WATV.org is provided in English. Would you like to change to English?

स्याउ बगानमा

इ साङ ह्वा / देगु, कोरिया

351 हेरेको संख्या

वर्षेनी फसलको समय आउँदैपिच्छे किसानहरू जनशक्तिको अभावले पिरोलिन्छन् । उनीहरूको यस्तो व्यस्ततालाई कोरियालीहरू “आगो ठोस्ने डन्डीलाई पनि भुइँमा बस्ने फुर्सद छैन” भनेर अभिव्यक्त गर्ने गर्छन् । यसरी किसानहरूलाई सधैँ खेतालाहरूको खाँचो भइरहन्छ ।

किसानहरूको त्यो व्याकुल मनलाई बुझिदिँदै घमाइलो कुनै आइतबारमा, सियोनका सन्त हामीहरू खेती कार्यमा स्वयंसेवा गर्न एकसाथ भेला भयौं । हामीहरू कोरियाको ग्यङबुग प्रान्तको यङजुस्थित एउटा स्याउ बगानतिर लाग्यौं । त्यो बगान, पाकेका राता-राता स्याउहरूले लटरम्मै भरिएको थियो ।

सर्वप्रथम बगान मालिकले हामीलाई त्यो दिन गरिने कार्यको बारेमा बताउनुभयो । स्याउ टिप्दा ध्यान दिनुपर्ने कुराहरू र त्यसलाई बाकसमा कसरी मिलाएर राख्नुपर्छ भन्नेबारे बुझाउनुभएका बगान मालिकले, टिपिएका स्याउहरूलाई बाकसमा राख्ने अन्तिम चरण सबैभन्दा महत्त्वपूर्ण छ भनेर बारम्बार जोड दिनुभयो ।

उहाँले हामीलाई, बाकसमा स्याउहरू फ्याँक्ने अथवा थिच्ने गर्नुहुँदैन भन्नुभयो, र भुइँमा खसेका स्याउहरू कदापि टिप्नुहुँदैन, बाकसमा राख्नुहुँदैन भन्नुहुँदै बारम्बार व्यग्रतापूर्वक अनुरोध गर्नुभयो । त्योचाहिँ ती स्याउहरू बाहिरबाट हेर्दा राम्रा र खोटरहित देखिए तापनि भित्रपट्टिचाहिँ चोट लागेका र कुहिएका हुने भएकोले रहेछ ।

सावधानी अपनाउनुपर्ने कुराहरू सुनेपछि हामीहरू उत्सुकतापूर्वक स्याउ टिप्न थाल्यौं । २-३ मिटर अग्ला रूखहरूमा लटरम्म झुण्डिएका ती स्याउहरू हेर्दै खाऊँ-खाऊँ लाग्दा देखिन्थे । मैले स्याउको रूखलाई त्यसरी पहिलो चोटि देखेकीले साना र कलिला हाँगाहरूमा लटरम्मै झुण्डिएका स्याउहरू देखेर म ज्यादै छक्क परें ।

बगानको भुइँभरि टिनका पाताहरू बिछ्याइएको मैले देखें । तब बगान मालिकले यसो भन्नुभयो, “फलहरू पाक्नको निम्ति पर्याप्त घामको किरण आवश्यक पर्छ, तर स्याउको तल्लो र पछाडिका भागहरूमा घामको किरण पर्याप्त पुग्दैन । यस्तो अवस्थामा, भुइँमा बिछ्याइएका टिनका पाताहरूले घामको किरणलाई परावर्तन गर्छ, र स्याउहरूले समान रूपमा घामको किरण प्राप्त गर्न सक्छन् ।”

स्याउ टिप्ने क्रममा हामीले एउटा पात टाँसिएको स्याउ देख्यौं । मैले सावधानीपूर्वक स्याउबाट पात निकालें, र स्याउका अरू भागहरू घामको किरण प्रशस्त पाई पाकेर रातो भए पनि पातले छोपिएको भागचाहिँ हरियो नै रहेको देखें । स्याउको विकास प्रक्रियामा घामको किरणले कति प्रभाव पार्दोरहेछ भन्ने कुरा मैले प्रत्यक्ष देख्न सकें ।

बगान मालिकले, यदि स्याउको थोरै मात्र भाग पाकेको छैन भने त्यसले स्याउको मूल्यलाई स्वात्तै घटाइदिन्छ भन्नुभयो । त्यसैले टिपिएका स्याउहरूलाई बाकसमा राख्नको लागि अन्तिम निरीक्षण गर्ने क्रममा उहाँले हरेक स्याउको कुना-काप्चा जाँच्नुभयो, अनि राम्ररी पाकेका सबैभन्दा गुणस्तरीय स्याउहरूलाई बाकसमा राख्नुभयो, र तीभन्दा अलि कम गुणस्तरका स्याउहरूलाई चाहिँ अलग्गै राख्नुभयो ।

स्याउहरू टिपेर बाकसमा राख्ने क्रममा मैले आफूलाई फर्केर हेरें । आत्मिक किसान हुनुभएका परमेश्वरले सामा र गहूँलाई अलग गर्नुहुँदा यस्तै हुन्छ जस्तो लाग्यो । म सबैभन्दा गुणस्तरीय फलको रूपमा चुनिन योग्यको छु कि अथवा बाहिरबाट हेर्दा राम्रो फल देखिए तापनि भित्रचाहिँ नपाकेको वा सडेको छु कि भन्नेबारे मैले गम्भीरतापूर्वक सोचें । अनि परमेश्वरले चम्काइदिनुभएको जीवनको ज्योतिबाट टाढा हुँदै म अझै पनि पाकेको छैनँ कि भनेर पनि सोच्न पुगें ।

नम्रता, सेवा, विचारशीलता, वचनको हातहतियार लगायत हामीलाई दिइने परमेश्वरका सम्पूर्ण शिक्षाहरूचाहिँ हामीलाई पूर्ण अस्तित्वमा परिवर्तन गराएर स्वर्गीय ढुकुटीमा भित्र्याउन चाहनुहुने परमेश्वरको प्रेम हो । हामीहरू दाना फलको पङ्क्तिबाट बाहिरिने पो हौं कि भनेर चिन्तित हुनुहुँदै परमेश्वरले हरेक आत्मालाई प्रेमद्वारा रेखदेख गर्दैहुनुहुन्छ ।

यदि म लगायत स्वर्गीय परिवारहरू सबैले आफ्नो आत्मालाई परमेश्वरले दिनुभएको जीवनको ज्योतिले भऱ्यौं, अनि परमेश्वरको उदाहरणलाई पछ्याउँदै एक-अर्काको हेरचाह गऱ्यौं भने हामीहरू एक दिन अवश्य पाकेर सुन्दर फल बन्नेछौं ।

स्वयंसेवाको कार्य सुरु गर्दाखेरि म कुनै किसानलाई मद्दत गर्न जाँदैछु भन्ने सोचाइ आएको थियो, तर सबै काम सकिएपछि, मैले कतैबाट पनि पाउन नसक्ने ठूलो महसुस प्राप्त गरेको आभास भयो । अब आफूले प्राप्त गरेको महसुसलाई व्यवहारमा उतार्न मात्र बाँकी छ ।