संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना

12,393 भ्यु
본문 읽기 4:41
현재 언어는 음성 재생을 지원하지 않습니다.

आमाहरूको एउटा समूह आफ्ना हुर्किएका छोरा-छोरीहरूलाई भेट्न १० घण्टाभन्दा बढीको उडान भरेर टाढाको देशमा पुगे । आमाहरूले आफ्ना छोरा-छोरीले सानो छँदा घरमा प्रयोग गर्ने गरेका चम्चा, कप र कचौराहरू पनि साथमै लिएर गए । ती आमाहरूले छोरा-छोरी बस्ने गरेको त्यस विदेशी भूमिमा गोप्य रूपमा खाद्यान्न किनमेल गरे र उनीहरूको मनपर्ने परिकारहरू पकाए । के भइरहेको छ भन्ने कुराबाट अनविज्ञ, ती छोरा-छोरीहरू टेलिभिजन निर्माताहरूको निर्देशनमा आफ्ना आमाहरूले बनाएका परिकारहरू अगाडि राखेर टेबिलमा बसे । केही छोरा-छोरीले ती परिचित खानेकुराहरूको तस्विर खिचे र स्वाद लिँदै बिस्तारै खाए । त्यसपछि, अचानक एप्रन लगाएर खाना पस्कँदै गरेका आमाहरू देख्दा उनीहरू धुरुधुरु रोए ।

यो ‘संसारकै सबैभन्दा उत्कृष्ट खाना, आमाले बनाउनुभएको खाना’ शीर्षकको एउटा विज्ञापन भिडियो हो, जसले साधारण मानिसहरूको साँचो कहानीलाई प्रस्तुत गरेको छ । यसले अत्यधिक भ्युज पाइरहेको छ र हेर्ने सबैका आँखा रसाएका छन् । अर्को देशमा बसोबास गरिरहेका छोरा-छोरीहरू भन्छन् कि, जब उनीहरूले अरू परिवारहरू सँगै बसेर खाएको देख्छन्, तब उनीहरूले आफ्नो परिवारलाई सबैभन्दा बढी सम्झिन्छन् । अनि स्वदेशमै बसिरहेका आमाहरू भन्छन् कि, जब उनीहरू आफ्ना छोरा-छोरीको मनपर्ने खाना खान्छन्, तब उनीहरूले आफ्नो सन्तानलाई सबैभन्दा बढी सम्झिन्छन् ।

हामी हरेक दिन घरमा खाना खान्छौं । आमाले हाम्रो लागि सधैँ खाना तयार गरिदिने भएकोले, हामी यसलाई सामान्य रूपमा लिन्छौं र यो कुरा कति अनमोल छ भन्ने कुरा बिर्सन्छौं । वास्तवमा, आमाले पकाउनुभएको त्यही खानाले नै हामीलाई आजको अवस्थासम्म पुऱ्याएको हो ।