खुशी परिवारको अत्यावश्यक सद्गुण, ‘धन्यवाद’
परमेश्वरलाई सेवा गर्ने परिवार धन्यवादले भरिएको हुन्छ । सकारात्मक मनद्वारा हेरेमा सबै कुरामा धन्यवादी हुन सकिन्छ ।
नेल्सन मन्डेला, जातिवादको विरुद्धमा लडेकाले सजायस्वरूप २७ वर्षको कारावास जीवन बिताएर सन् १९९०मा मुक्त भए । मानिसहरूले ७० वर्षका मन्डेला कुप्रो बूढोको स्वरूपमा बाहिर निस्कन्छन् भन्ठानेका थिए, तर तिनी एकदम स्वस्थ र तन्दुरुस्त स्वरूपमा बाहिर निस्केका देखेर मानिसहरू छक्क परे । एक जना पत्रकारले त्यसको राज सोध्दाखेरि नेल्सन मन्डेलाले यस्तो जवाफ दिए :
“मैले जेलमा सधैँ परमेश्वरलाई धन्यवाद चढाएँ । आकाशतिर हेर्दा पनि धन्यवाद चढाएँ, जमिनमा हेर्दा पनि धन्यवाद चढाएँ, पानी पिउँदा पनि, खाना खाँदा पनि, श्रम शिविरमा काम गर्दा पनि धन्यवाद चढाएँ । मैले सधैँ धन्यवाद चढाएकोले यसरी स्वस्थ रहन सकेको हुँ ।”
क्याम्पसमा अध्ययनरत एक जना विद्यार्थीको गाडी दुर्घटनामा परेर पूरै शरीर तेस्रो डिग्रीसम्म जल्यो । सुन्दर र फुर्तिला तिनको स्वरूप अब भने रहेन । पूरै शरीरमा पट्टी लगाइएको र एउटा औँला पनि चलाउन नसक्ने अवस्थामा आफूलाई पाउँदा तिनलाई निराशाले यतिसम्म थिच्यो, कि तिनले आफ्नो जीवन समाप्त गर्ने सोचसमेत बनाएकी थिइन् । ३० पटकभन्दा बढी शल्यक्रिया र पुनर्वास उपचार गरिसक्दा पनि उनले आफ्नो जलेको अनुहारलाई पहिलाकै अवस्थामा फर्काउन सकिनन् । तर अहिले उनी एकदमै खुशी छिन् । योचाहिँ ‘जि सन, माया गर्छु’ भन्ने पुस्तककी लेखिका इ जि सनको जीवनगाथा हो ।
दुवै हातका बूढी औँलाबाहेक बाँकी ८ वटै औँलाका हड्डीहरूसमेत पूरै जलेकोले त्यसलाई काट्न शल्यक्रिया गर्नुपर्ने भएको त्यो समयदेखि तिनले हरदिन धन्यवादी हुने कुरा खोज्न थालिन् । देब्रे हातको औँला अलिकति लामो भएकोले चपस्टिक प्रयोग गर्न सक्ने भएकोमा धन्यवाद, आफ्नो बलले चम्चा चलाउन सकेकोमा धन्यवाद, बिरामी पोशाकको टाँक आफैले लगाउन सकेकोमा धन्यवाद, भऱ्याङमा ओहोरदोहोर गर्न सकेकोमा धन्यवाद … त्यसरी धन्यवादी भएकीले नयाँ जीवन पाएकी उनी भन्छिन्, “धन्यवादी हुनुचाहिँ चमत्कार सिर्जना गराउने आदत हो ।”

जीवनको तल्लो बिन्दुमा पुगेको बेला धन्यवादले, डोरीले जस्तै गरेर हामीलाई उज्ज्वल ज्योतिमा डोऱ्याउँछ भन्ने कुरा यी मानिसहरूले प्रमाणित गरेका छन् । नाटकीय अवस्थामा मात्र होइन, तर सामान्यतया धेरै धन्यवादी हुने मानिसहरू आफ्नो वरिपरिका मानिसहरूसँग मिलापमा रहेका हुन्छन्, अनि उनीहरू आफूलाई अभागी सोच्दैनन् । धन्यवादले भरिएको परिवारमा आपसी सञ्चारमा कति पनि समस्या हुँदैन । परमेश्वरलाई विश्वास गर्ने परिवार हो भने अझ धेरै धन्यवादले भरिनुपर्छ, किनकि यो नै परमेश्वरको इच्छा हो ।
धन्यवाद दिने असल बानी बसाल्नलाई अभ्यास
१. धन्यवादी हुने कुरा भएमा मात्र धन्यवाद ?
