राम्रो सम्बन्धका लागि वार्ता गर्ने तरिका
जब कसैको विचार हाम्रो विचारभन्दा फरक हुन्छ, तब आफ्नो विचारमा अडिग रहनुको सट्टा पहिले उनीहरूको भावनालाई बुझ्नुपर्छ । वार्ता भनेको हारजितको लडाइँ होइन, तर अर्को व्यक्तिको मन पगाल्ने एउटा माध्यम हो ।
“प्रायः सबै कुराहरूमा वार्ता गर्न सकिन्छ ।”
योचाहिँ अमेरिकी वार्ता विशेषज्ञ हर्ब कोहेन(Herb Cohen)को भनाइ हो । ‘वार्ता’ भन्नेबित्तिकै धेरै मानिसहरूले अन्तर्राष्ट्रिय वार्ता वा तलबसम्बन्धी वार्ता जस्ता महत्त्वपूर्ण विषयमा हुने तनावपूर्ण छलफलको कल्पना गर्ने गर्छन् । तर वार्ता गर्नु केवल कूटनीतिज्ञ वा व्यवसायीहरूको मात्र विशेष काम होइन । बजारमा सामानको मूल्य घटाउनु, सहकर्मीसँग दिउँसोको खाजाको मेनु तय गर्नु, परिवारका सदस्यहरूसँग घरायसी काम बाँडफाँड गर्नु, वा छोरा-छोरीको पाकेट खर्च तोक्नु जस्ता विचारको भिन्नतालाई कम गर्ने कार्यहरू पनि एक प्रकारको वार्ता नै हो । औपचारिक रूपमा टेबिलमा आमनेसामने बसेर कुरा नगरे पनि, हर्ब कोहेनले भनेझैँ हाम्रो दैनिक जीवन वार्ताहरूको निरन्तर शृङ्खला हो ।

यदि सबै मानिसहरूले आफ्ना आवश्यकताहरू आफैँ पूरा गर्न सक्ने भए वा दुई पक्षका चाहनाहरू सधैँ मिल्ने भए, यो संसारमा कुनै विवाद नै हुने थिएन । तर वास्तवमा एकलैले सम्हाल्न गाह्रो हुने कुराहरू धेरै हुन्छन्, र दुई जनाको विचार फरक हुँदा कुनै पनि पक्ष सजिलै पछि हट्न नचाहने अवस्थाहरू थुप्रै आउँछन् । त्यसैले जीवनमा बारम्बार आउने साना-ठूला विवादहरूको सौहार्दपूर्ण समाधानका लागि कुराकानी र आपसी समझदारी आवश्यक हुन्छ ।
सम्बन्ध जति घनिष्ठ हुन्छ, वार्ताको महत्त्व त्यति नै बढी हुन्छ । किनकि एउटा सानो कार्यले पनि एक-अर्कालाई ठूलो प्रभाव पार्न सक्छ । जब विवाद निम्त्याउने परिस्थितिलाई कुराकानी र समझदारीको माध्यमबाट सहज रूपमा समाधान गरिन्छ, तब आपसी विश्वास अझ बलियो हुन्छ र यसले सन्तुष्टि पनि प्रदान गर्छ । त्यसैले वार्ता गर्ने तरिका सिकौं, र आवश्यक परेको बेला यसको प्रयोग गरौं ।
नकारात्मक भावना व्यक्त गर्दा वार्ता गर्न गाह्रो हुन्छ
एउटै परिस्थितिमा पनि हरेक मानिसको सोचाइ र प्रतिक्रिया फरक हुन्छ, र त्यसको पछाडि उनीहरूका आफ्नै कारणहरू हुन्छन् । यदि हामीले यो कुरालाई बेवास्ता गऱ्यौं र सधैँ आफूलाई सही र अर्को व्यक्तिलाई गलत सोच्यौं भने, मनमा नकारात्मक भावना उत्पन्न हुने सम्भावना बढी हुन्छ । यसकारण अधिकांश मानिसहरू आफ्नो सामान्य समझभन्दा बाहिरका कुराहरूमा ‘रिसाउनु स्वाभाविक हो’ भन्ने ठान्छन् । जब कसैसँगको विवादमा आफू घाटामा परेको वा हारेको महसुस हुन्छ, तब धेरै मानिसहरू आफ्नो अडानलाई अझ कडा रूपमा अगि सार्छन् । यसले गर्दा उनीहरूले अर्को व्यक्तिसँग भावनात्मक रूपमा प्रतिस्पर्धा गर्ने स्थिति सृजना हुन सक्छ ।
