तपाईं के हस्तान्तरण गर्नुहुन्छ ?

बच्चाहरू आफ्नो बुबा-आमाजस्तै देखिन्छन् । आफ्नो बच्चाहरूलाई हस्तान्तरण गर्न सकिने सबैभन्दा उत्तम कुरा भनेकै आफ्नो पारिवारिक संस्कार हो ।

11,488 भ्यु

“स्याउ रुखभन्दा टाढा खस्दैन” भन्ने भनाइजस्तै छोरा-छोरीको स्वरूप, बुद्धि र शारीरको बनावट सबै बुबा-आमाजस्तो हुनुको कारणचाहिँ, उनीहरूले आफ्नो बुबा-आमाको जैविक जीन, DNA विरासतको रूपमा पाएकोले गर्दा हो । बुबा-आमाजस्तै देखिने बच्चालाई मानिसहरूले बुबा-आमाको सानो स्वरूप वा प्रतिलिपि भन्ने गर्छन् ।

सबै बुबा-आमाले आफ्नो बच्चाहरूलाई राम्रो कुरा हस्तान्तरण गर्न चाहन्छन् । एउटी गर्भवती स्त्रीले शान्त सङ्गीतहरू सुन्छिन्, भावनात्मक स्थिरता दिने आदतहरूमा रमाउन सिक्छिन्, अनि मातृ शिक्षाद्वारा आफ्नो सन्तानलाई राम्रो कुरा दिनको लागि स्वस्थकर खाना खान्छिन् । तर सन्तानमा हस्तान्तरण हुने DNA भन्दा अझ बढी प्रभाव पार्ने पक्षहरू पनि छन् ।

जानमा होस् या अजानमा, बच्चाहरूले आफ्ना बुबा-आमाको मूल्यमान्यता, आत्मसम्मान, भाषा, खानपान, सन्तानोचित कर्तव्य र खुसीलाई समेत अनुशरण गरिरहेका हुन्छन् । असल आदत मात्र होइनकि, खराब आदत पनि हस्तान्तरण हुन्छ । छोरा-छोरीले समस्या सृजना गर्दा वा कुनै पत्यार नगाल्ने काम गर्दा, कहिलेकहीँ बुबा-आमाले आफ्नो छोरा-छोरी आफूसँग मिल्छ भन्ने कुरा स्वीकार गर्न खोज्दैनन् । तर बच्चाहरूको बोल्ने शैली र व्यवहार आफूसँग मिलेको देखेर उनीहरू आत्मग्लानि महसुस गर्छन् ।

यदि तपाईं आफ्नो बच्चाहरूले असल कुराहरू सिकोस्, सकारात्मक र सही मूल्यमान्यताका साथ बुद्धिमानीपूर्वक जीवनमा आउने सबै कठिनाहरू पार गरोस् भन्ने चाहनुहुन्छ भने, बुबा-आमाले आफ्नो बच्चाहरूमा यस्तै उर्जा हस्तान्तरण गर्नुपर्छ । मानिसले जे रोप्छ, त्यसैको कटनी गर्छ । प्रकृतिको यो सिद्धान्त बच्चाहरू हुर्काउने कुरामा पनि लागू हुन्छ ।

महान् पारिवारिक संस्कार, सर्वोत्तम विरासत

विरासत भन्नेबित्तिकै प्रायः मानिसहरूले भौतिक सम्पत्तिको अङ्शवण्डा भनेर सोच्ने गर्छन् । बुबा-आमाले आफ्नो सन्तानलाई सकेसम्म धेरै सम्पत्ति छोडेर जान चाहन्छन्, र उनीहरूले धनाढ्य जीवन बिताएको हेर्न चाहन्छन् । तर महत्त्वपूर्ण कुराचाहिँ त्यो सम्पत्तिले तपाईंको सन्तानको जीवनमा खुसी ल्याउँछ कि दुःख निम्त्याउँछ भनेर सोच्नु हो । अमेरिकी रेल उद्योगको नेतृत्व गर्ने भ्यान्डरबिल्ट परिवारको तेस्रो पुस्तामा जन्मिएका विलियम किसम भ्यान्डरबिल्ट(William Kissam Vanderbilt)ले यसो भनेका थिए, “मसँग धेरै पैसा भएकाले, मैले कहिल्यै पनि धेरै परिश्रम गर्नु परेन । विरासतमा पाएको सम्पत्ति वास्तवमा खुसीको लागि एउटा अवरोध थियो ।”

