उग्र बतासमा पनि नढल्ने बलियो घर बनाउने

घर निर्माणको लागि सामग्रीहरू आवश्यक पर्छ । प्रेम, भरोसा, आदर, वार्तालाप र धन्यवाद ! यी कुराहरू बलियो घर निर्माणको लागि चाहिने असल सामग्रीहरू हुन् ।

12,445 भ्यु

प्रेम र भरोसाद्वारा एकताबद्ध भएको परिवार, एउटै डोरीमा बाँधिएर निर्माण भएको घर । यस्तो घर जस्तोसुकै उग्र बतास चले पनि नडगमगिने बलियो घर हो ।

मनग्गे धन र सम्मानका साथ जिए तापनि यदि मायालु परिवार नै छैन भने त्यो धनको के अर्थ ? समाजमा जतिसुकै सफलता हासिल गरेको मानिस नै भए पनि यदि उसले आफ्नो परिवारको राम्रो हेरचाह गर्दैन अथवा परिवारमा मान्यता प्राप्त गरेको छैन भने उसले साँचो खुशी महसुस गर्न सक्नेछैन । तर ठीक विपरीत, संसारका मानिसहरू सबैबाट आलोचना पाए तापनि यदि उसलाई विश्वास गर्ने र प्रोत्साहन दिने उसको परिवार छ भने ऊ एक दिन निश्चित आफ्नो खुट्टामा उभिन सक्नेछ, किनभने उसको परिवारले उसलाई अति महत्त्वपूर्ण व्यक्तिको रूपमा समर्थन गर्छ ।

“परिवार खुशी भएमा सबै कुरा राम्रो हुन्छ” भन्ने एउटा कोरियाली प्राचीन भनाइ छ । यो भनाइ उहिलेको समयमा मात्र नभएर अहिले पनि लागू हुन्छ । प्रायः परिवारमा यो भनाइ एक आदर्श वाक्यको रूपमा प्रयोग गरिने भए तापनि वास्तवमा मिलापी र बलियो परिवार बनाउनलाई कसो गर्नुपर्छ भन्ने कुरा थाहा नहुने अवस्थाहरू धेरै हुन्छ । त्यसैले त परिवार भएर पनि मानिसहरूमा एकलोपना छाउँछ र कतिपय परिवारमा फूट भएर सदस्यहरू एक-अर्काबाट अलग भइरहेका हुन्छन् ।

दुई मुखे परिवार

कुनै कम्पनीले “परिवार भनेको … हो” भन्ने एउटा सार्वजनिक कार्यक्रम आयोजना गरेको थियो । १ लाखभन्दा बढीले यस कार्यक्रममा आफ्ना विचारहरू राखेका थिए । “परिवार भनेको हुरीबतास चल्दा लुगालाई च्याप्ने काँटा हो,” “परिवार भनेको खुशी थप्ने, दुःख घटाउने, भविष्यलाई गुणन गर्ने र कठिनाइलाई भाग गर्ने अङ्कगणितको मूल प्रक्रिया हो,” “परिवार भनेको खुम्चिएको कुरालाई सिधा बनाउने ईस्त्री हो,” “परिवार भनेको निराशाजनक जीवनको बाटोमा हिँड्दाखेरि समाउने गाडीको हेन्डल हो” जस्ता अनौठा प्रतिक्रियाहरू आए । परिवारको बारेमा धेरैजसोले आशा, प्रेम, खुशी र शक्तिजस्ता सकारात्मक सन्देश समाविष्ट उत्तरहरू दिए । गम्भीर पाप गरेर जेलमा परेका कैदीहरूले पनि हुर्कने क्रममा परिवारको प्रेम पर्याप्त नपाएको अवस्था धेरै हुन्छ । तैपनि प्रायः ‘परिवार’ भन्नेबित्तिकै न्यानो विश्रामस्थल दिमागमा पहिला आउने गरेको उनीहरू बताउँछन् ।