असन्तुष्टि, झिजोपन वा क्रोध जस्ता नकारात्मक भावनाहरू व्यक्त गर्नु वार्ताको सबैभन्दा ठूलो बाधा हो । जब हामी अत्यधिक भावुक हुन्छौं, तब हामीले आफ्नो धैर्यता गुमाउँछौं र आफूले चाहेको कुरा स्पष्टसँग बुझाउन सक्दैनौं । यसका साथै आवाज ठूलो पार्दा र अर्को व्यक्तिलाई उत्तेजित बनाउने कुराहरू बोल्दा, त्यसले विवादको रूप लिन सक्छ । फलस्वरूप वार्ताको मूल उद्देश्य पूरा हुनुको सट्टा एक-अर्काको भावनामा चोट पुऱ्याउन पुगिन्छ ।

जब अर्को व्यक्ति रिसाएको हुन्छ वा व्यर्थको जिद्दी गरिरहेको हुन्छ, तब जस्तालाई तस्तै जवाफ फर्काउनु प्रभावकारी र बुद्धिमानी तरिका होइन । तर उसलाई खुसी बनाउनकै लागि उसका अनुचित मागहरू स्वीकार्नु वा समस्यालाई पन्छाएर टार्न खोज्नु पनि झन् ठूलो भ्रम र विवाद निम्त्याउने कुरा हो । त्यसैले कोही व्यक्ति रिसाएको बेला सबैभन्दा पहिले उसको भावनालाई बुझिदिँदै उसको आक्रोश शान्त हुन दिनुपर्छ । त्यसपछि बल्ल आफूलाई चित्त नबुझेका कुराहरू संयमित र स्पष्ट रूपमा सम्झाउनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण कुराचाहिँ व्यक्ति र समस्याबीचको भिन्नतालाई छुट्ट्याउनु हो । हामीले अर्को व्यक्तिको प्रस्ताव वा एजेन्डामा आफ्ना विचारहरू राख्न सक्छौं, तर उनीहरूको व्यक्तित्व वा सोच्ने क्षमताको मूल्याङ्कन गर्ने वा आलोचना गर्ने काम कदापि गर्नुहुँदैन ।
जीवनसाथीले वाचा पूरा नगर्दा
“तिमी कति स्वार्थी छौ, आफ्नो वाचा त वास्तै गर्दैनौ ।” (गलत)
“तिमीले आफ्नो वाचा पूरा नगर्दा मलाई दुःख लाग्छ ।” (सही)
बच्चाले महँगो सामान किनिदिन जिद्दी गर्दा
“नचाहिँने कुरा नगर ।” “दिमाग ठेगानमा छ कि छैन तिम्रो ?” (गलत)
“माफ गर, तर तिमीले चाहेका सबै कुरा म किनिदिन सक्दिनँ ।” (सही)
खानेकुराको रोजाइ फरक हुँदा
“मलाई मन नपर्ने कुरा त म खाँदै खान्न !” “त्यो त मिठै छैन । तिमी किन त्यो खान चाहन्छौ ?” (गलत)
“खानाको मेनु तिमीले रोज्दा अनि, मिठाईचाहिँ मैले रोज्दा, कस्तो छ होला ?” (सही)
‘माग’भित्र लुकेको ‘चाहना’ बुझ्नुहोस्
