सबैभन्दा मूल्यवान् कार्य, सबैभन्दा विशेष आशिष्
छ्वे सु ह्यन / अस्टिन टाउन, भारत

अधिकांश कोरियाली बुबाहरूको जस्तै मेरो जीवनयापन पनि, झिसमिसे प्रभातमा ताराहरूलाई हेर्दै काममा जाने र अबेर रातमा त्यही ताराहरूलाई फेरि हेर्दै घर फर्किने दिनहरूको श्रृङ्खला थियो । त्यस बेला, टाढाका ती ताराहरूको संसार कस्तो होला, ती ताराहरू कसको निम्ति चम्किरहेका होलान् भन्ने कुरा मलाई थाहै थिएन । मेरो एकमात्र लक्ष्य भनेकै परिवारको प्रमुख भएअनुरूप कसैसँग सहयोगको हात नफैलाई आफ्नो परिवारलाई आरामले पाल्नु थियो । यस्तो लक्ष्य लिएर मैले एक दिन पनि बिदा नलिईकन वर्षैभरि परिश्रमसाथ काम गरें ।
पत्नीबाट सत्यताको वचन सुनेपछि मेरो मनमा, सायद यो जीवन नै सबै थोक होइन होला भन्ने सोचाइ आयो । म ३० वर्षभन्दा लामो समयसम्म क्याथोलिक मण्डली धाएको भए पनि त्यहाँ मेरो विश्वास त्यति दह्रो थिएन । त्यसमाथि आफूले अघि कहिल्यै नसुनेको कुरा भएर होला पत्नीले मलाई सत्यताको वचन सुनाउँदाखेरि मैले झट्ट विश्वास गर्न सकिनँ ।
मेरी जेठी सासू पनि मेरी पत्नीसँगै मण्डलीमा गएर बाइबल अध्ययन गर्दैहुनुहुन्थ्यो । जेठी सासूले त्यो दिन अध्ययन गरेको कुरा मलाई बुझाउनुहुन्थ्यो, र मेरो राय लिनुहुन्थ्यो । बाइबल र परमेश्वरको विषयमा सुन्दा र सासूसँग कुराकानी गर्दाखेरि सिमसिम पानीले लुगालाई बिस्तारै भिजाएजस्तै म पनि सत्यताद्वारा प्रभावित हुँदैगएँ ।
केही महिनापछि मेरी पत्नीले आँखा चम्किलो पार्दै भनिन्,
“अहिले हामीहरू परमेश्वरका चाडहरू मानिरहेका छौं । चाडको समयमा परमेश्वरले अझ धेरै आशिष् दिनुहुन्छ ।”
भोलिपल्ट काममा जानअघि, म मेरी पत्नीसँगै प्रभातको आराधना गर्न मण्डली गएँ । बिहान सखारै त्यति धेरै मानिसहरू आराधना गर्न आएका देखेर, अनि उनीहरूको असल व्यवहार देखेर म दोबर आश्चर्यचकित भएँ । त्यस दिन मैले प्रफुल्लित मनद्वारा परमेश्वरको मण्डलीमा परमेश्वरको छोरा हुने आशिष् पाएँ । आफूले पहिला नै गर्नुपर्ने काम बल्ल पूरा भएझैँ गरी मलाई मनमा राहत मिल्यो । मेरो आत्मा नयाँ गरी जन्मेकोले होला, दिनहुँ लिने बिहानको हावा त्यो दिन अलि फरक लाग्यो ।
त्यो आनन्दित मनलाई मैले लगातार कायम राखेको भए हुनेथियो, तर बप्तिस्मापछि व्यस्तताले गर्दा म केही महिनासम्म मण्डलीमा जान सकिनँ । परिश्रमसाथ जागिर गरे तापनि मैले सोचेबमोजिम काम भएन, अनि अन्तत: मैले आफ्नो व्यवसाय नै बन्द गर्नुपर्ने भयो । अब कसरी जीविकोपार्जन गर्ने होला भन्नेबारे गहिरिएर सोच्नुपर्ने अवस्था आयो । सायद मेरी पत्नी पनि हाम्रो भविष्यप्रति मजस्तै चिन्तित थिइन् होला, तर उनले आफ्ना चिन्तालाई व्यक्त गरिनन् । बरु उल्टै “सबै कुरा परमेश्वरको इच्छाअनुसार हुन्छ” भन्दै मलाई सान्त्वना दिइन् ।
