हाँसोले भरिएको खुशी परिवार

जब हामी हाँस्छौं, हाम्रो हृदय खोलिन्छ । अरू व्यक्तिको हृदय खोलिदिने हाँसोचाहिँ सकारात्मक र न्यानो मनबाट आउँछ ।

17,086 भ्यु

आयरल्याण्डको डब्लिनस्थित एउटा अन्त्येष्टि गृहमा शोकको गम्भीर वातावरणको बीचमा, शोक गर्ने मानिसहरू अचानक हाँस्न थाले । त्योचाहिँ मृतकको अनुरोधअनुसार उनकी छोरीले शोक गरिरहेकाहरूलाई हँसाउन पहिल्यै रेकर्ड गरिएको हास्यास्पद अडियो बजाइदिएकीले गर्दा थियो । दीर्घकालीन रोगसँग जुधिरहेको अवस्थामा पनि सधैँ मुस्कुराउने उक्त मृतकले आफ्नो अन्त्येष्टिमा समेत वरपरका मानिसहरूलाई हँसाए ।

चार्ल्स डिकेन्सका अनुसार “रोग र दुःखको यस संसारमा हामीलाई बलियो बनाउने एक मात्र चीज नै हाँसो हो ।” जीवन जति चुनौतीपूर्ण हुन्छ, त्यति नै हाँसोको मूल्य बुझिन्छ । अहिले २१औँ शताब्दीमा हास्यव्यंग्य सफलताको मुख्य कारक बनेको छ । हास्यास्पद कुरा समावेश भएको विज्ञापनहरूले बिक्री दर बढाउँछ र कम्पनीहरूले पनि हँसिला मानिसहरूलाई बढी रुचाउँछन् । त्यसैले माथि उल्लेखित ‘अन्त्येष्टिमा हाँसो’ भन्ने लेखलाई एक प्रभावशाली कथाको रूपमा साझा गरिएको हो ।

घरमा पनि हाँसो आवश्यक छ । जब परिवारका सदस्यहरू रमाइलो कुरा गर्दै हाँस्छन्, तब त्यो घर स्वर्गजस्तै रमणीय बन्दछ । हाँसोविना राम्ररी हुने कुरा पनि असहज वातावरणका कारण गम्भीर हुन्छ ।

जीवनको इन्धन नै हाँसो

संयुक्त राज्य अमेरिकाको साउथवेस्ट एयरलाइन्स लगातार ४० वर्षदेखि नाफामा छ । उक्त एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत हर्बर्ट केलर्हरले (Herbert Kellerher) ग्राहकहरूलाई सन्तुष्ट राख्नको निम्ति “मैले पहिला मेरा कर्मचारीहरूलाई खुशी बनाउनुपर्छ” भन्ने मानसिकता लिएका थिए । कम्पनीलाई रोमाञ्चक बनाउने र ग्राहकहरूलाई हँसाउने उनको ‘हास्यपूर्ण व्यवस्थापन’ नै दीर्घकालीन नाफा कमाउने एउटा प्रमुख रहस्य हो ।

हँसिमजाक केवल हाँसोमा मात्र सीमित हुँदैन । हाँसोका विभिन्न अर्थहरू छन्, तर आधारभूत रूपमा हाँस्नु भन्नाले हृदय उदार छ भन्ने अर्थ हो । पहिलो पटक कुनै दुई व्यक्ति भेट्दा सुरुमै मजाकद्वारा कुराकानी गरियो भने असहज वातावरण हटेर राम्ररी कुरा गर्न सकिन्छ । सँगै हाँस्दा, चिन्ताको भावना हराउँछ र एक-अर्कासँग अझ नजिक हुन पुगिन्छ ।

अरूसँग केही माग्नु छ भने हाँस्दै कुराकानी गर्दा अझ प्रभावकारी हुन्छ । किनभने मुस्कुराउँदै कुरा गर्दा सुन्ने व्यक्तिको मन उदार र सकारात्मक हुन्छ । प्रायः मानिसहरूले अरूलाई हँसाउन सक्ने व्यक्तिको कुरा मान्छन् । असहमतिका कारण असन्तुष्ट हुँदा वा कुराकानी राम्ररी हुन नपाउँदा हाँस्ने वातावरण बनाउन कोसिस गर्नुपर्छ । त्यसो गर्दा विवाद र झगडाबाट बच्न सकिन्छ । एक पल्ट हाँसेपछि, अप्रिय भावहरू थोरै भए पनि कम हुन्छन् ।