तर परिवार भन्नासाथ सधैँ आशा दिने, अनि सधैँ प्रेम र खुशीले भरिएकै हुन्छ भन्नचाहिँ मिल्दैन । बालबच्चा हुर्काउनेदेखि लिएर घरको सबै काम पत्नीलाई सुम्पेर केही सहयोग नगर्ने पति, जागिर गुमाएका पतिको आत्मविश्वासलाई तोड्ने पत्नी, छोरा-छोरीलाई आफ्नो निजी सामानजत्तिकै गरेर नियन्त्रणमा राख्ने बुबा-आमा, आफ्नो बुबा-आमालाई नगण्य सोच्ने छोरा-छोरी … कहिलेकहीँ परिवारमा एक-अर्काको भावनामा चोट पुऱ्याउने, हैरान पार्ने र गह्रौं बोझ बनिदिने अवस्था पनि हुन्छ ।

‘बरु परिवार नभएकै राम्रो’ भन्ने मानिसहरू पनि छन् । हिजोआज सानातिना कुरामा बिछोडिने परिवारहरू धेरै छन्, लघु-परिवारहरू पनि छुट्टिरहेको अवस्था छ । एकलै बसोबास गर्ने बुज्रुगहरू वा एकलै गृहस्थी चलाउनेहरूको सङ्ख्या तीव्र रूपले बढिरहेकोले धेरै असरहरू देखा परिरहेको छ ।

आशिष्‌बाट सुरु गरेको परिवार बिजोगले समाप्त हुनुको कारण के होला ? त्योचाहिँ मनमा आदर्श परिवारको सपना लिएको भए पनि प्रयत्नको कमीले गर्दा हो । प्रयत्नविना प्राप्त हुने कुरा केही पनि छैन । अझ महत्त्वपूर्ण कुराचाहिँ केवल एक जनाको त्याग वा प्रयत्नद्वारा केही गर्न सकिँदैन ।

बलियो घर निर्माण गर्ने सामग्रीहरू

१. जग : प्रेम

घर निर्माण गर्दाखेरि सबैभन्दा आधारभूत र महत्त्वपूर्ण कुरा नै जगको काम हो । जग बलियो छैन भने ठूलो प्रयत्नद्वारा निर्मित घर नै भए पनि सजिलै ढल्छ । स्थिर परिवार निर्माणका लागि सबैभन्दा आवश्यक आधारभूत तत्त्व भनेको प्रेम हो, प्रेमद्वारा बलियो गरी निर्माण भएको परिवार सजिलै ढल्दैन ।

यस्तो प्रेममा मूल्य वा शर्त हुँदैन । यदि तपाईं कसैलाई उसको विशिष्ट व्यवहार र उपलब्धिको कारण प्रेम गर्नुहुन्छ भने तपाईं ऊप्रतिको आफ्नो साँचो प्रेमलाई व्यक्त गर्न सक्नुहुन्न, अनि उसले शर्तहरू पूरा गर्न नसक्ने पो हो कि भनेर चिन्तित हुन पुग्नुहुनेछ । परिवारका प्रत्येक सदस्यहरूको अस्तित्वलाई विनाशर्त स्वीकार्दै, उनीहरू जस्तो छन् त्यस्तै स्वीकार्दै उनीहरूभित्र लुकेका प्रतिभाहरूलाई प्रकट गराउन सहयोग गरौं ।

२. स्तम्भ : भरोसा

स्तम्भले घरलाई थामेजस्तै परिवारलाई थाम्ने कुरा भनेको नै भरोसा हो । एक-अर्कामा भरोसा नगर्ने पति-पत्नी, भरोसा तोडिएका बुबा-आमा र छोरा-छोरीबीच प्रेम हुन सक्दैन । त्योचाहिँ उनीहरू कुनै कुरामा पनि एक-अर्कामा निर्भर हुन नसक्ने भएकाले हो । अरूले आफूलाई जस्तो भरोसा गरेको छ ऊसित त्यस्तै व्यवहार गर्ने गरिन्छ । काम राम्ररी अगि नबढ्दा अथवा गाह्रो अवस्थामा हुँदाखेरि अन्त्यसम्मै आफूमाथि भरोसा गर्ने परिवार साथमा छ भने त्योजस्तो ठूलो शक्ति अरू के नै हुन सक्छ र ?