विगतमा होस् वा वर्तमानमा, भौतिक सम्पत्तिको विरासतले बच्चालाई फाइदा भन्दा बढी हानि पुर्‍याएका उदाहरणहरू धेरै छन् । ती उदाहरणहरूबाट सिकेका धनाढ्य मानिसहरूले आफ्नो अधिकांश सम्पत्ति समाजमा दान गर्ने र थोरै मात्र छोरा-छोरीलाई हस्तान्तरण गर्ने कुरा बताउँछन् । आफ्नो छोरा-छोरीलाई जुनसुकै कुरा हस्तान्तरण गरे पनि, सुरुमा उनीहरूलाई हस्तान्तरण गरिने कुराहरू राम्ररी सम्हाल्ने गराउनका लागि बुद्धि र सीपहरू सिकाउनुपर्छ । आफ्नो सन्तानलाई सुन, चाँदी र खजाना नै हस्तान्तरण गरे पनि यदि उनीहरूलाई सही शिक्षा र संस्कार दिएको छैन भने त्यो सम्पत्ति केवल ढुङ्गाको टुक्रा मात्र हुनेछ ।

प्रभावकारी बाल शिक्षाको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको स्वस्थ पारिवारिक संस्कार हो । किनभने पारिवारिक संस्कारले बच्चाहरूमा गहिरो प्रभाव पार्दछ ।

बुबा-आमाको जीवनशैलीलाई बच्चाहरूले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा पछ्याउँछन्, वास्तवमा यो नै पारिवारिक संस्कार हो । स्वस्थ पारिवारिक संस्कार निर्माण भएको घरमा छोरा-छोरीको रचनात्मक क्षमता मात्र वृद्धि हुने होइनकि, परिवारमा समानुभूतिको भाव पनि प्रवल हुन्छ । यसले परिवारमा हुने कलह र कष्टलाई बुद्धिमानीपूर्वक सामना गर्न मद्दत गर्दछ । बुबा-आमाले आफ्नै सिद्धान्तहरू अपनाएर छोरा-छोरीसँग मिलेर राम्रो पारिवारिक संस्कार निर्माण गरे भने, जुनसुकै घर पनि एउटा प्रतिष्ठित परिवार बन्न सक्छ । यो नै आफ्नो छोरा-छोरीलाई हस्तान्तरण गर्न सकिने उत्तम विरासत हो ।

उत्कृष्ट परिवारमा जन्मेका मानिस

कोरियाको जोसन राजवंशको समयमा, घरायसी कामलााई स्त्रीले गर्न सक्ने एकमात्र काम हो भनेर सोच्ने गरिन्थ्यो । सिन साइमदाङले त्यो समयका सबै सीमाहरूलाई तोड्दै एक महान् चित्रकारको रूपमा इतिहासमा आफ्नो नाम लेखाइन् । सिन साइमदाङको प्रतिभालाई स्वीकार्ने उनको पारिवारिक संस्कारले गर्दा, उनले स्वतन्त्र रूपमा जीवन बिताउन सकिन् । उनको कलात्मक प्रतिभालाई बुझेका उनका हजुरबुबाले “महिलाहरूले पनि सिक्न सक्छन्” भन्ने उदार विचारका साथ उनलाई लेख्न र चित्र कोर्न सिकाए । साथै, उनका बुबाले पनि आफ्ना चिनेजानेकाहरूबाट राम्रा चित्रहरू मागेर उनलाई देखाए र कलामा सक्रिय रूपमा अघि बढ्नका लागि प्रोत्साहन गरे । त्यो समयको दुर्लभ पारिवारिक संस्कारमा परिवारबाट प्रचुर प्रेम र सहयोग पाएकी सिन साइमदाङले आफ्ना छोरा-छोरीलाई पनि उत्कृष्ट रूपमा हुर्काइन् ।

