खेतहरू भएर जाँदा सबै काम सिद्धियो । धन्न पानी परेन । बरु उल्टै बादलले घामलाई छेकिदिएकोले काम गर्ने उत्तम वातावरण भयो ।
हामीले स्वयंसेवा गरेको स्वरूप हेरिरहनुभएका गाउँका बुज्रुगहरूले गत जनवरीमा हाम्रो मण्डलीबाट उहाँहरूलाई केश सिङ्गार तथा भोजन वितरण गरेको कार्यलाई सम्झनुहुँदै हाम्रो प्रशंसा गर्नुभयो । यिनीहरूले बुज्रुगहरूलाई धेरै आदर गर्छन्, काम पनि बडो राम्ररी गर्छन् भन्नुहुँदै उहाँहरूले हाम्रो मण्डलीमा फेरि आउने वाचा गर्नुभयो ।
आलु बारीमा गरेको स्वयंसेवाद्वारा मैले जनशक्ति सहयोग गर्नुका साथै आत्मिक महसुस पनि पाएकोले मेरो गर्व दोबर भयो । त्यो दिन सिकेको कुरा, सबैभन्दा छानेको फल मेरो आत्माको मूल्यलाई कहिल्यै घट्न नदिन र सधैँ अगाडि बढ्न सहयोग गर्ने आत्मिक पोषण हुनेछ । यस्तो अमूल्य समय दिनुभएका परमेश्वरलाई धन्यवाद चढाउँदछु, अनि म परिपक्व दाना फलको रूपमा हुर्किएर स्वर्गीय ढुकुटीमा प्रवेश गर्ने त्यो दिनको तिर्सना गर्दछु ।