भरोसा गर्नु महत्त्वपूर्ण छ, तर भरोसा दिलाउनु अझ महत्त्वपूर्ण छ । अरूप्रतिको आफ्नो मनोवृत्ति थुप्रिँदैजाने क्रममा अरूको भरोसा जित्न सकिन्छ । भरोसा दिलाउने निश्चित तरिका भनेको ‘बोलीलाई व्यवहारमा उतार्नु’ हो । यदि बोली र व्यवहार मिल्दैन भने परिवारलाई समेत भरोसा गर्न गाह्रो हुन्छ ।

३. ढोका : आदर

आदरचाहिँ घरको ढोकाजस्तै हो । ढोकाबाट घर भित्र-बाहिर आवतजावत गरिएजस्तै एक-अर्कासित भावनाहरू बाँड्न र एक-अर्कालाई बुझ्नको निम्ति परिवारका सदस्यहरूले एक-अर्कालाई आदर गर्न आवश्यक हुन्छ । अरूलाई आदर नगर्ने तर आफूले चाहेअनुसार अरूले व्यवहार गर्नुपर्छ भन्ने सोचाइ लिन्छौं भने हामीहरू अरूलाई नियन्त्रण गर्ने र अरूमाथि हैकम जमाउने प्रवृत्तिका बन्न पुग्छौं । अनि अरूले आफूलाई सन्तुष्ट पार्न नसक्दा ऊसित रिसाउन वा निराश हुन पुग्छौं । त्यसैले त कतिपय बुबा-आमाले निराश हुँदै छोरा-छोरीलाई “मैले तिमीलाई हुर्काउन कति परिश्रम गरेको छु, थाहा छ ?” भन्ने गर्छन्, अनि पति-पत्नीबीच “मैले उसलाई पालिरहेको छु” वा “उसले मलाई पालिरहेको छ” भन्ने जस्ता कुराहरूबाट कलह उत्पन्न हुने गर्छ ।

अरूको विचारलाई राम्ररी सुनिदिने र अरूले मूल्यवान् ठानेको कुरामा रुचि राखिदिने गर्नुभयो भने तपाईंले उसलाई आदर गर्नुहुन्छ भन्ने सन्देश स्पष्ट रूपमा प्रवाह हुनेछ ।

४. झ्याल : वार्तालाप

झ्यालविनाको घर कल्पना गरिहेर्नुहोस् त । कल्पना गर्दा पनि उकुसमुकुस हुँदैन र ? वार्तालापविनाको परिवारचाहिँ झ्यालविनाको घरजस्तै हो । बाहिरी संसारसँग वार्तालाप गर्नलाई झ्याल आवश्यक परेजस्तै परिवारका सदस्यहरूबीच पनि वार्तालाप अत्यावश्यक हुन्छ । वार्तालापको महत्त्वलाई जतिसुकै जोड दिए तापनि वार्तालापद्वारा समाधान नहुने त्यस्तो कुनै समस्या नै छैन । कसैले “परिवारसित वार्तालाप गर्नु भनेको अरू मानिसको ठाउँमा रहेर संसारलाई हेर्नु हो” भनेका छन् । अरू मानिसको ठाउँमा रहेर हेर्नुबाहेक अर्को कुनै राम्रो तरिका छैन भन्ने कुरा हो ।

टिभी र स्मार्टफोनचाहिँ परिवारबीचको वार्तालापलाई कटौती गर्ने सबैभन्दा ठूलो शत्रु हो । परिवारसँगै रहेर टिभी हेर्दा एकतामा रहन सकिन्छ भन्ने सोचाइ नै ठूलो भ्रम हो । अत्यावश्यक समयबाहेक टिभी हेर्न तथा स्मार्टफोन चलाउन कम गरेर परिवारतर्फ आफ्नो आँखा र कान लगाउने गरौं ।

