
मट्टितेलका राजा भनेर बोलाइने विश्वविख्यात व्यापारी जोन रकफेलरले एक दिन जोडको झट्का दिने खबर सुने । त्यो नै उनी एक वर्षभन्दा बढी बाँच्न नसक्ने खबर थियो ।
रेकफेलरले अस्पतालमा अब आफ्नो बाँकी जीवन कसरी सफलतापूर्वक जिउने होला भनेर सोचिरहँदा अस्पतालको कुनाबाट गाइँगुइँ गरेको आवाज सुने । त्यो गाइँगुइँ अस्पतालको अधिकारी र एक जना आमाबीच भएको बहस थियो । अधिकारीले उक्त महिलालाई शुल्क नतिरीकन कसैलाई भर्ना गर्न नमिल्ने कुरा जानकारी दिइरहेका थिए भने उक्त महिलाले चाहिँ केही बेरमै रकम तयार गर्ने कुरा बताउँदै उसको बच्चालाई भर्ना गरिदिन कर गरिन् । उनीहरूको छेउमा बिरामी बच्चा आँसु बरर झार्दै रोएर बसिरहेको थियो । रकफेलरले तुरुन्तै आफ्नो सचिवलाई बोलाएर त्यो बच्चाको भर्ना शुल्क तिर्न लगाए । केही समयपछि रकफेलरले त्यो बच्चा अस्पतालमा राम्ररी निको भएको देखेर आफूले पहिला कहिल्यै अनुभव नगरेको एकदमै ठूलो खुशी महसुस गरे ।
त्यसपछि, रकफेलरले थुप्रै अनाथालय र पुस्तकालयहरू स्थापना गरे अनि अशक्त र गरीब मानिसहरूलाई मद्दत गर्दै दिने र बाँड्ने जीवन जिउन थाले । त्यसपछि चमत्कारपूर्ण ढङ्गले उनको रोग निको भयो । अन्तत: उनी अनुमान गरिएको भन्दा ४३ वर्ष बढी अर्थात् ९८ वर्षसम्म बाँचे र आखिरी घडीमा तिनले यसो भने,
“जीवन यति खुशी हुन सक्छ भनेर मलाई थाहा थिएन । मैले ५५ वर्ष व्यस्त जीवन बिताए पनि मेरो ४३ वर्ष सुखद् रह्यो ।”