सन् २०११ मा, विकासवादी मनोवैज्ञानिक रोबिन डनबरले एउटा परीक्षण गरे, जसअनुसार उनले सहयभागीहरूको हातमा एकदमै चिसो कपडा राखिदिए र घुँडा टेकेर बस्न लगाए । अनि डनबरले विभिन्न भिडियोहरू देखाएर सहभागीहरूले कति समयसम्म पीडा सहन सक्छन् भन्ने कुरा मापन गरे, र हास्य भिडियो हेर्ने सहभागीहरूले सबैभन्दा लामो समयसम्म पीडा सहन सक्ने कुरा पत्ता लगाए । यसरी हाँसोले तनाव कम पार्ने कुरा पत्ता लाग्यो । तनावको सामना गर्ने प्रतिरक्षा संयन्त्र (चिन्ताबाट आफूलाई बचाउने स्वचालित प्रतिक्रियाहरू) मध्ये, हाँसो एक परिपक्व र उच्च-स्तरीय श्रेणीमा पर्ने कारक हो । त्यसैले एउटा भनाइ छ । प्रागैतिहासिक समयमा, संकटको सामना गर्ने दुई वटा तरिका थिए: लड्ने वा भाग्ने । तर यो वर्तमान युगमा तीन वटा विकल्पहरू छन्: लड्ने, भाग्ने, वा हाँस्ने ।

हाँसोले सम्बन्धलाई बलियो मात्र बनाउँदैन, तर तनाव र थकानलाई पनि कम गरी ऊर्जावान बनाउँछ । तसर्थ जीवनको इन्धन नै हाँसो हो ।

बालबालिकाहरूको हँसिलो मिजास आमा-बुबाबाट प्रेरित हुन्छ ।

सबै बुबा-आमाहरूले आफ्नो छोरा-छोरीहरू सामाजिक रूपमा तेजस्वी, पढाइमा अब्बल र रचनात्मक भइदिऊन् भन्ने चाहनुहुन्छ । तर यी सम्पूर्ण चाहनाहरू पूरा गर्ने महत्त्वपूर्ण कारक नै हँसिलो मिजास हो । बौद्धिक क्षमता(IQ), भावनात्मक क्षमता(EQ), जोश क्षमता(PQ), र नैतिक क्षमता(MQ) जस्ता कुराहरू सबै हाँस्य क्षमतासँग सम्बन्धित हुन्छ ।

मुस्कानद्वारा आफ्नो मनको भावना व्यक्त गर्ने बच्चाहरूले सबै जनासँग राम्रो सम्बन्ध बनाउन सक्छन् र आफ्ना साथीहरूसँग पनि राम्ररी घुलमिल हुन सक्छन् । बच्चाहरूले मुस्कान र हाँसोद्वारा समानुभूति र कुराकानी गर्न सिक्छन् । यो समानुभूतिको क्षमताचाहिँ सामाजिक सीपसँग गहिरो रूपमा सम्बन्धित छ । त्यसैले बच्चाहरूमा समानुभूति क्षमता कमजोर हुँदा उनीहरूले आक्रमक र स्वार्थी व्यवहार देखाउँछन् र उनीहरूलाई साथी बनाउन पनि गाह्रो हुन्छ ।

हास्यव्यंग्यमा राम्रो हुने बच्चाहरू लचिलो र रचनात्मक हुन्छन् । भनिन्छ, रचनात्मक व्यक्तिको प्रतीकको रूपमा चिनिने स्टिभ जब्सले आफ्नो अन्तिम घडीमा समेत हास्यपूर्ण बोली बोलेका थिए । हाँसो र रचनात्मकताको आधार एउटै भएकोले मानिसहरू आफ्नो विचारको सामान्य प्रवाहबाट विचलित हुँदा हाँस्छन् । रचनात्मकताचाहिँ सोचाइको सीमालाई तोडेको असाधारण विचारबाट आउँछ । तसर्थ हाँसोले हाम्रो विचार, बुद्धि, र कल्पनालाई मात्र रूपान्तरण गर्ने क्षमताको विकास गर्दैन, तर भाषिक बुद्धिमत्ताको विकाससँगै सिक्ने क्षमतामा पनि सुधार ल्याउँछ ।

