सानो कार्यद्वारा थुपार्न सकिने आत्मिक आशिष्‌

10,545 भ्यु

सानो कुरामा समेत विश्वासी हुनुचाहिँ आत्मिक आशिष् थुपार्न सकिने एक सर्वोत्तम तरिका हो । आत्मिक आशिष्‌ कसरी थुपार्न सकिन्छ भन्ने कुराको असल उदाहरण मत्ती अध्याय २५ मा देख्न सकिन्छ ।

“किनकि योचाहिँ कुनै मानिसजस्तो हो, जसले परदेश जाँदा आफ्ना नोकरहरूलाई बोलाई … तिनले हरेकलाई तिनीहरूका आ–आफ्नो योग्यताअनुसार एउटालाई पाँच सुनका सिक्का, एउटालाई दुई र अर्कोलाई एक दिएर तिनी गइहाले । तब पाँच सुनको सिक्का पाउनेले तुरुन्तै गएर त्यो व्यापारमा लगाईकन अरू पाँच सिक्का कमायो । त्यसरी नै दुई सिक्का पाउनेले पनि अरू दुई कमायो । तर एक सिक्का पाउनेले चाहिँ गएर भुइँ खनेर आफ्ना मालिकको धन लुकाइराख्यो । धेरै दिनपछि ती नोकरहरूका मालिक आए, र तिनले तिनीहरूसँग हिसाब मागे । तब पाँच सुनका सिक्का पाउने नोकरले अरू पाँच सिक्का ल्याई अगाडि आएर यसो भन्यो, ‘हजुर, … हेर्नुहोस्, मैले अरू पाँच सिक्का कमाएको छु ।’ मालिकले त्यसलाई भने, ‘स्याबास्, … दुई सिक्का पाउनेले पनि आएर … त्यसका मालिकले त्यसलाई भने, ‘स्याबास्, असल र विश्वासी नोकर ! तँ थोरै कुरामा विश्वासी भइस्, अब म तँलाई धेरै कुराको जिम्मा दिनेछु । तँ आफ्ना मालिकको खुशीमा सहभागी हो ।’ ” मत्ती २५:१४-२३

परमेश्वरले दिनुभएको सिक्कालाई लगनशीलताका साथ लगानी गर्दै, अझ धेरै सिक्का कमाउनु नै स्वर्गमा प्रशस्त आशिष्‌ थुपार्न सकिने तरिका हो । आत्माको मुक्तिको मिसन पूरा गरेका सन्तानहरूलाई परमेश्वरले “धेरैलाई धार्मिकतामा डोऱ्याउनेहरूचाहिँ ताराहरूजस्तै सदासर्वदा चम्किरहनेछन्” भन्नुहुँदै स्वर्गीय अनन्त आशिष्‌को प्रतिज्ञा गर्नुभयो(दान १२:१–३) ।

सबै जातिलाई सुसमाचार प्रचार भएपछि, परमेश्वरले तिनीहरूलाई आफ्नो सामु भेला गर्नुभएर उहाँको धार्मिकताअनुसार तिनीहरूको इन्साफ गर्नुहुनेछ भनिएको छ । ती मानिसहरूलाई इन्साफ गर्नुहुने त्यो दृश्य उहाँले हामीलाई अघिबाटै देखाइदिनुभएर पवित्र आत्माको इच्छाअनुसार चल्न के गर्नुपर्छ भन्ने कुरा सिकाउनुभएको छ ।

“जब मानिसको पुत्र सारा स्वर्गदूतहरूसँग आफ्नो महिमामा आउनेछ, … सबै जातिहरू भेला हुनेछन्, र जसरी गोठालाले भेडा र बाख्रालाई छुट्‌ट्याउँछ, त्यसरी नै उसले तिनीहरूलाई एउटालाई अर्काबाट अलग गर्नेछ । उसले भेडाहरूलाई आफ्नो दाहिनेपट्टि, र बाख्राहरूलाई देब्रेपट्टि राख्नेछ । तब राजाले आफ्ना दाहिनेपट्टिकाहरूलाई भन्नेछ, ‘आओ, मेरा पिताका धन्यका हो ! संसारको उत्पत्तिदेखि तिमीहरूका निम्ति तयार गरिएको राज्यलाई अधिकार गर । … तिमीहरूले यी मेरा भाइहरूमध्ये सबैभन्दा सानामा एक जनालाई जे–जति गऱ्यौ, त्यो तिमीहरूले मलाई नै गऱ्यौ । … यी सबैभन्दा सानाहरूमध्ये एक जनालाई जे–जति गरेनौ, त्यो तिमीहरूले मेरो निम्ति गरेनौ ।’ तब यिनीहरू अनन्त दण्डको भागी हुनेछन्, तर धर्मी जनहरू अनन्त जीवनमा प्रवेश गर्नेछन् ।” मत्ती २५:३१-४६

परमेश्वरको राज्यको निम्ति तयारी गर्दै यो समयमा हामीले गर्नुपर्ने कार्यको विषयमा येशूज्यूले सिकाउनुभएको छ ।

परमेश्वरले सबै थोक, सबैभन्दा सानो कुरासमेत खोजी गर्नुहुन्छ । उहाँले हाम्रो निम्ति स्वर्गमा यथेष्ट आशिष्‌ तयार गर्नुभएको छ । कस्तो कार्य आशिष्‌ गुमाउने कार्य हो र कस्तोचाहिँ आशिष्‌ थुपार्ने कार्य हो भन्नेबारे बाइबलमा पहिल्यै जानकारी दिइएको छ ।

स्वर्गमा आशिष्‌ थुपार्ने महत्त्वपूर्ण तरिका भनेकै सबैभन्दा सानो कुरामा समेत विश्वासी हुनु हो । हामीले सबैभन्दा सानाहरूका निम्ति गर्ने कार्यले आत्मिक आशिष्‌ थुपार्दछ भनेर येशूज्यूले भन्नुभएको छ । यो वचनप्रति होशियार हुँदै सुसमाचारको निम्ति दिइएको सिक्कालाई प्रयोग गरेर धेरैलाई धार्मिकतामा डोऱ्याउने कार्यमा सम्पूर्ण प्रयत्न गर्दै स्वर्गमा आशिष्‌ थुपार्ने हामीहरू हुन सकौं ।

“पवित्र आत्मा र दुलहीकहाँ आओ” अध्याय १३ बाट –