मैले त्यो वर्षको अन्तिम शबाथ-दिन र नव वर्षको पहिलो शबाथ-दिनमा परिवारसँगै आराधना गरें, अनि मेरी पत्नीले भनेजस्तै, मैले भोगेका सबै कुराहरू परमेश्वरको इच्छा रहेछ भन्ने कुरा महसुस गरें । सही र गलतलाई छुट्ट्याउन थाल्दा, अदृश्य आत्मिक संसारको आशिष् कति महान् छ भन्ने कुरा मैले बुझ्न सकें । “मेरा प्रजा ज्ञानको कमीले गर्दा नष्ट भएका छन्” भन्नुभएको वचनजस्तै, परमेश्वरको ज्ञानको कमीले गर्दा कदापि स्वर्ग जान नसक्ने मजस्तो अबुझ आत्मालाई सित्तैँमा मुक्ति दिनुभएका परमेश्वरलाई मैले कसरी धन्यवाद नचढाइरहन सक्छु र ?
हर्ष र उमङ्गभित्र आराधना गर्न थालेको करीब एक महिनापछि, निरन्तर वचन अध्ययन गर्दैजाने क्रममा मेरो हृदयलाई झन्-झन् उत्प्रेरित गराउने एउटा कुरा थियो । त्यो नै परमेश्वरले कसैलाई व्यग्रतापूर्वक खोजिरहनुभएको छ भन्ने कुरा थियो । ती व्यक्तिहरूचाहिँ मजस्तै स्वर्गबाट हराएका परमेश्वरका सन्तानहरू हुन् भन्ने कुरा महसुस गरेपछि मैले गम्भीरतापूर्वक प्रचार गर्ने निर्णय गरें ।
आफू कहाँबाट आएको हुँ, कहाँ गइरहेको छु भन्नेबारे अनभिज्ञ हुँदै विगतमा म हरदिन कामको पछाडि मात्र दौडिन्थें । तर कसैले मेरो परिवारलाई प्रचार गरेपछि बल्ल मैले स्वर्गको आशा लिन र सियोनमा शान्ति महसुस गर्न सकें । सत्यता ग्रहण गरेपछि साँच्चै मेरो जीवन खुशीले भरियो ।
मेरो निम्ति तयार पारिएको अनन्त स्वर्गीय राज्यलाई सोच्दैपिच्छे मलाई संसारको कुनै पनि कुराको लालसा लाग्दैन । त्यो आशिष् र अनुग्रह अरू मानिसहरूसित बाँड्दै म परमेश्वरले चाहनुभएको कामदार बन्न चाहन्थें ।
योचाहिँ मन मात्र बनाएर पूरा हुने कुरा नभएकोले म साहस बटुलेर सुसमाचारको कार्यमा सहभागी हुनतिर लागें । तर मैले गाली र विरोध मात्र पाउने अवस्थाहरू झेल्नुपऱ्यो । त्यस बेला म निरुत्साहित भएर हरेस खान पनि सक्थें, तर परमेश्वरले मलाई शक्ति दिनुभएर एउटा अविस्मरणीय फल प्रदान गर्नुभयो ।
मैले मजस्तै व्यवसायमा संलग्न हुनुभएका एक जना व्यक्तिलाई प्रचार गर्नेबारे सोच्दैथिएँ, तर एक दिन उहाँ आफैले मकहाँ बाइबल ल्याएर एउटा प्रश्न सोध्नुभयो । उहाँले मलाई उहाँको छोरा कुनै साथीको मण्डलीमा गएको र उसले उहाँलाई “बुबा, परमेश्वरलाई पिता भनेर पुकार्ने गरिन्छ भने माताचाहिँ हुनुहुन्न ?” भनेर सोधेको कुरा बताउनुभयो । अनि उहाँले मलाई, बाइबलमा माता परमेश्वरको विषयमा उल्लेख गरिएको छ कि छैन भनेर सोध्नुहुँदा मेरो मुटुको ढुकढुकी बढ्न थाल्यो । ‘सत्यता खोज्ने आत्मा भेट्टाउन टाढा जानैपरेन !’