हाँसखेल गर्ने बुबा-आमा भएको घरमा रमाइलो वातावरण हुने भएकोले, त्यस्तो वातावरणमा हुर्केका बच्चाहरू स्वाभाविक रूपमा हँसिलो व्यक्ति बन्दछन् । बच्चाले रमाइलो कुरा भन्दा वा कुनै नौलो विचार सुनाउँदा उज्यालो मुस्कानद्वारा प्रतिक्रिया दियो भने उनीहरूको हास्य भावना वृद्धि हुन्छ । किनभने जब कोहि उसको कुरामा हाँस्छ तब उसको आत्मविश्वास बढ्छ र उसले सधैँ तिनीहरूलाई हँसाउने प्रयत्न गरिरहन्छ । बच्चाहरूलाई हाँस्न प्रेरित गर्ने अर्को राम्रो तरिका भनेको उनीहरूसँगै रमाइलो पुस्तक पढ्नु वा उनीहरूसँगै रमाइलो कुरामा दिल खोलेर हाँस्नु हो । तर यदि बच्चाहरूले स्पष्ट रूपमा गल्ती गरिरहेका छन् भने त्यसलाई हाँसोमा उडाएर बेवास्ता गर्नुहुँदैन । भावनात्मक द्वन्द्वहरूलाई शान्त पार्न हाँसोको प्रयोग गर्नुपर्छ, तर के सही र के गलत भनेर औंल्याउन एकदमै महत्त्वपूर्ण छ ।

बुबा-आमाको हास्य भावनाचाहिँ बुबा-आमाले आफ्नो छोरा-छोरी मुस्कुराएको हेर्नचाहनुहुन्छ र उनीहरूलाई असाध्यै प्रेम गर्नुहुन्छ भन्ने अर्थ हो । परिवारमा सधैँ हाँसो ल्याउन खोज्ने आमा-बुबाको सामु हर्केका बच्चाहरूले आफ्नो आमा-बुबाको जीवनमा पनि हाँसो ल्याउँछन् ।

मनबाट आउने साँचो हाँसो

घरबाहिर जतिसुकै उपलब्धि वा मान्यता हासिल गरे पनि आफ्नो परिवारसँग हाँसो बाँड्न सकिएन भने खुशी हुन सकिँदैन । घर पुगेपछि, आराम गरी आफ्नो परिवारसँग हाँसो बाँड्ने समय निकाल्नुपर्छ । यदि परिवारमा कोही उदास छ भने, “किन ठुस्स परेको, हास्नु नि” भन्नुको सट्टा उनीहरूलाई हँसाउने प्रयत्न गर्नुपर्छ । अनावश्यक गाली गरेर एक-अर्काको भावनामा चोट पुऱ्याउनुको सट्टा हास्यपूर्ण बोली बोल्नु उचित हुन्छ । त्यसैले आफ्नो जीवनसाथीसँग राम्ररी कुराकानी भइरहेको छैन भने ठाडो वा आक्रामक भाषा प्रयोग नगरौं, तर हास्यपूर्ण बोलीद्वारा प्रतिक्रिया दिने प्रयास गरौं ।

हँसाउनको लागि एक प्रतिभाशाली वक्ता वा स्वाभाविक रूपमा हास्य भावना भएका व्यक्तिहरू नै हुनुपर्छ भन्ने आवश्यक छैन । परिवारलाई खुशी बनाउनका लागि नक्कल, भाषाको खेल, अनपेक्षित हाँसोले भरिएको कथा, पहेलि, प्यारोडी, खुशीपूर्ण गायन, इशारा गर्ने खेल, अनुहारको अभिव्यक्ति, लयबद्ध आवाज, बोली, र रमाइला कथा वा चुट्किला जस्ता हास्य कुराहरू प्रयोग गर्न सकिन्छ ।

तर केवल हँसाउने कुरामा मात्र ध्यान केन्द्रित हुनुहुँदैन । सकारात्मक रूपमा हँसाउनका लागि विषयवस्तु र अवस्था राम्ररी विचार गर्नुपर्छ । अरूलाई अत्यधिक मात्रामा लज्जित बनाउने, गिज्याउने, होच्याउने, अपमानित तुल्याउने वा नबुझिने मजाकले अवस्था गम्भिर बनाइदिन्छ । त्यसैगरी परिस्थिति र ठाउँ नबुझी गरिने मजाकले वातावरण असहज हुन्छ । अनेकन अर्थ लाग्ने मजाकहरू आनन्ददायी हुँदैनन् । विचारशीलता र स्नेहविनाको मजाकचाहिँ व्यङ्ग्य हो । राम्रो हँसिमजाकले अरूलाई मात्र नभएर आफूलाई पनि मनोरञ्जन दिन्छ र सबैलाई आनन्दित भएर काम गर्न हौसला दिन्छ ।

