सन् १९७६, सेप्टेम्बर १६ तारिख, सोभित युनियनको एउटा सहरमा गुडिरहेको बस एक्कासि अनियन्त्रित भएर नदीमा खस्न पुग्यो । त्यो दृश्य देखेर एक जना पुरुष तुरुन्तै नदीमा हामफाले । कालो धूवाँले गर्दा अगाडि केही देख्न सकिँदैनथ्यो, अनि पानी पनि चिसो थियो, तर तिनले आफ्नो सारा शक्ति लगाएर यात्रुहरूलाई नदीबाहिर निकाले । तिनी थिए, प्रसिद्ध पौडीबाज शावर्ष कारापेट्यान, जो ११ पटक विश्व कृतिमान तोड्न, १३ पटक यूरोप च्याम्पियन र १७ पटक विश्व च्याम्पियन जित्न सफल भएका थिए ।
३० पटकभन्दा बढी डाइभ गरेर ३० जनालाई उद्धार गरेपछि तिनी ढले । त्यस दिनदेखि तिनलाई निमोनिया र सेप्टिसेमिया भयो । अनि ४६ दिनपछि होशमा आउँदा शरीर पूरै बिग्रिएर तिनी फेरि पौड प्रतिस्पर्धामा उत्रिन नसक्ने भए । जिन्दगीको सबैभन्दा उत्कृष्ट समय व्यतीत गरिरहेका तिनको निम्ति त्यो एकदमै ठूलो झट्का थियो । तर तिनलाई दुःखित तुल्याएको कुराचाहिँ अर्कै थियो । दुर्घटना भएको दिनमा अचेत अवस्थामा रहेका मानिसहरूको उद्धार गर्ने क्रममा तिनले एक पटक सिटको चकटीलाई मानिस भन्ठानेर पानीबाहिर ल्याएका थिए । एक जनालाई बचाउन सकिने मौका गुमाउन पुगेको कुराले तिनी लामो समयसम्म दुस्वप्न र डिप्रेशनको शिकार भएका थिए ।
अहिले तिनले जुत्ता मर्मत गर्ने पसल र अशक्तहरूको निम्ति स्टोर सञ्चालन गरिरहेका छन् । मानिसहरूको स्मृतिमा तिनी दक्ष पौडीबाजभन्दा पनि धेरैको जीवन बचाउने नायकको रूपमा चम्किएका छन् ।