मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?

प्रेरित ८:२६-३९

20,175 भ्यु

“उठेर दक्षिणतिर यरूशलेमबाट गाजातर्फ जाने बाटोमा जाऊ ।”

प्रभुका दूतको निर्देशन पाएका फिलिप मरुभूमिमा आइपुगे । सुनसान ठाउँमा उनले एक जना इथियोपियाली नपुंसकलाई भेटे, जो ठूला पदाधिकारी थिए । उनी यरूशलेममा आराधना गर्न गएका थिए । उनी फर्किरहेका थिए, र आफ्नो रथमा बसी धर्मशास्त्र पढिरहेका थिए ।

पवित्र आत्माले फिलिपलाई भन्नुभएझैँ, उनी रथको साथ लागे र सोधे, “तपाईंले पढिरहनुभएको कुरा बुझ्नुहुन्छ ?”

तब तिनले भने, “कसैले नबताईकन म कसरी बुझ्न सक्छु र ?”

अनि तिनले फिलिपलाई रथमा चढी तिनको साथमा बस्ने अनुरोध गरे ।

“जसरी भेडा काटिनलाई लगिन्छ, वा थुमा ऊन कत्रनेको सामु चूप रहन्छ, त्यसरी नै उसले आफ्नो मुख खोलेन … कृपा गरी मलाई भन्नुहोस्, अगमवक्ताले यो कसको विषयमा भनेका हुन् ?”

नपुंसकको प्रश्नमा फिलिपले आफ्नो मुख खोलेर धर्मशास्त्रको यसै खण्डबाट तिनलाई येशूको सुसमाचार सुनाए । अनि उनीहरू बाटोमा जाँदाजाँदै केही पानी भएको एउटा ठाउँनेर आइपुगे र ती नपुंसकले भने,

“हेर्नुहोस्, यहाँ पानी रहेछ, मलाई बप्तिस्मा हुनदेखि केले रोक्न सक्छ ?”

तिनले रथ रोक्ने आज्ञा दिए, अनि फिलिप र ती नपुंसक दुवै पानीमा ओर्ले, र उनले तिनलाई बप्तिस्मा दिए ।

देशको समस्त सम्पत्तिका कोषाध्यक्ष र ठूला पदाधिकारी रहेका इथियोपियाली नपुंसकले सुसमाचार सुने र येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गरे । उनले तुरुन्तै ख्रीष्टको नाउँमा बप्तिस्मा लिए र पाप क्षमा पाए ।

ती नपुंसकले आफ्नो पद सुहाउँदो विशेष ठाउँमा बप्तिस्मा लिन सक्थे, तर उनले बाटोमा हुने कठिनाइलाई बेवास्ता गरी तुरुन्तै परमेश्वरको वचन पालन गरे । किनभने उनलाई उनको प्रतिष्ठाभन्दा परमेश्वरको वचन पालन गर्नु नै महत्त्वपूर्ण छ भन्ने कुरा थाहा थियो ।

आशिष्‌को मूल्य जान्नेहरूले विना हिचकिचाहट परमेश्वरको इच्छाअनुसार गर्छन् । परमेश्वरको इच्छाभन्दा माथि केही पनि राख्न सकिँदैन । हाम्रो आत्मालाई मृत्युबाट बचाउनुहुने मुक्तिदाता को हुनुहुन्छ भन्ने कुरा महसुस गरेपछि प्राप्त हुने सद्गुण नै परमेश्वरको भय मान्दै सत्यता पालन गर्ने नम्रता हो । परमेश्वरले यस्ता नम्रहरूलाई भेला गर्नुहुन्छ । परमेश्वरको आज्ञा पालन गर्ने सबै नम्रहरू स्वर्गीय राज्यका मुख्य पात्रहरू हुन् (सप २:१-३) ।