जालको तयारी

जालचाहिँ माछा समात्ने एउटा साधन हो । डुङ्गा खियाउनुअघि माझीले माछा मार्ने जाल तयार गर्छ । एक पटक माछा मारिसकेपछि त्यो जाल जेलिने भएकोले त्यसलाई फेरि प्रयोग गर्नका लागि राम्ररी मिलाएर राख्नुपर्छ । त्यसलाई हातै नलगाई यत्तिकै छोडिदियो र पहिलेकै अवस्थामा समुद्रमा फ्याँकिदियो भने, त्यो राम्ररी खुल्दैन र सोचे जति माछा समात्न सकिँदैन । अल्झिएको कुरा फुकाउन गाह्रो हुन्छ र धेरै समय लाग्छ, तर डुङ्गाभरी माछा मारेर फर्किनुको आनन्द लिन चाहनुहुन्छ भने यो काम गर्न अल्छी गर्नुहुँदैन ।
सुसमाचारको समुद्रमा निस्कनुअघि, मानिसको मछुवा भएका हामीले पनि परमेश्वरको वचनको जाल तयारी गर्नुपर्छ । योचाहिँ जीवन बचाउने बहुमूल्य साधन भएकोले, यसलाई तयार पार्नको लागि हामीले थप प्रयास र समय लगाउनुपर्छ । त्यसो नगरी बिना कुनै तयारी अन्धाधुन्ध माछा मार्नका लागि तम्सियौं भने, आत्मिक रूपमा माछा मार्ने काम बिग्रिन सक्छ । हरेक दिन समय निकालेर जाललाई तयार गरौं । अनि सुसमाचारको सुनौलो माछा मार्ने मैदानमा जाऔं । हामी सँगै जाऔं र आफ्नो सम्पूर्ण शक्ति लगाएर जाल हानौं । अनि परमेश्वरले तयार पार्नुभएको राम्रा माछाहरू प्रशस्त मात्रामा समातौं ।
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो पछि लाग, र म तिमीहरूलाई मानिसहरूका मछुवा तुल्याउनेछु ।” मत्ती ४:१९