परिवर्तनको सुरुवात, आदत
आदतले कुनै पनि व्यक्तिको भाग्य र परिवारको खुशीमा महत्त्वपूर्ण प्रभाव पार्दछ । असल आदत हुनु भनेको खुशीलाई स्वागत गर्नु हो ।

हामी बिहान उठेदेखि राती सुत्ने समयसम्म अनगिन्ती काम गर्छौं । तर कसरी नुहाउने, लुगा लगाउने र खाना खाँदा चम्चा प्रयोग गर्ने भन्नेबारे हामी चिन्तित हुँदैनौं । यस्ता कार्यहरू नियमित रूपमा गर्ने आदत भएकोले हाम्रो मस्तिष्कभन्दा शरीर नै पहिला सक्रिय हुन्छ ।
आदत भनेको कुनै कार्य लामो समयसम्म दोहोऱ्याउने प्रक्रियामा स्वतः निर्माण हुने व्यावहारिक ढाँचा हो । हाम्रो दैनिक जीवनचाहिँ सुत्ने, खाने, व्यायाम गर्ने, बोल्ने, गाडी चलाउने जस्ता विभिन्न आदतहरूले भरिएकोले गर्दा हाम्रो जीवन आदतहरूको श्रृंखला हो भन्दा फरक पर्दैन ।
भनिन्छ, “हामीले लगातार गर्ने कार्यले हामी को हौं भन्ने कुरा झल्काउँछ । त्यसैले महत्त्वपूर्ण कुरा कार्य होइन, आदत हो ।” बिहान उठ्ने समयमा आँखा आफै खोलिन्छ, तर उठ्नेबित्तिकै लगातार खुट्टा हल्लाउन थाल्यो भने पछि गएर त्यो एउटा आदत बन्छ । खाना खाएपछि कफी पिउने आदत छ भने, त्यो नपिउदा अनौठो लाग्छ । यसरी लगातार एउटै कार्य गर्दा आदत बन्छ र यसमा एउटा व्यक्तिको दैनिक जीवन वा सम्पूर्ण जीवन नै परिवर्तन गर्न सक्ने शक्ति हुन्छ ।
मस्तिष्कले सजिलैसित कार्य गर्ने तरिका
हाम्रो सोचाइ र कार्यले मस्तिष्कमा मार्गहरू बनाउँछन् । लामो समयसम्म एउटै कार्य दोहोऱ्याइरहँदा मस्तिष्कले स्वचालित रूपमा त्यो कार्य गर्न सिक्छ । योचाहिँ झाडी भएको ठाउँमा लगातार हिँड्दा त्यो ठाउँ बाटोमा परिवर्तन भएजस्तै हो ।
आदत बसेपछि धेरै कामहरू छिटो र प्रभावकारी ढङ्गमा गर्न सकिन्छ, यसले सीप विकास गर्न पनि मद्दत गर्दछ । सुरुमा सवारी साधन चलाउन गाह्रो भए पनि लगातार चलाइरहँदा त्यो कार्य गर्न सजिलो हुन्छ । त्यसैगरी जटिल परिकार बनाउने आदत छ भने फोनमा कुराकानी गर्दै पनि त्यो कार्य सजिलै गर्न सकिन्छ ।

सचेत भएर कार्य गर्दा मस्तिष्कले ग्लुकोज र अक्सिजन उपभोग गर्छ, जुनचाहिँ कोषिकाहरूमा पठाइने मुख्य इन्धन हो । यद्यपि, मस्तिष्कमा ग्लुकोज भण्डारण गर्ने ठाउँ हुँदैन । त्यसैले यसलाई ऊर्जा बचत गर्ने तरिका चाहिन्छ । यदि आदत बसालिएन भने मस्तिष्कले के गर्ने र कसरी गर्ने भन्ने कुरा सोच्नका लागि धेरै समय र ऊर्जा खर्चिनुपर्ने हुन्छ । तसर्थ आदत भनेको शरीरको ऊर्जा बचत गर्ने बुद्धि हो ।
