
मेरी हजुरआमा सधैँ मलाई थप केही दिन चाहनुहुन्छ । म प्राथमिक तहमा छँदा मैले परिश्रमसाथ पढाइ गरोस् भनेर उहाँले मलाई टेबिल किनिदिनुभयो, अनि माध्यमिक र उच्च माध्यमिक तहको लागि मलाई पोशाक किनिदिनुभयो । म कलेज विद्यार्थी भएर एकलै बस्दाखेरि उहाँले विभिन्न परिकारहरू बनाएर पठाइदिनुहुन्थ्यो । उहाँले मलाई केही कुरा चाहिएको छ कि भनेर सधैँ सोध्ने गर्नुहुन्छ ।
केही वर्षअघि छुसग भनिने कोरियाली राष्ट्रिय बिदाको समयमा मेरी हजुरआमाले मलाई जुत्ता उपहार दिनुभयो । उहाँले मेरी फुपू र बहिनीलाई, मलाई सुहाउने आधुनिक डिजाइनको जुत्ता छान्न लगाउनुभएको रहेछ । बिदा सकेर फर्किंदा मैले नआउनू भने पनि उहाँ मलाई बिदाइ गर्न मेरो पछि-पछि बसपार्कसम्मै आउनुभयो । उहाँको न्यानो प्रेमले भरिएर म बस चढें, तर खै किन हो, मन खिन्न भइरहेको थियो । त्यसको केहीबेरपछि हजुरआमाले किनिदिनुभएको जुत्ता कतै हराएको मैले चाल पाएँ ।
हजुरआमालाई त्यो कुरा बताउने हिम्मत ममा भएन । यसकारण फुपूलाई फोन गरेर मैले सबै कुरा बताएँ । उहाँ स्तब्ध हुनुभयो, अनि बसपार्कमा गएर खोजिदिनेछु भन्नुभयो । निश्चित गर्नको लागि मात्र भए पनि मैले बसपार्कमा फोन गरें, तर “कुनै जुत्ता फेला परेको छैन” भन्ने जवाफ आयो । गुडिरहेको बसभित्र म केही गर्न सक्दिनथें । मैले चिन्तित हुँदै खुट्टा बजारें । लगभग दुई घण्टापछि मेरी बहिनीको फोन आयो ।
“दिदी, तपाईं मोबाइलमा आएको सन्देश हेर्ने गर्नुहुन्न हो ? हजुरआमालाई छिटो फोन गरेर धन्यवाद भन्नुहोस् ।”
उनको कुरा सुनेर मैले मोबाइल सन्देश हेर्दा त, म जिल्ल परें । उनले सन्देशमा मेरो जुत्तासहित सपिङ झोलाको फोटो पठाएकी रहेछिन् । जुत्ता कसरी फिर्ता आयो भनेर मैले विश्वासै गर्न सकिनँ । कुरा बुझिहेर्दा, वास्तवमा जुत्ता हराएको खबर पाउनेबित्तिकै हजुरआमा बसपार्क फर्किनुभएको रहेछ, अनि मलाई खाजा किनिदिनुभएको पसलमा खोज्दा त्यो भेट्टाउनुभएको रहेछ ।
मेरो लापरवाहीले उहाँलाई अर्को चिन्ता दिएको कुराप्रति म क्षमाप्रार्थी हुँदै छटपटिएँ । मैले तुरुन्तै उहाँलाई फोन गरेर धन्यवाद दिँदै माफी पनि मागें । हजुरआमाले “म तिमीलाई आपूर्ति सेवामार्फत यो पठाइदिन्छु, जतन गरेर लगाउनू है !” भन्नुभयो । मैले अहिलेसम्म पाएको सबैभन्दा उत्कृष्ट उपहार नै मेरी हजुरआमाको प्रेम हो ।
मेरो लजालु स्वभावका कारण मैले हजुरआमालाई राम्ररी धन्यवाद भन्न सकेकी थिइनँ । मलाई लिने मात्र बानी परेकोले यसलाई सामान्य ठानेकी थिएँ, तर अब म उहाँबाट टाढा भए तापनि अरू कोहीभन्दा नजिक रहने नातिनी हुन चाहन्छु । उहाँले दिनुभएका उपहारहरूको तुलनामा अपुग नै हुने भए पनि म उहाँप्रति अझ धन्यवाद र प्रेम अभिव्यक्त गर्नेछु ।