उस्तै तापक्रम भए पनि

कुनै एक समयमा ताइवानमा शीतलहरका कारण अभूतपूर्व रूपमा जाडो भयो, जसले गर्दा धेरै मानिसहरूले हाइपोथर्मिया, हृदयघात र मस्तिष्क घातद्वारा आफ्नो ज्यान गुमाए । यति धेरै मानिसहरूले ज्यान गुमाउन पुगेको त्यो समयको चिसो कति थियो होला ? त्यो समयमा जाडोको सबैभन्दा चिसो दिनको तापक्रम भनेको ४℃ [३९℉] थियो । कोरियामा यतिको चिसोचाहिँ जाडोको प्रारम्भिक दिनहरूमा मात्र हुन्छ । ०℃भन्दा माथिको तापक्रममा मानिसहरूले ज्यान गुमाउँछन् भन्ने कुरा बुझ्न गाह्रो छ तर ताइवानको औसत तापक्रमलाई सोच्ने हो भने ४℃चाहिँ तिनीहरूको निम्ति एकदमै चिसो मौसम हो ।
ताइवानमा उपोष्णकटिबंधीय जलवायु भएकोले यहाँको वार्षिक औसत तापक्रम २०℃[68℉]भन्दा बढी हुन्छ । यो ठाउँमा हुने जाडोको तापमान १० देखि १५ डिग्री सेल्सियस हुन्छ र यहाँको तापमान १०℃[50℉]भन्दा तलचाहिँ बिरलै हुने गर्छ । त्यसैले कठ्याङ्ग्रिने चिसो महसुस नगरेका ताइवानीहरू चिसो मौसममा कमजोर हुन्छन् ।
उस्तै तापमान भए पनि जीवन बिताएको वातावरणअनुसार मानिसको अनुभवको स्तर फरक हुन्छ, योजस्तै उही अवस्था भए पनि मानिसको मनअनुसार त्यो व्यक्तिले महसुस गर्ने कुरा पनि फरक हुन्छ । जब हामी आफ्नो सोचाइको मापदण्डअनुसार अरूको मूल्याङ्कन नगरी उनीहरूको भावनालाई बुझ्ने प्रयास गर्छौं, तब मात्र हाम्रो व्यवहार र बोलीमा आत्मियता झल्किन सक्छ ।