एउटा कोरियाली टिभि वृत्तचित्रले एउटा अनुसन्धानद्वारा यो कुरा प्रमाणित गरेको थियो । उक्त अनुसन्धानमा केही व्यक्तिहरूलाई २०० वटा सही अङ्ग्रेजी शब्द र १०० वटा गलत हिज्जे भएका शब्दहरू देखाएर ०.५ सेकेन्डभित्र सही शब्दहरू छुट्ट्याउन भनिएको थियो । (Magnetoencephalography)म्याग्नेटोएन्सेफ्यालोग्राफी (मस्तिष्कमा न्यूरोनको विद्युतीय गतिविधिबाट उत्पन्न चुम्बकीय क्षेत्रहरू र मस्तिष्क गतिविधि मापन गर्ने विधि) को परिणामस्वरूप, अङ्ग्रेजी भाषा प्रयोग गर्ने व्यक्तिको मस्तिष्क नीलो रङ्गमा देखा पऱ्यो, जसको अर्थ मस्तिष्क कम सक्रिय छ भन्ने कुरा हो, र नगर्ने व्यक्तिको मस्तिष्क रातो रङ्गमा देखा पर्यो, जसको अर्थ मस्तिष्क बढी सक्रिय छ भन्ने कुरा हो ।
यसरी एउटै कार्य लगातार गर्ने व्यक्तिको दिमागले कम बोझ महसुस गर्छ । त्यसैले आफूले चाहेको कुरा स्वाभाविक र सजिलै गर्नको निम्ति त्यो कार्य गर्ने आदत बसाल्नुपर्छ । समस्याको कुराचाहिँ मस्तिष्कले असल र खराब आदत छुट्ट्याउन सक्दैन । तसर्थ आदत राम्रो हो कि नराम्रो हो भन्ने कुराको आधारमा त्यो आदत वरदान वा पासो पनि हुन सक्छ ।
भाग्य निर्धारण गर्ने आदत
हाम्रो सोचाइ बोली हो, बोली कार्य हो , कार्य आदत हो, आदत चरित्र हो र हाम्रो चरित्र नै भाग्य हो । तसर्थ हामी आफ्नो सोचाइप्रति सजग रहनुपर्छ ।
योचाहिँ पूर्व बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचरको भनाइ हो । त्यसैगरी महात्मा गान्धीले भनेका थिए,
“आदत आदर्श हो, र आदर्श नै भाग्य निर्धारण गर्ने कुरा हो ।”
असल, खराब, न त असल न खराब गरी आदतहरू तीन प्रकारका हुन्छन् । व्यक्तिगत विचारका आधारमा असल र खराब आदतबीच भिन्नता फरक भए पनि असल आदतको प्रभाव आफू र आफ्नो वरिपरिका मानिसमाझ सकारात्मक हुन्छ ।
ध्यान दिएर सुन्ने, अरूलाई अभिवादन गर्ने, वरपरको वातावरण सफा गर्ने र अरूप्रति विचारशील हुने … जस्ता असल आदतहरू उत्कृष्ट चरित्र निर्माण गर्ने र जीवनलाई राम्रो दिशातर्फ डोऱ्याउने कम्पास हुन् । यस्ता आदतहरूले अवसर आउँदा त्यसलाई पक्रन मद्दत गर्दछ । के फोहोर टिप्ने आदत भएको कर्मचारीले कम्पनीमा फोहोर टिप्दा हाकिमबाट समर्थन अनि महत्त्वपूर्ण कामको जिम्मेवारी पाउँदैन र ?