मैले व्यग्रतापूर्वक खोजिरहेको स्वर्गीय परिवार उहाँ नै हुनुहुन्छ भन्ने कुरामा म विश्वस्त थिएँ । सियोनमा वचन अध्ययन गर्न आएर सत्यता ग्रहण गर्नुभएका ती ब्रदरले केही दिनपछि, माता परमेश्वरको विषयमा सोध्ने आफ्नो छोरालाई पनि परमेश्वरको काखमा डोऱ्याउनुभयो । त्यसपछि पनि सत्यताप्रतिको दृढ विश्वासद्वारा उहाँहरूले पारिवारिक विरोधलाई बुद्धिमानीपूर्वक जित्दै दृढतासाथ आफ्नो विश्वास जोगाउनुभयो ।
सुसमाचारको मिसनचाहिँ परमेश्वरले हाम्रो मुक्तिको निम्ति सुम्पनुभएको हो । हुन त मैले परमेश्वरको निम्ति सुसमाचारको कार्य सुरु गरें, तर त्यो कार्यभित्र मेरो निम्ति धेरै अमूल्य महसुसहरू लुकाइएका थिए । वास्तवमा सुसमाचार प्रचार गर्नुअघि नै सियोनका दाजुभाइ, दिदीबहिनीहरूचाहिँ स्वर्गीय पिता र माताको देह र रगत ग्रहण गर्नुभएका एउटै परिवारहरू हुनुहुन्छ, अनि हराएका भाइ-बहिनीहरू खोज्नु कति खुशीको कार्य हो भन्ने यथार्थता म जान्दथें । तर वचन प्रचार गर्न थालेर फल फलाउँदा मभित्रको त्यो ज्ञानले अन्तत: मलाई झनै प्रभावित तुल्यायो । बोलीद्वारा व्यक्त गर्न नसकिने परमेश्वरको बलिदान, अनि परमेश्वरको अनुकरण गर्ने अग्रज सन्तहरूको अथक परिश्रमद्वारा एक आत्मा, एक आत्मा खोज्न सकिएको हो भन्ने यथार्थतालाई आफूले प्रत्यक्ष अनुभव गरेपछि, आफ्नो वरिपरिका दाजुभाइ, दिदीबहिनीहरू कति अमूल्य हुनुहुन्छ भन्ने कुरा बल्ल महसुस भयो ।
केही वर्षअघि परमेश्वरले प्रदान गर्नुभएको ‘१० सिक्का’ अभियानले मलाई नयाँ दृष्टिकोण प्रदान गऱ्यो । सुरुमा त ‘मजस्तो कमजोर मानिसले कसरी १० जना आत्माहरूलाई सत्यतामा डोऱ्याउन सक्ला र ?’ भन्ने सोचमा म अलि चिन्तित थिएँ । तर समय बित्दैजाँदा आफ्नो उद्देश्य पूरा गर्नुभएका सन्तहरूबाट धेरैभन्दा धेरै शुभ खबरहरू सुनेपछि मलाई आफ्नो सोचाइ पो गलत रहेछ भन्ने कुरा महसुस भयो । आफ्नो उद्देश्यलाई पूरा गर्नुभएका सन्तहरू र मबीच एउटा स्पष्ट भिन्नता थियो । हुन त म पनि उहाँहरूले जस्तै सुसमाचारको कार्य त गर्थें, तर उहाँहरूचाहिँ स्वर्गको मात्र आशा गर्दै आफ्नो मिसन पूरा गर्न भरमग्दूर कोसिस गर्नुहुन्थ्यो भने मचाहिँ निरर्थक कुराहरूमा मन लगाइरहेको अथवा आत्मिक आशिष् र व्यर्थका कुराहरूमध्ये कुनलाई रोज्ने होला भनेर हिचकिचाइरहेको थिएँ । ती सन्तहरूको मनस्थिति मेरो भन्दा बिलकुल फरक भएकोले नि:सन्देह नतिजा पनि फरक त हुने नै भयो ।
