सङ्कष्ट नै अवसर हो
संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियास्थित योसेमाइट राष्ट्रिय निकुञ्जमा ८० मिटर अग्लो र ५ मिटर व्यास भएका विशाल रूखहरू छन् । यो एउटा विशाल रूख (सिक्वोया) हो, जसलाई ‘प्रेसिडेन्ट ट्री’ भनिन्छ । विशाल सिक्वोयाहरूमध्ये केही त ३,००० वर्षभन्दा पुराना छन् । चाखलाग्दो कुरा के छ भने, यी रूखहरूको फेदमा डढेका खतहरू देखिन्छन् । वास्तवमा यी रूखहरूचाहिँ ८० भन्दा बढी पटक डढेलोको सामना गरी ७ दिनसम्म लगातार लागेको डढेलोलाई सहेर जीवित रहेका रूखहरू हुन् ।
सुख्खा मौसममा रूखहरू बीचको घर्षण वा चट्याङका कारण नियमित रूपमा आगो लाग्ने जङ्गलमा, यी विशाल रूखहरू लामो समयसम्म बाँच्नुको रहस्यचाहिँ तिनीहरूमा भएको ३ फिट (१ मिटर) बाक्लो नरम बोक्रा हो । तिनीहरूको बोक्रामा प्रशस्त पानी हुने भएकोले सजिलै जल्दैनन् ।

आगलागी हुँदा तिनीहरूको बाक्लो बोक्राले आगोलाई प्रतिरोध गर्छ र तिनीहरूका हाँगाहरूको छेउमा झुण्डिएका शंकुहरूमा थोरै परिवर्तन हुन्छ । कडा शंकुहरू बिस्तारै खुल्न थाल्छन् र शंकुहरूको भित्रबाट पखेटा भएका बीउहरू निस्किन थाल्छन् । अन्य बिरुवाहरूभन्दा फरक, विशाल सिक्वोयाहरूले अत्यधिक तापको माध्यमबाट आफ्ना बीउहरू फैलाउँछन् । तातोले सृजना भएको हावाको प्रवाहमा उड्ने र माटोमा जरा गाड्ने बीउहरू जङ्गलको आगोले थप उर्वर हुन्छन् । यदि ती रूखहरू आगोमाथि विजयी भए भने जोखिमपूर्ण सङ्कष्टलाई अवसरमा परिणत गर्न सक्छन् ।
यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ । रोमी ५:३-४
जसले परमेश्वरको वचनलाई प्रचुर मात्रामा ग्रहण गरेका छन्, तिनीहरूका लागि कष्ट सङ्कष्ट नभई एक अवसर बन्दछ, र त्यस्ता मानिसहरूलाई नै अनन्त जीवनको आशिष् र मुक्तिको आशाले पछ्याउँछ । त्यसैले हामी दुःखको समयमा पनि खुसी हुनुपर्छ ।