सन्तानोचित कर्तव्य भनेको …

जाङ सुन ह्याङ / सउल, कोरिया

818 हेरेको संख्या

हालसालै मेरो दाहिने नाडीमा चोट लाग्यो । बिस्तारै आफै निको हुन्छ होला भनेर मैले त्यसलाई खासै ध्यान दिइनँ । तर दिन बित्दैजाँदा दुखाइ झन्-झन् बढ्दैगयो । तैपनि मैले नाडीमा पट्टी बाँधेर रुमाललाई तातो पानीमा भिजाएर सेक्दै दुखाइ कम गराउन कोसिस गरें । सायद मेरो त्यो दयनीय स्वरूप देखेर होला, माध्यमिक तहमा अध्ययनरत मेरा दुई छोरीहरूले सबै घरायसी कामहरूमा सघाए ।

खाना खाएपछि उनीहरूले भाँडा माझे र पालैपालो घर सफा गरे । प्राथमिक तहमा पढ्ने मेरो कान्छो छोराले समेत यसो भन्यो, “आमा, म तपाईंको शिर नुहाइदिन्छु नि । तपाईंले त्यो सुन्निएको हात चलाउनुहुँदैन ।”

अनि फोहोर भएको शौचालय सफा गर्ने कुराचाहिँ हातको दुखाइका कारण म सोच्न पनि सक्दिनथें । “यहाँ सफा गर्नुपर्ने भएछ … तर कसरी गर्ने होला ?” भनेर मैले आफैलाई भनिरहेकी थिएँ, तब मेरी ठूली छोरीले आएर शौचालय सफा गर्ने तरिका सोधिन् ।

“पहिला बेसिनको कुना-कुनामा डिटर्जेन्ट छर्केर झुसले घोट्ने । त्यसपछि कमोडको भित्र पनि डिटर्जेन्ट छर्केर ब्रसले घोट्ने र पानी हाल्ने । शौचालयका चप्पलहरूलाई चाहिँ सानो ब्रसले घोट्ने ।”

“हवस्, आमा ।”

छोरीले शौचालय सफा गरेर सिद्ध्याएपछि मैले यसो ढोका खोलेर हेर्दा शौचालय एकदम सफा थियो । त्यो टिलिक्क टल्किरहेको थियो । अब शौचालय सफा गर्न सक्ने भएकी मेरी ठूली छोरीप्रति मलाई गर्व लाग्यो ।

त्यो साँझतिर म आफैले भाँडा माझ्न सक्छु जस्तो लागेर मैले छोरीहरूलाई आराम गर्न भनें । मैले भाँडा माझिसकेपछि कान्छी छोरीले यसो भनिन्,

“आमा, भाँडा माझिदिनुभएकोमा धन्यवाद । खासमा आज मलाई काम गर्ने जाँगरै थिएन । मैले केही दिन यो काम गर्ने क्रममा, तपाईंलाई पनि कति थकाइ लाग्दो हो भनेर सोच्न पुगें । अबदेखि म तपाईंलाई धेरै सहयोग गर्नेछु ।”

छोरीले मलाई बुझिदिएकोमा मलाई धेरै सान्त्वना मिल्यो । मेरा बच्चाहरू अझ सुन्दर र मायालु देखिए । सन्तानोचित कर्तव्य भनेको कुनै जटिल र विशेष कुरा नभएर केवल बुबा-आमालाई खुशी पार्ने कार्य रहेछ भनेर सोच्न पुगें । यति सरल कुरा पनि किन मलाई आजसम्म थाहा नभएको होला ? अब थाहा भएकोले म पनि मेरा बुबा-आमाप्रति राम्रो व्यवहार गर्ने प्रण गर्दछु । हुन त मेरो नाडीमा चोट लागेर पीडा त भयो, तर मेरा छोरा-छोरीले सन्तानोचित कर्तव्य निभाएकाले र मैले थोरै भए पनि महसुस पाएकीले म निकै खुशी र आनन्दित छु ।