मेरो ८ वर्षीय जेठो छोरा सजिलै डराउँछ । राती शौचालय जाँदा होस् अथवा पानी पिउन जाँदा, ऊ सधैँ मलाई या त बुबालाई उठाउने गर्छ । तर एक दिन ऊ प्रभातमा उठेर एकलै शौचालय गयो । कसरी एकलै जान सकेको होला भनेर छक्क पर्दै मैले कान ठाडो पारेर ऊ शौचालयतिर हिँडेको पाइलाको आवाज सुनें । एकछिनपछि उसले शौचालयको ढोका बन्द गऱ्यो ।
‘हँ ? छोरा होइन र ?’
अलमलिँदै म उठें, अनि बैठक कोठामा गएर पर्खिएँ । शौचालयको ढोका खोलेर बाहिर निस्केको व्यक्ति त मेरै जेठो छोरा थियो ।
“बाबु, शौचालयको ढोका किन लगाएको ? डर लागेन ?”
“पानी फ्लस गरेको आवाजले अरूलाई ब्यूँझाउँछ कि भनेर ।”

उसको कुराले मेरो मन छोयो । मैले उसलाई अँगालो हालें, अनि अरूप्रति विचारशील भइदिएको मन देखेर म ज्यादै प्रभावित भएँ भनेर उसको कानमा खुसुक्क भनें ।
एक दिन साँझमा खाना खाइसकेपछि म भान्सा सफा गर्दैथिएँ । मैले काम नसिद्ध्याउञ्जेल सदाझैँ मेरो कान्छो छोराले मलाई कुरिरहेको थियो । मेरो ५ वर्षीय कान्छो छोराचाहिँ मैले काम सिद्ध्याएपछि मसँगै सुत्ने गर्छ । त्यस दिन सायद धेरै थकाइ लागेकोले होला उसले मलाई “आमा, यति गरेपछि सुत्न जाने है ?” भनेर बारम्बार भन्यो । त्यसैले मैले उसलाई, तिमीलाई निद्रा लागेको हो भने पहिला गएर सुत भनें । तर उसले अन्तिमसम्म पर्खन्छु भन्यो । धेरै लामो समय पर्खेकोले दिक्क मान्दै ऊ मकहाँ नै आयो ।
“आमा, धेरै थकाइ लाग्यो होला । तपाईंलाई सघाउने एउटा मेसिन भए नि हुन्थ्यो । अनि म पनि तपाईंसँगै चाँडै सुत्न पाउनेथिएँ … ।”
उसको कल्पना सुन्दर थियो, अनि घरायसी कामले आमा थाक्नुभयो होला भनेर सोचिदिएकोमा मलाई ऊप्रति गर्व लाग्यो ।
परिवारप्रति विचारशील हुने मेरो जेठो छोरा, अनि आमाको कष्टलाई बुझिदिने मेरो कान्छो छोरा । यसरी अरूको निम्ति सोचिदिने मन कति सुन्दर हुँदोरहेछ भन्ने कुरा मैले छोराहरूबाट जान्न पाएँ । अब म पनि अरूप्रति विचारशील हुन जान्ने सुन्दर मन लिनेछु, अनि हृदयस्पर्शी बोलीद्वारा अरूलाई प्रभावित तुल्याउनेछु ।