सौहार्दपूर्ण सम्झौताका लागि आफूले चाहेको कुरा स्पष्टसँग बुझाउनु आवश्यक हुन्छ । तर त्योभन्दा महत्त्वपूर्ण कुराचाहिँ अर्को व्यक्तिले वास्तवमा के चाहन्छ भनेर बुझ्नु हो । जसरी पानीमा तैरिरहेको हिमशिलाको देखिने भाग मात्र सबै थोक हुँदैन र त्यसको ठूलो हिस्सा पानीमुनि लुकेको हुन्छ, त्यसरी नै हामीले “उसले किन यस्तो माग गरिरहेको छ ?” भन्ने कुरा सोच्दै अर्को व्यक्तिको मागभित्र लुकेको वास्तविक चाहना बुझ्नुपर्छ । त्यसपछि बल्ल समाधानका विकल्पहरू फराकिलो हुन्छन् । किनकि अर्को व्यक्तिको माग जस्ताको तस्तै स्वीकार गर्न नसकिए पनि, अन्य उपायहरू खोजेर उसको भित्री चाहना पूरा गर्न सकिन्छ ।
अर्को व्यक्तिले के चाहन्छ भन्ने कुरा सही रूपमा जान्नका लागि उचित प्रश्न सोध्नु र त्यसको जवाफ ध्यानपूर्वक सुन्नु आवश्यक छ । कहिलेकहीँ हामी अर्को व्यक्तिले माग गर्नुको कारण आफैँ अनुमान गर्छौं, वा आफूलाई थाहा भएको कुरा उसलाई पनि थाहा होला भनेर पूर्वानुमान गर्दै कुरा गर्छौं । यसरी कुराकानीको कमी हुँदा विवादहरू उत्पन्न हुन्छन् । त्यसैले अर्को व्यक्तिको कुरा ध्यान दिएर सुनिदिँदा मात्र पनि सजिलै समाधान खोज्न सकिन्छ । हामी आफूले प्रयोग गर्ने अभिव्यक्तिहरूप्रति सधैँ सचेत हुनुपर्छ । किनकि ‘किन ?’ वा ‘केका लागि ?’ भन्ने जस्ता अभिव्यक्तिहरूले तपाईं अर्को व्यक्तिको माग पूरा गर्न चाहनुहुन्न भन्ने गलत बुझाइ उत्पन्न गराउन सक्छ ।

कोरियाको एउटा व्यवसायिक शिक्षण संस्थाले विद्यार्थीहरूलाई दुई वटा समूहमा विभाजन गर्यो । एउटा समूहलाई अर्को पक्षको विचार खण्डन गर्दै उनीहरूको प्रस्ताव अस्वीकार गर्न लगाइयो भने, अर्को समूहलाई उनीहरूको विचारप्रति सहानुभूति व्यक्त गरेपछि मात्र प्रस्ताव अस्वीकार गर्न लगाइयो । त्यसपछि प्रस्ताव अस्वीकार गरिएका व्यक्तिहरूलाई वार्ताको नतिजाप्रति उनीहरू कत्तिको सन्तुष्ट छन् भनेर सोधियो । दुवै समूहको प्रस्ताव अस्वीकार गरिएको भए पनि, आफ्नो विचारप्रति सहानुभूति पाएको समूहले वार्ताप्रति बढी सन्तुष्टि व्यक्त गऱ्यो ।
अर्को व्यक्तिले भनेको कुराप्रति सहानुभूति देखाउनु अत्यन्तै महत्त्वपूर्ण छ । एक पटक सहानुभूतिको सम्बन्ध निर्माण गरेपछि, तपाईंहरू अब शत्रु होइन, तर सँगै मिलेर समस्या समाधान गर्ने साझेदार बन्नुहुन्छ । धेरैजसो अवस्थामा मानिसहरूले जब अर्को व्यक्तिले आफ्नो भावना र चाहनालाई पूर्ण रूपमा बुझेको अनुभूति गर्छन्, तब उनीहरू सुरक्षित र सन्तुष्टसमेत महसुस गर्छन् । त्यसैले हामीले अर्को व्यक्तिको माग पूरा गर्न नसके पनि उनीहरूको चाहनाप्रति सहानुभूति व्यक्त गऱ्यौं भने उनीहरूले मन खोलेर कुराकानी गर्न सक्छन् ।
जब बच्चाहरू दाँत माझ्न मान्दैनन्
