सबैभन्दा प्रिय सन्तान

कुनै एउटा परिवारमा पाँच जना छोरा-छोरीहरू थिए । उनीहरूमध्ये दोस्रो छोरी पढाइमा अब्बल भएकीले वरपरका मानिसहरूले उनको प्रशंसा गर्थे । तर उसलाई भने बुबा-आमाले अरू भाइ-बहिनीलाई बढी प्रेम गरेझैँ लाग्थ्यो । त्यसैले उनी मनमनै दःखी भइन् । तसर्थ एक दिन उनले आफ्नी आमालाई सोधिन् ।
“आमा, तपाईं हामीमध्ये कसलाई धेरै प्रेम गर्नुहुन्छ ?”
आमाले मुस्कुराउँदै जवाफ दिनुभयो ।
“जब तिम्रो दाइ किशोरावस्थामा भौंतारिँरहेको थियो तब मैले उसलाई सबैभन्दा बढी प्रेम गरें । जब तिमीले साथीसँग झगडा गरेर गाह्रो महसुस गर्थ्यौ तब मैले तिमीलाई सबैभन्दा बढी प्रेम गरें । जब तिम्रो सानो भाइ साइकलबाट लडेर रुदै घर फर्किएको थियो तब मैले उसलाई सबैभन्दा बढी प्रेम गरें । जब तिम्रो कान्छो भाइले रोजेको खेलौना मैले किन्दिन सकिनँ तब मैले उसलाई सबैभन्दा बढी प्रेम गरें, र तिम्री कान्छी बहिनी बिरामी भएर इमरजेन्सि कक्षमा हुँदा मैले उसलाई सबैभन्दा बढी प्रेम गरें ।”
आमा-बुबाले आफ्नो बच्चाहरू बिरामी हुँदा वा गाह्रो अवस्थामा हुँदा उनीहरूको दुःख लिनका लागि उनीहरूलाई झन् धेरै प्रेम गर्ने गर्छन् । आमा-बुबाको मनचाहिँ सधैँ आफ्नो कमजोर सन्तानमा हुने भएकोले उनीहरूले एक दिन पनि आरामदायक जीवन बिताउन पाउँदैनन् ।