संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने ५० वर्षीय जोन सेइन, शिकारमा जाने आफ्नो उहिलेदेखिको सोख पूरा गर्न एकलै घना जङ्गलभित्र पसे । त्यहाँ तिनले बडेमानको बाह्रसिङे मृग देखे । त्यसलाई निशाना बनाएर त्यसको पछिपछि दौडिने क्रममा दुर्भाग्यवश तिनको दाहिने खुट्टा भाँचियो । तिनी हलचलै गर्न सकेनन् । तीमाथि मोबाइल नेटवर्क पनि नदेखाएको हुनाले तिनले उद्धार टोलीलाई गुहार्न पनि सम्भव भएन ।
पीडा झन्-झन् बढ्दैगएर जिउने आशा पटक्कै नहुँदा तिनले आफ्नी प्रिय पत्नी र दुई सन्तानलाई बिदाइको पत्र लेख्न थाले । यसरी जीवनप्रति हरेस खानैलाग्दा एउटा कुराले तिनलाई धैर्य गर्न उत्प्रेरित गरायो । त्यो नै, ‘म मेरो परिवारलाई कहिल्यै त्याग्न सक्दिनँ । जतिसुकै पीडा भए तापनि म जीवितै मेरो परिवारलाई भेट्नेछु’ भन्ने तिनको सोच थियो ।
तिनले आफ्नो लुगा च्याते, अनि हाँगाहरूलाई आफ्नो खुट्टामा बाँधेर तिनी घस्रँदै हिँड्न थाले । त्यसरी चार दिन, चार रातसम्म तिनले ठूलो सङ्घर्ष गरे । शरीरको बल घटेर सिद्धिनैलाग्दा चमत्कारपूर्वक एक जना बटुवालाई तिनले त्यो बाटोमा देखे, र तिनको जीवन सकुशल उद्धार भयो । वास्तवमा परिवारप्रतिको तिनको प्रेमले गर्दा नै, जोखिमपूर्ण अवस्थामा रहेका तिनलाई र तिनको परिवारलाई बचाउन सकेको हो ।