“यदि तपाईंको बच्चाले तपाईंलाई घरिघरि फोन गर्छ भने ऊ सडकमा यताउता नडुलीकन घरमै राम्ररी बसेको छ भन्ने कुरा हो । यदि कर तिर्नुपर्ने छ भने तपाईंसित जागीर छ भन्ने कुरा हो । भोजपछि माझ्नुपर्ने भाँडाकुँडा धेरै छ भने साथीहरूसँग तपाईंले त्यति धेरै रमाइलो समय बिताउनुभयो भन्ने कुरा हो । बिहान सबेरै दिक्कलाग्दो अलार्म बज्दा ब्यूँझनुहुन्छ भने तपाईं जीवित हुनुहुन्छ भन्ने कुरा हो ।”
यो लेखमा जस्तै, धन्यवादी हुनलाई कुनै प्रिय घटना घट्नैपर्छ भन्ने छैन । “धन्यवादी हुने कुरा भएमा धन्यवादी हुन सकिन्छ” भनेर सोच्ने मानिसहरू धेरै छन् । तर धन्यवादी हुनुचाहिँ प्रशस्तता अथवा विशेष अवस्थामा नभएर मनस्थितिमा निर्भर हुन्छ ।
२. सकारात्मक सोचाइ नै धन्यवादी हुने कुरा पत्ता लगाउने तरिका
आलोचनात्मक, असन्तुष्ट र नकारात्मक सोचाइ लिएका मानिसहरू धन्यवादी हुने अवस्थामा पनि धन्यवादी हुँदैनन् । अँध्यारो बगैँचामा बत्ती बालेमा फूल र बोटबिरुवा देख्न सकिएजस्तै सकारात्मक मनद्वारा संसारलाई चम्काएमा त्यस बेलासम्म नदेखेका धन्यवादी हुनुपर्ने कुराहरू आँखामा देखिनेछ ।
सकारात्मक मन भएमा सानो कुरामा पनि धन्यवादी हुन सकिन्छ, अनि धन्यवादी भएर जिएमा खुशी छाउँछ । सकारात्मक मन, धन्यवाद र खुशीबीच एउटै धागोको सम्बन्ध हुन्छ । उही गुलाफलाई हेरेर ‘किन यसमा काँडा भएको होला ?’ भनेर गनगनाउने मानिसहरू पनि हुन्छन् भने काँडाको बीचबाट फुलेको गुलाफप्रति धन्यवादी हुने मानिसहरू पनि हुन्छन् । यीमध्ये कोचाहिँ अझ बढी खुशी हुन्छन् होला ? बिहानै उठेर काममा जाँदा बाटोमा ‘आज पनि काममा जानुपर्ने । मलाई त दिक्क लागिसक्यो’ भनेर सोच्ने मानिसहरू पनि हुन्छन् भने ‘धन्न मसँग जागीर छ’ भनेर धन्यवादी हुने मानिसहरू पनि हुन्छन् । कसको पाइला अझ हलुको र आनन्दित हुन्छ भन्ने कुरा त नभने पनि थाहा हुन्छ ।
३. कुनै पनि कुरालाई स्वाभाविक रूपमा लिन नहुने
हाम्रो वरिपरि हेर्ने हो भने धन्यवादी हुनुपर्ने कुराहरू धेरै नै छन्, तर हामीले ती कुराहरूलाई स्वाभाविक ठान्ने गरेकाले ती कुराहरूप्रति धन्यवादी हुने मौका गुमाउन पुग्छौं । अरूको दया अथवा सहयोगलाई स्वाभाविक ठानियो भने धन्यवादी मन लिनबाट वञ्चित भइन्छ । परिवारजनसित व्यवहार गर्दा पनि उस्तै हो । पतिले काम गरेर पैसा कमाउने कुरालाई स्वाभाविक ठानेर धन्यवादी नहुने पत्नी, पत्नीले गर्ने घरायसी कामकाजलाई स्वाभाविक ठानेर धन्यवादी नहुने पति, अनि खुवाउने, पहिराउने र विद्यालयको पढाइ शुल्क तिरिदिने कुरालाई बुबा-आमाको कर्तव्य ठान्दै धन्यवादी नहुने छोरा-छोरी । यस्तो परिवारमा खुशी सिर्जना हुने त कुरै भएन ।