बच्चाहरूले आफूलाई दाँत माझ्न किन मन पर्दैन भन्ने कुरा तर्कसंगत रूपमा बुझाउन सक्दैनन् । बाहिरबाट हेर्दा उनीहरूलाई दाँत माझ्नै मन नलागेको जस्तो देखिए पनि, वास्तवमा उनीहरूलाई मन्जनको पिरो स्वाद मन नपरेको हुन सक्छ, वा बुबा-आमाले जबरजस्ती दाँत माझिदिने तरिका मन नपरेको हुन सक्छ । त्यसैले बच्चाले बुझ्ने भाषामा प्रश्न सोधेर वास्तविक कारण पत्ता लगाउनुपर्छ, र कारण थाहा पाएपछि उनीहरूको भावनालाई बुझेर सहानुभूति व्यक्त गर्नुपर्छ । राम्रो बास्ना भएको मन्जन वा बच्चाको मन पर्ने कार्टुनको पात्र भएको ब्रस किनिदिँदा दाँत माझ्ने कुराप्रतिको उनीहरूको आनाकानी कम गर्न सकिन्छ । साथै उनीहरूले आफैँ दाँत माझ्दा खुलेर प्रशंसा गरिदिनुपर्छ ।
पत्नीले कोठामा घाम आओस् भनेर पर्दा खोलेकी छिन्, तर पति भने पर्दा लगाउन चाहन्छन्
पत्नीले आफूले पर्दा खोल्नुको कारण बुझाउँछिन् र पतिलाई पर्दा लगाउनुको कारण सोध्छिन् । पतिसँग पर्दा लगाउनुको पछाडि टिभीको स्क्रिन स्पष्ट नदेखिनु, दिउँसो सुत्न मन लाग्नु, वा बाहिरका मानिसले घरभित्र नदेखून् भन्ने चाहनु जस्ता विविध कारणहरू हुन सक्छन् । पतिको कुरा सुनेपछि पत्नीले पतिको समस्याप्रति सहानुभूति देखाउनुपर्छ र दुवैको चाहना पूरा हुने उपाय खोज्नुपर्छ । उदाहरणको लागि, टिभीको स्क्रिनमा घाम नपर्ने गरी पर्दा खोल्ने, पतिलाई आइ मास्क दिने, वा केही समयपछि पर्दा लगाउने जस्ता विकल्पहरू प्रस्ताव गर्न सकिन्छ ।
राम्रो सम्बन्ध कायम राख्ने सफल वार्ता
वार्ताको परिणाम सामान्यतया तीन प्रकारका हुन्छन् । पहिलो, कुनै पनि पक्ष सन्तुष्ट नहुने । दोस्रो, केवल एउटा पक्ष सन्तुष्ट हुने । अनि तेस्रो, दुवै पक्ष सन्तुष्ट भएर भविष्यमा पनि सहकार्यको अपेक्षा राख्ने । यीमध्ये सबैभन्दा आदर्श परिणाम भनेकै दुवै पक्ष सन्तुष्ट हुने वार्ता हो भन्ने कुरामा कुनै दुईमत छैन ।
दुवै पक्ष सन्तुष्ट हुने सफल परिणाम प्राप्त गर्नका लागि वार्ता ‘फाइदा’मा होइनकि, ‘सम्बन्ध’मा केन्द्रित हुनुपर्छ । हारजित वा कसले बढी फाइदा पायो भन्ने कुरामा केन्द्रित वार्ताले राम्रो परिणाम ल्याउने सम्भावना कम हुन्छ । त्यसैले आफूले फाइदा पाए पनि यदि त्यसले सम्बन्ध बिगार्छ भने दीर्घकालीन रूपमा त्यो असफल नै हुन्छ ।

धेरै मानिसहरू सौहार्दपूर्ण सम्झौताका लागि विस्तृत योजना र प्रभावशाली भाषण आवश्यक हुन्छ भनी ठान्छन् । तर वास्तवमा कुराकानीको नतिजा निर्धारण गर्ने मुख्य तत्त्व भनेको बोल्ने तरिका र व्यवहार हो । यदि तपाईंले केवल आफ्नो तर्कको आधारमा अर्को व्यक्तिलाई दबाब दिनुभयो वा उसलाई अप्ठ्यारोमा पारी आफ्नो कुरा मान्न बाध्य बनाउनुभयो भने, उसले आफ्नो मनको ढोका बन्द गर्नेछ । त्यसैले मैत्रीपूर्ण व्यवहार, नम्र र सौम्य बोलीद्वारा अर्को व्यक्तिको मन जितेर सकारात्मक वातावरण सृजना गर्नु सबैभन्दा बढी आवश्यक हुन्छ ।
