“खाली खुट्टा जमिनमा हिँड्ने, सूर्यास्तलाई शान्त रूपले हेर्ने, वनको रूखलाई अँगालेर कुराकानी गर्ने, वन्य फूलकै उचाइमा निहुरेर त्यससँग कुराकानी गर्ने, आफ्नो बाथरुम र शौचालय सफा गर्ने, वर्षालाई महसुस गर्न त्यसमा भिज्ने र आफ्नो वरिपरिका सुक्खा चीजहरूको अवलोकन गर्ने, आफैले खाना पकाएर परिवारका लागि भान्सा तयारी गर्ने, बुबा-आमाको कार्यक्षेत्रको भ्रमण गर्ने, परिवारसँगै बल्सम फूलहरूले नङ रङ्ग्याउने, बाहिर क्याम्प गर्दा पाल टाँगेर सुत्ने, आफ्नो साथी अथवा शिक्षकलाई पत्र लेख्ने … ।”
यीचाहिँ कोरियाको गाङवन प्रान्तको माध्यमिक विद्यालयका छात्रहरूलाई कुनै शिक्षकले वसन्त बिदामा दिएका गृहकार्यहरू हुन् । गृहकार्यको कुरा उठ्दा हामीहरू दैनिकी लेख्ने, किताबी रिपोर्ट लेख्ने, कलाकृति सिर्जना गर्ने इत्यादि कुराहरूलाई याद गर्न पुग्छौं । त्यसैले माथि उल्लेखित गृहकार्यहरू एकदम आविष्कारक र रोचक छन् । शिक्षकले भावनाको कमी भएका छात्रहरूलाई भावनात्मक बनाउन आवश्यक रहेको कुरा बताए । तिनको त्यो टिप्पणीमा विद्यार्थीहरूप्रतिको गहिरो प्रेम झल्किएको देख्न सकिन्छ । कतिपय अवस्थामा बिदाको गृहकार्यलाई पढाइको अङ्कको रूपमा गाभिने हुनाले अरू कसैले सट्टामा त्यो गृहकार्य गरिदिने पनि हुन्छन् । तर माथि भनिएको गृहकार्यचाहिँ अरू कसैले सट्टामा गरिदिन सक्दैन ।
बिदाको समयमा पढाइमा कडा मेहनत गर्ने विद्यार्थीहरू पनि हुन्छन् । यदि उनीहरूले प्रकृति र परिवारको साथमा आफ्नो समय व्यतीत गरे भने उनीहरूको बिदा अझ अर्थपूर्ण र फलदायक हुनेछ । यहाँहरूले पनि परिवारसँगै यो भावनात्मक गृहकार्य एक चोटि गरिहेर्नुहुन्छ कि ?