सकारात्मक बोलीको बीउ
रोक्सान के. मिलर / न्यू विन्डसर, न्यूयोर्क, संयुक्त राज्य अमेरिका
खुशी परिवार आराधनापछि हामीले पारिवारिक प्रेम र सञ्चारभित्रको ‘खुशी डिजाइन गर्ने सकारात्मक बोली’ भन्ने शीर्षकको एउटा लेख पढ्यौं । बोलीको शक्तिबारे बोध गराउने त्यो लेख प्रेरणादायक थियो । सन् २०१६को रियो दे जेनेइरो ओलम्पिकमा “म गर्न सक्छु, म गर्न सक्छु” भन्दै एक जना कोरियाली तरवारबाजले आफ्नो विपक्षीलाई तरवारबाजीमा पराजित गरेका थिए । तिनी हार्न लागिसकेका थिए । जित्ने सम्भावना एकदमै कम थियो, तर अन्त्यमा तिनले बाजी पल्टाएर तरवारबाजमा जित हासिल गरेका थिए ।
त्यतिखेर मेरो ७ वर्षीय छोरालाई गणितको हिसाब गर्न एकदम गाह्रो भइरहेको थियो । यसकारण म र मेरा पतिले उसको शिक्षकसँग अक्सर कुराकानी गरिरहन्थ्यौं । छोराले त्यो समयमा सिकिरहेको गणित एकदमै महत्वपूर्ण छ भनेर शिक्षकले भन्नुभयो । शिक्षकको सल्लाहलाई गम्भीर रूपमा लिएर हामीले हरेक दिन उसलाई विद्यालयबाट आएपछि गणितीय हिसाबहरू गर्न सहयोग गऱ्यौं । उसलाई धेरै भार दियौं कि जस्तो लागेर हामीले सामान्य हिसाबहरू बुझाउनको निम्ति सामान र सिक्काहरू प्रयोग गर्दै फरक तरिका अपनायौं । टाउको निहुराउँदै घर फर्किने छोराको स्वरूप देखेर हाम्रो मन पनि भारी हुन्थ्यो ।
तर कुनै एक साँझमा हामीले छोरामा केही परिवर्तन आएको देख्यौं । छोराले मुस्कुराउँदै घर आएर आफ्नो झोलाबाट गणितीय हाजिरजवाफको प्राप्ताङ्क निकालेर देखायो । त्यसपछि उसको प्राप्ताङ्क बढ्दैगएर नियमित आधारमा १००% पुग्यो । शिक्षक-अभिभावक बैठकमा शिक्षकले उसको गणितमा व्यापक प्रगति भएको र ऊ कक्षामा पनि अझ ध्यान दिएर हरेक समय सकारात्मक रहने गरेको कुरा बताउनुभयो ।
के कुराले यसरी परिवर्तन ल्याएको होला ? एक दिन हामीले उसको हरेक गणितीय हाजिरीजवाफको प्राप्ताङ्क पेपरहरूमा लेखिएको एक वाक्य देख्यौं । उसले प्रत्येकमा “म गर्न सक्छु, म गर्न सक्छु र मैले गर्न सकें” भनेर लेखेको थियो । त्यसपछि हामीले पारिवारिक प्रेम र सञ्चार लेखले उसमा कति प्रभाव पारेको रहेछ भनी महसुस गऱ्यौं ।
खेल हार्नै लागेका तरवारबाजले सकारात्मक बोलीद्वारा जितेजस्तै, हामीले सकारात्मक बोलीको बीउद्वारा जुनसुकै कार्य पनि पूरा गर्न सक्छौं । स्वर्गीय पिता-माताले हामी सन्तानहरूलाई कहिल्यै निरुत्साहित तुल्याउनुहुन्न, तर हरेक कुरामा प्रेम, सान्त्वना र आशा दिनुहुँदै सकारात्मक बोलीद्वारा हौसला प्रदान गर्नुहुन्छ । म पनि छोराले झैँ सकारात्मक बोलीको बीउले सफलता हासिल गर्नको निम्ति यो कुरालाई आफू लगायत परिवार र वरिपरिका मानिसहरूमाझ लागू गर्नेछु । खुशी परिवार पुस्तकमार्फत हाम्रो परिवारलाई बुद्धि, खुशी र हर्ष प्रदान गर्नुभएका परमेश्वरलाई धन्यवाद चढाउँदछु ।