बुबा-आमाको मन

7,891 भ्यु

एक जना मानिस व्यवसायको सिलसिलामा विदेश जानुपर्ने भयो । तिनको अनुपस्थितिमा केही महिनासम्म एकलैले ५ जना बच्चाहरूको हेरचाह गर्नुपर्ने भएकी पत्नीप्रति तिनी चिन्तित भए । त्यसैले तिनले कसो गरेमा पत्नीको बोझलाई कम गर्न सकिन्छ होला भनेर सोचे, अनि अन्ततः एउटा उपाय निकाले ।

“बुबा बाहिर गएको समयमा आमाको कुरा सबैभन्दा राम्ररी सुन्नेलाई म ठूलो उपहार दिनेछु ।”

बच्चाहरू बुबाको कुरा सुनेर खुशीले रमाए । केही महिनापछि व्यावसायिक यात्राबाट फर्किएका पतिले ५ जना बच्चाहरूमध्ये कसलाई उपहार दिँदा हुन्छ होला भनेर पत्नीलाई सोधे । तब पत्नीले यस्तो जवाफ दिइन् ।

“जेठोचाहिँ भाइ-बहिनीको रेखदेख गर्दै र उनीहरूको निम्ति त्याग गरिदिँदै कठिन अवस्थामा पनि राम्ररी हुर्कियो, माहिलोले चाहिँ मैले नअह्राए पनि आफ्नो सबै काम आफैले गऱ्यो । साहिँलोले घरधन्दामा सघाएकोले मलाई ठूलो सहयोग मिल्यो । काइँलोले परिश्रमसाथ अध्ययन गरेकोले विद्यालयमा सम्मान पुरस्कार पायो । अनि कान्छोले चाहिँ गीत र सुन्दर नाचद्वारा मलाई खुशी बनायो । त्यसैले पाँच जना सबैलाई उपहार दिनुहोस् ।”

ती मानिसले तयार गरेको उपहार पाँचै जनालाई दिए । एक जना पनि नछुटीकन बुबा-आमाबाट उपहार र प्रशंसा पाएका बच्चाहरू सबैले खुशी र आनन्द बराबर बाँडे ।