“साँचो हँसिमजाक दिमागबाट होइन तर मनबाट आउँछ” भन्ने भनाइजस्तै साँचो हँसिमजाकचाहिँ मानिसहरूलाई द्रुत गतिमा आफ्नो बौद्धिकता झल्काएर अरूलाई हँसाउनु मात्र होइन, तर संसारलाई न्यानो मन र सकारात्मक दृष्टिकोणद्वारा हेर्ने गराउनु पनि हो । नकारात्मक सोच, अधिकारको घमण्ड वा आत्मकेन्द्रित स्वभाव भएका मानिसहरूले कहिल्यै पनि राम्रो हास्य प्रस्तुति दिन सक्दैनन् ।

उस्तै शब्द भए पनि, बोल्ने मानिसअनुसार त्यो भिन्न सुनिन्छ । प्रायः हँसिलो मानिसको मजाक रमाइलो सुनिन्छ । सबै कुरालाई सकारात्मक रूपमा स्वीकारौं र स-साना खुशीहरूमा रमाऔं । यसले हाम्रो हँसिमजाक गर्ने तरिकामा सुधार ल्याउनेछ ।

भनिन्छ, आइन्स्टाइनले आफ्नो मृत्युअघि “मैले अलि बढी रोचक जीवन बिताएको भए हुन्थ्यो” भनेका थिए । भौतिकशास्त्रमा नोबेल पुरस्कार जितेर अन्तर्राष्ट्रिय ख्याति कमाएको भए पनि उनको पश्चातापले खुशीसाथ जिउनुचाहिँ कडा परिश्रम गर्नुजत्तिकै महत्त्वपूर्ण छ भन्ने कुरा झल्काउँछ ।

खुशीपूर्ण जीवन भनेको हरेक दिन नयाँ ठाउँहरूमा यात्रा गर्नु वा प्रसिद्ध रेस्टुरेन्टहरूमा जानु मात्र होइन । खुशीचाहिँ हाम्रो दैनिक जीवनमा हुन्छ । दैनिक जीवनमा परिवारसँग रोचक कुराकानी गर्दै उज्यालो मुस्कान लिएर जीवन बिताउनु नै खुशीपूर्ण र रमाइलो जीवन हो । त्यसैले आफ्नो परिवारसँग रोचक कुराकानी गर्न नहिचकिचाऔं र उनीहरूको हँसीमजाकमा सम्पूर्ण मनद्वारा हाँसौं । परिवारको हाँसोको आवाज त्यो घरको मुटुको धड्कन हो । के तपाईंले त्यो मुटुको धड्कन सुन्न सक्नुहुन्छ ? यदि सक्नुहुन्न भने हँसिमजाकद्वारा CPR गरौं ।

अवस्थाअनुसार हँसिमजाक
आफ्नो जीवनसाथीले स्वादिष्ट भोजन तयार पार्दा,
“मलाई थाहै नदिई खाना पकाउने कक्षामा जान थाल्यौ कि, के हो ?”
“सडक छेउमा एउटा रेष्टुरेन्ट खोले हुन्छ ।”
छोरी ढिलो घर फर्किंदा,
“यति राम्री छोरी राति-राति एकलै हिँड्नु हुँदैन नि ।”
“मेरी छोरी सिन्ड्रेलाजस्तै छे भन्ने कुरा थाहै थिएन, दरबारको नाचमा गएकीले ढिला आयौ ?”
घर चाँडै फर्किंदा,
“(छोरा, छोरी, आमा, बाबा) को याद आएकोले म चाँडै घर फर्किंएँ ।”
जीवनसाथीसँग झगडा पर्दा,
“तिमी यति राम्री छौ, कि म तिमीसँग झगडा गर्नै सक्दिनँ ।”
“म तिमीलाई धेरै माया गर्छु, त्यसैले झगडा नगरौं ।”
छोरा-छोरीहरू झगडा गर्दा,
(छोरीलाई) “मेरो छोरालाई दिक्क नपार त ।”
(छोरालाई) “मेरी छोरीको मन नदुखाऊ त ।”
घर सफा गरेकोमा परिवारको सदस्यको प्रशंसा गर्दा,
“वाह, के ब्राडी बन्चकी एलेस यहाँ आएकी थिइन् ?”
“हाम्रो घर पाँचतारे होटलभन्दा राम्रो देखिन्छ ।”
बच्चाले अर्को खेलौना रोबोट किन्न जिद्दी गर्दा,
“(रोबोटको नक्कल गर्दै) बिप बप !। गुरुज्यू म तपाईंको के सेवा गर्न सक्छु ?”
परिवारको अनुहार मलिन हुँदा,
“किन तिम्रो अनुहार चीनको ग्रेट वालजस्तो लामो ?”
“को हो त्यो ? हाम्रो सुतिरहेको सिंहलाई उठाउने ?”