विगतमा समयलाई व्यर्थैमा खर्चेकोमा पश्चात्ताप गर्दै मैले ‘एक चोटिको यो जिन्दगीलाई अब सुसमाचारमा समर्पित गर्नेछु’ भन्ने अठोट लिएँ । आफ्नो मनभित्र भएका व्यर्थका अभिलाषाहरूलाई फालेर अझ ठूलो विश्वासद्वारा नयाँ गरी जन्मनको निम्ति प्रयास गर्दाखेरि परमेश्वरले ठूलोभन्दा ठूलो आशिष्को अवसरले पर्खिरहेको ठाउँमा मेरो परिवारलाई डोऱ्याइदिनुभयो । भारतचाहिँ १,६०० वटा भाषाहरू, करोडौँ देवी-देवताहरू र १ अरब ३० करोड जनसङ्ख्या भएको देश हो ।
भाषा पनि फरक, अनि आफ्नै धर्ममा अडिग भएर सत्यतालाई इन्कार गर्ने यहाँका मानिसहरूलाई देखेर म धेरै पटक थकित पनि भएँ । सत्यतालाई नबुझेका यहाँका मानिसहरूलाई देखेर मेरो मन भारी हुन्थ्यो । म धेरै पटक रोएँ । एक समय त, डेङ्गु ज्वरोको कारण मेरो परिवारका सबै जना थला परे । तर ती सबै अवस्थाहरूमा मैले हरबखत परमेश्वरलाई धन्यवाद चढाइरहें । मेरो कारणले स्वर्गीय पिता र माताले कति कष्ट पाउनुभयो होला ? पिता-माताको मन कति छियाछिया भयो होला ? तैपनि मलाई यति धेरै प्रेम गर्नुहुन्छ भन्ने कुरा पिता-माताले हिँड्नुभएको बाटोलाई पछ्याउँदा मैले थोरै भए पनि बुझ्न सकें । अहिले पनि विश्वभरिका असङ्ख्य सन्तानहरूका निम्ति आफैलाई बलिदान गर्नुहुँदै मुक्तिको कार्यलाई डोऱ्याइरहनुभएका पिता-मातालाई सोच्दैपिच्छे मेरो मुखबाट निस्कने शब्दचाहिँ केवल “धन्यवाद” हो ।
सुसमाचारका वर्षहरू बित्दैजाँदा परमेश्वरसँगै हिँड्दै, परमेश्वरले देखाउनुभएको उदाहरणलाई पछ्याउनु नै ठूलो खुशी हो, सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्ने यथार्थतालाई मैले हृदयको गहिराइदेखि महसुस गरें । सुसमाचारको सिक्का जोडिँदैपिच्छे पाइने त्यो खुशीचाहिँ संसारमा कहीँ पनि प्राप्त गर्न नसकिने आशिष् हो । म के भएकोले परमेश्वरले मलाई यति ठूलो अनुग्रह गर्नुभएको होला ?
आशापूर्ण नव वर्ष उदाएको छ । आफ्ना सन्तानहरूलाई फेरि भेट्ने त्यो दिनको व्यग्र प्रतीक्षा गरिरहनुभएका पिता, अनि अझ एक आत्मालाई भए पनि खोज्न दिनरात गहिरो प्रार्थना गरिरहनुभएकी माताको चाहना यो वर्षमा जसरी पनि पूरा होस् भनी बिन्ती गर्दछु । त्यस दिनलाई अझ नजिक ल्याउनको निम्ति ममा भएका कमी-कमजोरीहरूलाई भर्न कोसिस गर्नेछु, आफ्ना गल्तीहरूलाई सुधार गर्नेछु, अनि तनमनले सुसमाचार प्रचार गर्नेछु ।
हिजो पनि, आज पनि पिता-मातालाई याद गर्दै विश्वभरिका स्वर्गीय परिवारहरूसँग एउटै मनको भएर पिता-माताप्रतिको कृतज्ञता व्यक्त गर्न चाहन्छु ।
“पिता-माता, धन्यवाद । माया गर्छु !”