अफ्रिकाको सेरेङ्गेटी घाँसे मैदानमा सबै जनावरहरू प्रकृतिको नियमअनुसार जिउँछन् । शाकाहारी जनावरहरूले आफ्नो उत्कृष्ट दृष्टि र तेज दौडने क्षमताको प्रयोगद्वारा शत्रुहरूको आक्रमणबाट आफूलाई बचाउँछन् भने मांसाहारी जनावरहरूले चाहिँ तीखो दाँत र बहादुरीद्वारा शिकार गर्छन् । यसो भन्दैमा शाकाहारी जनावरचाहिँ राम्रो अनि मांसाहारी जनावरचाहिँ नराम्रो भन्ने कुरा होइन । ती दुवैले वनको नियम पालना गरेका मात्र हुन् ।
शिकारी जनावरहरूले आफ्नो शिकार-कला देखाउन खोज्दैनन् । साथै यिनीहरूमा एकै चोटि धेरै शिकार गर्ने लोभ पनि हुँदैन । शिकार-कला जतिसुकै उत्कृष्ट भए पनि यिनीहरू भोकाउँदा मात्र शिकारमा निस्कन्छन् र अघाउञ्जेल खाएपछि शिकारलाई त्यतै छोडेर यिनीहरू आफ्नो बाटो लाग्छन् । त्यसपछि बाँकी मासुचाहिँ ‘अफ्रिकी च्यामे’ भनिने हुँडार, गिद्ध र कागका लागि छोडिदिन्छन् । शाकाहारी जनावरहरू पनि धेरै उपभोग गर्न चाहँदैनन् । शत्रु र खोलानालाको जोखिमलाई मोलेर बथानमा हिँडेको परिणामस्वरूप यिनीहरूलाई सन्तुष्ट पार्ने कुरा भनेको नै ताजा हरियो घाँस र तिर्खा मेटाउने चिसो पानी हो ।
निर्बल जनावरचाहिँ आफ्नो निर्बलतामा र प्रबल जनावरचाहिँ आफ्नो प्रबलतामा रहेर, कुनै लालच र गुनासोविना खुरुखुरु आफ्नो बाटो हिँड्छन् । जनावरहरूको संसारमा बेग्लै किसिमको क्रम र शान्ति छ ।