क्युरी परिवारको दुई पुस्ताले तीन पटकसम्म नोबेल पुरस्कार जितेर इतिहास रचे, र चार पुस्तासम्म वैज्ञानिकहरू जन्माएर कीर्तिमान राखे । क्युरीले आफ्ना पति पियरे क्युरीसँगै सन् १९०३मा नोबेल पुरस्कार जितिन्, र सन् १९११मा रसायनशास्त्रमा उनी एकलैले नोबेल पुरस्कार जितिन् । क्युरी दम्पतीको त्यो जोस र प्रयत्न उनीहरूको छोरा-छोरीहरूमा पनि हस्तान्तरण भयो । अनि बुबा-आमाको प्रभावमा जेठी छोरी इरेनले सन् १९३५मा आफ्ना पतिसँगै रसायनशास्त्रमा नोबेल पुरस्कार जितिन् । इरेनकी छोरी हेलेन र छोरा पियरे वैज्ञानिक थिए । अनि हेलेनका छोरा पनि वैज्ञानिक थिए । क्युरी परिवारको उत्कृष्ट उपलब्धि हासल गर्न सक्ने क्षमताको पछाडि आनुवंशिक पक्षहरूभन्दा पारिवारिक संस्कारको ठूलो प्रभाव थियो । योचाहिँ प्रसिद्धि वा उपलब्धिमा नभई मानवताको लागि योगदान दिने क्युरीको निस्वार्थ उत्साह, वैज्ञानिक अनुसन्धान गर्ने उनको साँचो लक्ष्य, र पारिवारिक प्रेमलाई केन्द्रमा राखेर एक-अर्काको उन्नतिका लागि गरिएको सहयोगको परिणाम थियो भन्दा अतिशयोक्ति नहोला ।

१९ वर्षको उमेरमा माइक्रोसफ्ट कम्पनी स्थापना गरेर ३९ वर्षको उमेरमा विश्वकै धनी व्यक्ति बनेका बिल गेट्सले आफ्नो ९९% सम्पत्ति समाजलाई फिर्ता गर्न विश्वव्यापी रूपमा परोपकारी कार्यहरू सञ्चालन गरिरहेका छन् । उनको उच्च ओहोदाको उत्तरदायित्व (उच्च सामाजिक स्तरअनुसारको नैतिक जिम्मेवारी)लाई व्यवहारमा उतार्न उनका आमा-बाबुको ठूलो प्रभाव थियो । वकिल रहेका उनका बुबा र गैर-नाफामूलक संस्थाकी निर्देशक रहेकी उनकी आमाले सम्पन्न वातावरणमा भए पनि अरूलाई मद्दत गर्दै दयालु जीवन बिताउनुपर्छ भनेर सिकाए । बिल गेट्सका बुबा-आमाले उनलाई पाकेटखर्च दिँदैपिच्छे दानको कुरा गर्थे । “हुर्कने क्रममा सबै कुरा प्राप्त भयो भने, आफूमा नयाँ कुराहरू खोज्ने दृढ इच्छाशक्ति विकास हुँदैन ।” बिल गेट्सका बुबाको यस्तो शिक्षाले तिनमा गहिरो प्रभाव पाऱ्यो । यसकारण आफ्ना छोरा-छोरीले पनि जीवनमा नयाँ उपलब्धिहरू पाऊन् भनेर उनीहरूलाई विरासत स्वरूप न्यूनतम सम्पत्ति दिने कुरा तिनले बताए ।

पारिवारिक संस्कारले परिवारलाई एकताबद्ध गराउँछ, र अदृश्य मानसिक शक्तिले गर्वको अनुभूति गराउँछ । सामान्यतया एक महान् व्यक्तिको पछाडि महान् पारिवारिक संस्कारको हात हुन्छ ।

खुसी पारिवारिक संस्कृतिको निर्माण

आँखाको एक निमिषमै दिन, हप्ता र महिना बितेर जाने यो व्यस्त युगमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने वा परिवारको घनिष्ठ प्रेम महसुस गर्ने समय मिलाउनु गाह्रो हुन्छ । छोरा-छोरी हुर्कंदै जाँदा यो दूरी झन्-झन् बढ्दै जान्छ । धेरै परिवारहरूले आफ्नो बहुमूल्य समय केवल टिभी हेरेर बिताउँछन् । यो यथार्थता भएकोले, एक निरन्तर र स्पष्ट पारिवारिक संस्कृति एकदमै आवश्यक छ ।