४. धन्यवादको पनि श्रेणी
धन्यवाद दिनु यत्तिकै पनि सुन्दर छ, तर यसको विभिन्न श्रेणी हुन्छ । पहिलो श्रेणीको धन्यवादचाहिँ ‘शर्तपूर्ण धन्यवाद’ अर्थात् आफूले भनेजस्तो ‘भयो भने मात्र’ धन्यवाद । दोस्रो श्रेणीको धन्यवादचाहिँ ‘… भएकोले धन्यवाद’ हो अर्थात् आफूले भनेजस्तो भएकोले धन्यवाद । अन्तिममा सबैभन्दा उच्च तेस्रो श्रेणीको धन्यवादचाहिँ ‘तैपनि धन्यवाद’ अर्थात् जस्तोसुकै गाह्रो र अप्ठ्यारो कुरा नै भए पनि कुनै कारण र शर्तको परवाह नगरी दिइने धन्यवाद हो । धन्यवादद्वारा कठिनाइलाई जितेका मानिसहरू प्रायः तेस्रो श्रेणीको धन्यवाद दिनेहरूमध्येमा पर्छन् । अवस्था कतिखेर राम्रो होला भनेर पर्खन्छौं भने धन्यवाद दिने मौका कहिल्यै नआउन पनि सक्छ । खराब र कठिन अवस्थामा धन्यवादी हुन धेरै गाह्रो त हुन्छ, तर यो त्यति नै धेरै लाभदायक पनि हुन्छ ।
धन्यवादचाहिँ नाम होइन, तर क्रिया
घण्टीचाहिँ कसैले नबजाएसम्म घण्टी होइन ।
गीतचाहिँ कसैले नगाएसम्म गीत होइन ।
प्रेमचाहिँ व्यक्त नगरेसम्म प्रेम होइन ।
आशिष्चाहिँ धन्यवाद नदिएसम्म आशिष् होइन ।
धन्यवाद दिएमा त्यो आशिष् बन्दछ ।
जुनसुकै चीज होस्, व्यवहारमा उतारेमा त्यो अझ चम्कन्छ । कहिलेकहीँ हामीहरू धन्यवाद व्यक्त नगर्दा पनि भइहाल्छ नि भनेर सोच्ने गर्छौं । तर धन्यवाद व्यक्त गरेमा त्यो अझ अर्थपूर्ण बन्छ । धन्यवादलाई मनमा मात्र सीमित राख्नुभन्दा बरु अरूसित बाँडियो भने एक-आपसमा स्नेह र भरोसा बढाउन सकिन्छ ।
कसैले सानो सहयोग गऱ्यो भने हामी सजिलै धन्यवाद भन्छौं, तर प्रायःजसो परिवारजनसितचाहिँ ‘आ, एउटै परिवार भएकोले धन्यवाद नभने नि हुन्छ’ भनेर सोच्दै त्यत्तिकै टार्ने अवस्था धेरै हुन्छ । यस्तो मनोभावचाहिँ परिवारजन सधैँ साथमा नै हुन्छन् भन्ने सोचाइबाट आएको हो । धन्यवादी हुनासाथ तुरुन्त बोलीद्वारा अथवा लेखाइद्वारा परिवारजनसमक्ष व्यक्त गरिहाल्नुपर्छ । धन्यवादी हुँदा र त्यसलाई व्यक्त गर्दा हुने लाभ धेरै छ । योबाट हामीले अरूलाई मात्र नभएर आफूलाई पनि खुशी तुल्याउन सक्छौं । यसको साथै धन्यवाद पाउने व्यक्तिले धन्यवाद दिने व्यक्तिलाई खुशी तुल्याउने कार्यहरू अझ धेरै गर्न प्रयत्न गर्छ, अनि यसरी धन्यवाद दिने कुराहरू एकदमै धेरै हुनेछ । तसर्थ धन्यवाद दिँदाखेरि सबैभन्दा बढी फाइदाचाहिँ धन्यवाद दिने व्यक्तिलाई हुन्छ ।