५. छत : धन्यवाद

घरको माथिबाट हिउँ, झरी, घाम र बतासलाई छेकेर घरलाई आरामदायक बनाउने कुरा नै छत हो । जतिसुकै भव्य घर भए पनि यदि छत छैन भने राम्ररी जीवन बिताउन सकिँदैन । धन्यवादचाहिँ परिवारमा हुने सबै गल्तीहरूलाई ढाकछोप गरेर परिवारलाई अझ जीवन्त बनाउने छत हो । खुशी परिवारमा एक-अर्काप्रति धन्यवादी मन अथवा धन्यवादको अभिव्यक्ति अधिक मात्रामा हुन्छ । तर ठीक विपरीत, सधैँ असन्तुष्टि र गुनासोले भरिएको घरचाहिँ पानी चुहिने र हुरी चल्ने छतविनाको घरजस्तै हो, कठिनाइलाई रोक्न नसकी त्यो चाँडै नै तहसनहस हुनेछ ।

शेक्सपियरले “हिउँदको उग्र हिमआँधीसमेत, धन्यवादविनाको मानिसको मनभन्दा चिसो हुँदैन” भनेका छन् । निरन्तर धन्यवादले भरिएको न्यानो परिवार वास्तवमै बलियो र स्वस्थ परिवार हो ।

बलियो घरको साँचो मूल्य प्रमाणित हुँदा

समस्या नभएको परिवार संसारमा एउटा पनि छैन । परिवारजनको सङ्ख्या थोरै हुँदैमा चिन्ता र द्वन्द्व पनि कम हुने होइन । महत्त्वपूर्णचाहिँ त्यसलाई कसरी पार गर्ने भन्ने कुरा हो । दुर्भाग्यपूर्ण र गाह्रो अवस्था आइपर्दा डगमगाउने परिवार हुन्छ भने जस्तोसुकै कठिनाइ आइपर्दा पनि खुशीसाथ त्यसलाई पार गर्ने परिवार पनि हुन्छ । परिवार हुनु मात्र पनि कति खुशीको कुरा हो भन्ने यथार्थतालाई महसुस गरेर सँगै कार्य गऱ्यो भने सङ्कटबाट बुद्धिमानीपूर्वक पार हुन सकिन्छ, अनि अझ यो नै खुशी परिवार निर्माण गर्ने महत्त्वपूर्ण मोड पनि बन्न सक्छ ।

उग्र बतास चल्दा बलियो घरको साँचो मूल्य प्रमाणित भएजस्तै, बलियो परिवारको साँचो मूल्य पनि कठिनाइमा प्रमाणित हुन्छ । परिवारजनबीच द्वन्द्व र समस्याको सामना गर्नुपर्दा चिन्तित वा निराश नहोऔं । योचाहिँ परिवारलाई अझ प्रेम र हेरचाह गर्न सक्ने अवसर हो ।

एक जना बुबा, हलचल गर्न र बोल्न नसक्ने आफ्नो छोराको ‘दौडिने’ सपना साकार गर्नको निम्ति छोरालाई साथमा लिएर ट्रायथलन खेलमा उत्रिएका थिए । ती बुबा, छोरालाई राखिएको राफ्टिङ डुङ्गा तान्दै ३.९ कि.मि पौडेर, १८० कि.मि. साइकल यात्रा गरेर, ४२.१९५ कि.मि.को म्याराथन पूरै दौडिएका थिए । त्यो पनि एक पटक नभएर ६ पटक । छोराले “बुबाविना मैले यो कदापि गर्न सक्नेथिइनँ” भन्दाखेरि बुबाले छोरालाई “छोरा, तिमी नभएको भए मैले पनि यो गर्न सक्नेथिइनँ” भनेका थिए ।

यो कुराद्वारा परिवारको शक्ति कति महान् छ भन्ने बुझ्न सकिन्छ । योहान वुल्फ्गाङ भोन ग्वेथेले “चाहे राजा होस् अथवा किसान, परिवारमा खुशी र शान्ति खोज्ने मानिस नै सबैभन्दा खुशी मानिस हो” भनेका छन् । परिवारका सबै सदस्यहरू एकजुट भएर असल सामग्रीद्वारा उग्र बतासमा पनि नहल्लिने बलियो घर निर्माण गरौं । तब मात्र त्यहाँ खुशीको फूल फुल्नेछ ।