पारिवारिक संस्कृति निर्माणको सुरुवातचाहिँ घरको मुख्य स्तम्भको रूपमा रहेको दम्पतीले एउटा आदर्श परिवार बनाउन के गर्नुपर्छ भनेर सँगै विचार विमर्श गर्दा निर्माण हुन्छ । फरक व्यक्तित्व भएका आमा-बुबा, फरक दाजुभाइ-दिदीबहिनीको सम्बन्ध र फरक पारिवारिक नियमहरू भएका फरक-फरक परिवारमा हुर्केका दम्पतीका लागि नयाँ संस्कार निर्माण गर्नु सहज छैन । तर, एक बुद्धिमान् जोडीले “मेरो परिवारमा त यस्तै हुन्थ्यो” भन्दै आफू हुर्केको संस्कारमा मात्र अढिग रहनु हुँदैन । बरु, आफ्नो जन्मघरका राम्रा कुराहरूलाई अँगाल्दै नराम्रा वा अनावश्यक कुराहरूलाई त्यागेर अघि बढ्नुपर्छ ।

पारिवारिक संस्कृति भव्य हुनुपर्दैन । हप्तामा एक पटक पारिवारिक बैठक बस्नु, आइतबार सबै मिलेर बेलुकाको खाना खानु, सँगै व्यायाम गर्नु, खाना पकाउनु, डायरी लेख्नु, स्वयंसेवा गर्नु, वा सुत्नुअघि कुराकानी गर्नु जस्ता कुराहरू सामान्य देखिन सक्छन्, तर यिनैले एउटा राम्रो पारिवारिक संस्कृति निर्माण गर्न सक्छन् । पहिला सबैलाई अभिवादन गर्ने, सबैजना भेला भई खाना खाने, र परिवारको सदस्य घरभित्र आउँदा वा बाहिर जाँदा ढोकामै बसेर बिदाइ र स्वागत गर्ने जस्ता शिष्टाचारहरू पनि बहुमूल्य संस्कृति हुन् ।

प्रायः सञ्चार माध्यमहरूमा चर्चा गरिने प्रतिष्ठित परिवारहरूको पारिवारिक संस्कृति पनि कुनै विशेष वा धेरै ठूलो खालको हुँदैन । उनीहरूको परिवारमा बुबा-आमाले छोरा-छोरीलाई पढ भन्नुको सट्टा आफै पहिला पढेर उदाहरण देखाउँछन्, उमेर ढल्किँदै गए पनि नयाँ कुराहरू सिक्ने चुनौती लिन्छन्, र आफ्ना छोरा-छोरीका कुराहरू ध्यान दिएर सुन्छन् ।

मुख्य कुरा भनेको बुबा-आमाले दृढ विश्वासका साथ निरन्तर रूपमा असल बानीहरू प्रदर्शन गर्नु हो । पारिवारिक संस्कारचाहिँ रातारात बन्दैन । दम्पतीको उत्साहजनक प्रयासले छोरा-छोरीको सहभागितालाई प्रोत्साहन दिन्छ, र यस्तो हुँदैजाँदा, पारिवारिक संस्कृति र संस्कार बन्छ ।

मूर्त सम्पत्ति खेर जान सक्छ, तर अमूर्त सम्पत्ति कहिल्यै खेर जाँदैन । गाँस, बास र कपास मात्र सबै थोक नभएकोले अमृत सम्पत्तिको विषयमा पनि गम्भीरतापूर्वक सोच्नु जरुरी छ । यहाँहरू आफ्नो छोरा-छोरालाई कस्तो पारिवारिक संस्कार हस्तान्तरण गर्न चाहनुहुन्छ ? बुबा-आमाले आफ्नो छोरा-छोरीलई के हस्तान्तरण गर्छन् भन्ने कुराले उनीहरूको जीवनमा १८० डिग्रीको परिवर्तन ल्याउन सक्छ ।