कठिनाइलाई जित्ने मेलमिलाप

ग्वन मि सुग / सउल, कोरिया

11,219 भ्यु

पूरै विश्वलाई नै हल्लाएको ‘कोभिड-१९’को महामारीले हाम्रो दैनिक जीवनमा पनि धेरै परिवर्तन ल्यायो । प्रत्येक दिन टिभी समाचार, पत्र-पत्रिका, प्रकोप चेतावनी सन्देशहरू इत्यादिमार्फत हामीले व्यक्तिगत सरसफाइबारे मात्र नभएर ‘सामाजिक दूरी’ कायम गर्नेबारे पनि सिकेकाले घरमा बस्ने समय स्वाभाविक रूपमा लम्बिरहेको छ ।

यसरी म केही दिनसम्म घरमा मात्र कहिल्यै नबसेकीले सुरुमा त ‘घरमा कसरी समय बिताउने होला ?’ भनेर चिन्ता लागेको थियो । जाडोयामको लामो बिदामा बसेका मेरा छोराहरूका लागि प्रत्येक दिन तीन छाक खाना तयार गर्ने कार्य सजिलो थिएन । एक दिन खाना खाने क्रममा मेरो कान्छो छोराले यसो भन्यो,

“आमा ! यसो सोचिहेर्दा, घरायसी काम गाह्रो नभए पनि अलि झर्कोलाग्दो हुन्छ ।”

त्यसपछि उसले घरायसी काम आमा एकलैले होइन, बाँडेर गरौं भन्यो । अनि सिजर-पेपर-रक खेल खेलेर प्रत्येकले गर्न चाहेका कामहरूबारे निर्णय गरौं भन्दै आफ्नो विचार राख्यो । सामान्यतया म व्यस्त हुँदा मेरा छोराहरूले घरायसी काममा मलाई सहयोग गर्ने भएकाले, अनि हिजोआज मेरो फुर्सदको समय भएकोले मैले उनीहरूलाई काम अह्राउन खोजेकी थिइनँ । तर उनीहरूले स्वेच्छाले गर्न खोजेकाले इन्कार गर्ने कुरै भएन ।

यसकारण हामीले सिजर-पेपर-रक खेल खेलेर काम बाँडफाँड गऱ्यौं । तरकारी बनाउने र सरसफाइ गर्ने जिम्मा मेरो थियो, लुगा धुने जिम्मा मेरो जेठो छोराको थियो, अनि भात पकाउने र भाँडा माझ्ने जिम्माचाहिँ कान्छो छोराको थियो । धन्न मेरा छोराहरूले जिम्मा पाएका कामहरू उनीहरूलाई गर्न सजिलो लाग्ने काम थियो । मेरो कान्छो छोराले भनेझैँ, घरायसी काम गाह्रोभन्दा पनि अलि झर्कोलाग्दो हुन्छ । तर अब काम बाँडफाँड गरेकोले त्यो गर्न धेरै नै सजिलो भएको छ । आफ्नी आमाप्रति विचारशील भएका मेरा छोराहरूप्रति म कृतज्ञ छु । उनीहरूको कारण म धेरै हाँस्न पनि थालेकी छु । मेरा पति घर छिटो आउनुभएको दिनमा उहाँले बेलुकीको खाना तयार गर्न सहयोग गर्नुहुने भएकोले खाना अझ छिटै तयार हुन्छ ।

कोभिड-१९को महामारीका कारण सबै जना गाह्रो समयबीच गुज्रिरहेका बेला पारिवारिक मेलमिलापले एक-अर्कालाई ठूलो प्रोत्साहन दिलाउँछ । हामीहरू पारिवारिक प्रेमलाई अझ व्यवहारमा लागू गर्दै, आफ्नो दैनिक जीवनमा चाँडै फर्कन सकौं भनी प्रार्थना गर्दछु ।