“अर्को व्यक्तिलाई कसरी हराउने ?” भनेर सोच्नुको सट्टा “कसरी एक-अर्कालाई अझ राम्ररी बुझ्दै सौहार्दपूर्ण सम्बन्ध गाँस्न सकिन्छ ?” भनेर सोच्नुपर्छ । वास्तविक सफल वार्ता तब मात्र हुन्छ, जब तपाईंले आफ्नो माग वा उद्देश्य पनि पूरा गर्नुहुन्छ र अर्को पक्षले पनि कुनै गुनासो बिना खुसी नै महसुस गर्छ । परिस्थितिअनुसार तत्काल केही घाटा बेहोर्नुपरे पनि आपसी विश्वास निर्माण गर्नु र सम्बन्धलाई अझ प्रगाढ बनाउनु बढी फाइदाजनक हुन सक्छ । किनकि उचित त्याग र सम्झौताको माध्यमबाट बलियो सम्बन्ध बनाउन सकियो भने, अर्को पटकको वार्तामा अझ राम्रो परिणामको अपेक्षा गर्न सकिन्छ ।
सफल वार्ताका लागि आवश्यक पर्ने ‘हो, तर(Yes-but)’ शैली
मानिसहरूले आफ्नो सुझावको जवाफ ‘हुँदैन’ वा ‘नाइँ’ शब्दबाट सुरु भएको सुन्ने बित्तिकै स्वतः एउटा नकारात्मक भावना लिने गर्छन् । जसले गर्दा त्यसपछि जतिसुकै तर्कसङ्गत कुरा गरे पनि उनीहरू सम्झौता गर्नुको सट्टा विरोध गर्नतिर लाग्छन् । त्यसैले, ‘हुँदैन, किनभने …’ भन्नुको सट्टा ‘हुन्छ, तर यसरी गर्दा सम्भव होला …’ भन्दै ‘हुन्छ, तर (Yes, but)’ तरिका प्रयोग गरेर कुराकानीलाई सकारात्मक एवं खुला बनाउनुपर्छ ।

सम्बन्ध जति पारिवारिक वा नजिक हुन्छ, अर्को सदस्यले फरक मत राख्दा वा फरक कुरा चाहँदा त्यति नै धेरै चित्त दुख्ने सम्भावना हुन्छ । तर प्रायः झगडाचाहिँ विचारको भिन्नताले गर्दा भन्दा पनि अर्को व्यक्तिलाई बेवास्ता गर्ने वा उसको कुरा खण्डन गर्ने व्यवहारबाट सुरु हुन्छ । घनिष्ठ परिवार भनेको सम्झौता गर्नु नपर्ने परिवार होइनकि, विचार र चाहनाका भिन्नताहरूलाई स्वीकार गर्दै कुराकानी र सम्झौताद्वारा समायोजन गर्ने परिवार हो ।
वास्तवमा आफूले मनैदेखि चाहेको कुरा वा आफूलाई सही लागेको विषयमा पछि हट्नु सजिलो हुँदैन । तर आफूले चाहेको सबै कुरा प्राप्त गर्न नसकिने भएकोले आफ्नो इच्छामा मात्र अडिग रहनुभन्दा सहकार्यमा ध्यान दिनुपर्छ । त्यसैले सकारात्मक र आनन्दित मन लिएर समस्यालाई अवरोधको रूपमा भन्दा पनि बुद्धिमानीपूर्वक समाधान गर्दै अगि बढ्ने अवसरको रूपमा हेर्नुपर्छ । परिस्थिति जतिसुकै कठिन भए पनि यदि कुराकानीद्वारा समस्या समाधान गर्ने इच्छा व्यक्त गर्दै परिवारका सदस्यहरूलाई “म अझै पनि तपाईंलाई सम्मान र माया गर्छु” भन्ने विश्वास दिलायो भने, दुवै पक्ष सन्तुष्ट हुने सहमतिमा पुग्न सकिन्छ ।