इतिहासमा उत्कृष्ट कहलिएकाहरूको आदत असल हुनु कुनै आचम्मको कुरा होइन । सधैँ आफ्नो साथमा डायरी राख्ने आदतको कारण टोल्सटोए एक महान् पत्रकार बन्न सके, पढ्ने आदतका कारण लिङ्कनले राम्ररी भाषण गर्न सके र धन्यवाद चढाउने आदतले गर्दा हेलेन केलरले आफ्नो शारीरिक अशक्ततालाई जित्न सकिन् ।
एउटा मात्र असल आदतले पनि डोमिनो प्रभाव उत्पन्न गरेर नाटकीय रूपमा परिवर्तन ल्याउन सक्छ । उदाहरणको लागि यदि हामीले व्यायाम गर्ने बानी बसाल्यौं भने आफ्नो स्वास्थ्यको बारेमा सोच्नेछौं र खाने आदत परिवर्तन गरेर हानिकारक आदतबाट टाढा रहनेछौं । साथै हामीमा बिहान सबेरै उठेर स्वविकासको निम्ति कार्य गर्ने इच्छाशक्ति हुनेछ ।
एउटा अनुसन्धानले देखाएको छ, कि हरेक बिहान ओछ्यान मिलाउने आदतचाहिँ उत्पादनशीलता, खुशी सूचकांक र आत्म-नियमनसँग सम्बन्धित हुन्छ । ओछ्यान मिलाउने कार्य प्रत्यक्ष रूपमा खुशी जीवन जिउने कारण नहुन सक्छ, तर साना परिवर्तनहरूले निश्चित रूपमा एक सद्गुण चक्र सिर्जना गर्छ जसले अन्य राम्रा आदतहरूलाई शरीरको हिस्सा बन्न प्रोत्साहित गर्छ ।
आदत परिवर्तनले खुशीतर्फ डोऱ्याउँछ
खराब आदतले दुष्चक्र सिर्जना गर्छ, जीवनबाट बहुमूल्य समय चोर्छ, र मानिसबीचको विश्वासलाई तोडिदिन्छ । सबैभन्दा नराम्रो कुराचाहिँ खराब आदतहरू संक्रामक हुन्छन्, यसले वरपरका मानिसहरूलाई असर गर्नुका साथै अरूलाई हानि पुऱ्याउँछ । कहिलेकहीँ खराब आदत नै आफूले सबैभन्दा बढी चाहेको कुरा पाउन नसक्नुको प्रमुख कारक हुन्छ ।
सामान्यतया धेरै खाने, मद्यपान गर्ने, धूम्रपान गर्ने, धेरै खर्च गर्ने, काममा ढिलाइ गर्ने, निष्क्रिय हुने, गाली गर्ने, लामो समयसम्म स्मार्ट फोन प्रयोग गर्ने, धेरै सुत्ने, सरसफाइ नगर्ने र दिक्क मान्ने जस्ता कुराहरू खराब आदतहरू हुन् । यदि खराब आदतका कारण आफूलाई हानि भइरहेको छ र अरूको नजरमा पनि नकारात्मक देखिने कार्य गरिरहेको छ भने त्यो व्यकतिले दुःख पाउनुबाहेक अर्को विकल्प हुनेछैन ।
यो कुरा विशेष गरी समाजको आधारभूत एकाइ रहेको परिवारमा लागू हुन्छ । जीवनशैलीमा हुने स-साना भिन्नताका कारण झगडा निम्तिएर सम्बन्ध विच्छेद हुने धेरै जोडीहरू छन् । प्रयोग गरिएका कपहरू त्यत्तिकै राख्ने, फोहोर मोजाहरू उल्टो पारेर जथाभावी राख्ने र बिदामा अबेरसम्म सुत्ने जस्ता आदतहरू सामान्य देखिन्छन्, तर पारिवारिक जीवनमा त्यसलाई बेवास्ता गर्न सकिँदैन । पारिवारिक सम्बन्ध राम्रो भएमा घरमा खुशीयाली छाउने भएकोले पारिवारिक झगडा निम्त्याउने कुनै आदत छ भने त्यसलाई तुरुन्तै सच्च्याउनुपर्छ ।