बाइबलमा दाऊदले सधैँ परमेश्वरलाई धन्यवाद चढाएकाले परमेश्वरबाट ‘मेरो हृदयअनुसारको मानिस’ भन्नेसम्मको ठूलो प्रशंसा र आशिष् पाए । संयुक्त राज्य अमेरिकाको एक प्रसिद्ध कार्यक्रमकी सञ्चालिका ओप्रा विन्फ्रेले आफ्नो सफलताको राज नै धन्यवादको दैनिकी रहेको कुरा बताएकी छिन् । उनी दिनभरि घटेका घटनाहरूलाई याद गर्दै धन्यवाद दिन चाहेका कुराहरूलाई डायरीमा टिप्ने गर्दिरहेछिन् । तीचाहिँ कुनै ठूला विषयहरू नभएर नीलो आकाश देख्न पाउनु, मीठो भोजन खान पाउनु, आफ्नो रिसलाई थाम्न सक्नु जस्ता सानातिना विषयहरू हुन् । आफ्नो व्यक्तिगत धन्यवादको दैनिकी हुनु राम्रो कुरा त हो, तर सपरिवारले एउटै धन्यवादको दैनिकी साझा गरेमा यो, आपसी सञ्चारको एउटा माध्यम पनि बन्न सक्छ ।
गान्धीले “धन्यवादको मात्राचाहिँ खुशीको मात्रासित समानान्तर हुन्छ” भनेका थिए । धन्यवाद र खुशी समानुपातिक भएकोले धन्यवाद एक-एक गर्दै थुप्रिने क्रममा खुशी पनि सँगसँगै थुप्रिँदैजान्छ भन्ने कुरा हो ।
धन्यवादभित्र उदेकको शक्ति
धन्यवाद दिँदा धेरै कुराहरू प्राप्त हुनुको साथै गुमाउने कुरा पनि धेरै हुन्छ । गुमाउनेचाहिँ तनाव, चिन्ता, थकान, एकलोपना, रिस, ईर्ष्या लगायतका शरीरमा नकारात्मक असर पार्ने कुराहरू हुन् । संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया विश्वविद्यालयका प्राध्यापक रोबर्ट एम्मोन्सले १० वर्षको अनुसन्धानपछि, धन्यवादद्वारा मानिसले स्वस्थ र खुशी जीवन जिउन सक्ने तथ्य प्रमाणित गरेका थिए । एक दिनमा धन्यवाद दिने ५ वटा कुराहरू नलेख्ने समूहको तुलनामा लेख्ने समूहचाहिँ अझ स्वस्थ, सकारात्मक र निश्चिन्त रहेको पत्ता लागेको थियो ।
मानिसको ज्यानसमेत लिन सक्ने डिप्रेशनको प्राकृतिक औषधी नै धन्यवाद दिनु हो । त्यसैले धन्यवादमा मानिसलाई बचाउने शक्ति छ भन्दा अतिशयोक्ति नहोला । सधैँ धन्यवाद दिने व्यक्तिसित रिसलाई सजिलै दबाउन सक्ने क्षमता हुन्छ, किनभने धन्यवादचाहिँ नकारात्मक भावनासँग सह-अस्तित्वमा रहन सक्दैन ।
यदि हामी आफूलाई अरूसित दाँजेर हेर्छौं भने आफूले सोचेजस्तो नहुँदा ईर्ष्यालु, थकित, चिन्तित र रिसाहा बन्न पुग्छौं । तर यसको ठीक विपरीत, हामीहरू आफ्नो वास्तविकताप्रति सन्तुष्ट भएर धन्यवादी जीवन जिउँछौं भने हामीलाई लालची बनाउने खराब भावनाहरूबाट हामी आफूलाई मुक्त गर्न सक्छौं ।
तालमुडमा “संसारको सबैभन्दा बुद्धिमान् मानिस नै सिक्ने मानिस हो, अनि संसारको सबैभन्दा खुशी मानिस नै धन्यवादी हुने मानिस हो” भन्ने एउटा भनाइ छ । भनिन्छ, “खुशीचाहिँ सधैँ धन्यवादको ढोकाबाट भित्र आउँछ र गनगनको ढोकाबाट बाहिर जान्छ ।” खुशीले धन्यवादलाई पछ्याउँछ । सबैभन्दा अमूल्य, आफ्नो परिवारजनसित निरन्तर धन्यवाद व्यक्त गर्ने गरौं । धन्यवादचाहिँ कहिल्यै पनि बढी हुँदैन । पोखिने गरी धन्यवाद दिनु सधैँ उत्तम हुन्छ ।