आदत परिवर्तन गर्नु सोचेजस्तो सजिलो हुँदैन । तर जब हामी पुरानो, परिचित र सहज आदतलाई छोडेर नयाँ बाटोलाई अँगाल्दै परिवर्तन हुन्छौं, तब बल्ल हामीमा सुधार देखिन थाल्छ । जिद्दी भएर “म यस्तै छु” भन्नुको सट्टा, आफ्नो मन फराकिलो बनाऔं । सुधारको सुरुवातचाहिँ कुन आदत बदल्नुपर्छ भनेर पहिचान गरी स्वीकारेमा हुन्छ । खराब आदतलाई नदोहोऱ्याउनुको सट्टा असल आदतहरू विकास गर्दा अझ उत्तम हुन्छ । उदाहरणका लागि, यदि कसैलाई लामो समयसम्म स्मार्टफोन चलाउने आदत छ भने, त्यो आदतलाई पढ्ने आदतमा परिवर्तन गर्न सकिन्छ, अनि कसैलाई गुनासो गर्ने आदत छ भने, त्यो आदतलाई धन्यवादका शब्दहरू धेरै बोल्ने आदतमा परिवर्तन गर्न सकिन्छ ।
तीन पल्टसम्म आफूले गर्दैआएको राम्रो कार्यलाई गर्न छोड्यो भने त्यो आदत हट्छ, तर खराब कुराचाहिँ तीन दिन गर्न थाल्दा पनि त्यो एउटा आदत बन्छ । सामान्यतया सजिलो र आरामदायी कुराहरूको पछि लाग्दा खराब आदत बस्छ, तर असल आदत बसाल्न चेतनामूलक प्रयास, आत्म-नियन्त्रण र धेरै ऊर्जा चाहिन्छ । त्यसैले खराब आदत सुधार्नको लागि सतर्क हुनुपर्छ ।
असल आदत बसाल्नका लागि परिवारका सबै सदस्यहरूले सँगै प्रयास गर्दा त्यो अझ प्रभावकारी हुन्छ । एकलै भन्दा पनि परिवारका सबै सदस्यहरू बिहान सबेरै उठ्दा अझ सहज महसुस हुन्छ । लामो समयसम्म टिभि हेर्ने आदत परिवर्तन गर्न चाहे पनि यदि परिवारको कुनै सदस्यले सधैँ टिभि अन गरिदिन्छ भने त्यो व्यक्तिको इच्छाशक्ति कमजोर हुनेछ । असल आदत बसाल्नका लागि सधैँ परिवारको प्रशंसा गर्नुपर्छ, र परिवारलाई आदत परिवर्तन गर्न बाध्य पार्नुको सट्टा सबैलाई सन्तुष्ट पार्ने तरिका खोज्नुपर्छ ।
एकै दिनमा परिवर्तन हुन सकिँदैन । वर्तमानचाहिँ विगतको आदतको परिणाम हो र वर्तमानको आदतचाहिँ भविष्य निर्धारण गर्ने कारक हो । जसरी साना र कमजोर प्रयासहरूले ठूलो परिवर्तन ल्याउँछ, त्यसरी नै स-साना आदत परिवर्तनले हाम्रो जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ । परिवर्तन भन्नाले आदत परिवर्तन हो ।
फोहोर पानीमा सफा पानी अलि-अलि गर्दै थप्दा त्यो पानी बिस्तारै सफा हुन्छ । यहाँ महत्त्वपूर्ण कुराचाहिँ नरोकिकन निरन्तर रूपमा पानी हाल्नु हो । हाम्रो खराब आदतहरूलाई एक-एक गर्दै हटाऔं , र असल आदत बसालौं । परिवारलाई फाइदा हुने आदत बसाल्नु नै समृद्ध र खुशी जीवन जिउने रहस्य हो ।