परमेश्वरको आज्ञा पालन गर्नुपर्ने कारण

35,207 भ्यु

यदि हामी परमेश्वरका प्रजा हौं भने, हामीले उहाँले स्थापना गर्नुभएका आज्ञाहरू पालन गर्नुपर्छ । परमेश्वरको आज्ञा पालन गर्न किन महत्वपूर्ण छ भन्ने कुरा बाइबलद्वारा अध्ययन गरौं ।

१. परमेश्वरलाई प्रेम गर्नेहरूले परमेश्वरका आज्ञाहरू पालन गर्छन्

मानिसहरू आफूले मन पराएको व्यक्तिलाई भेटेको बेलामा हरेक उपाय र तरिकाद्वारा त्यो व्यक्तिप्रतिको आफ्नो प्रेम दर्शाउन प्रयत्न गर्छन् । कहिले पत्रहरू मार्फत, कहिले गुलाबको फूल मार्फत, कहिले विभिन्न उपहारहरू मार्फत आफ्नो प्रेम व्यक्त गर्ने प्रयास गर्छन् । त्यसोभए हामीले परमेश्वरप्रतिको हाम्रो प्रेम कसरी व्यक्त गर्नुपर्छ ? परमेश्‍वरले हामीले उहाँप्रतिको हाम्रो प्रेमलाई पत्रहरू, गुलाबहरू वा उपहारहरूद्वारा व्यक्त गरेको चाहनुहुन्न, बरु उहाँ हामीले ‘परमेश्‍वरका आज्ञाहरू पालन गरेर’ उहाँको प्रेम व्यक्त गरेको चाहनुहुन्छ ।

“ “मलाई प्रेम गर्ने त्यही हो जससँग मेरा आज्ञा छन् र ती पालन गर्दछ ।” यूहन्ना १४:२१

परमेश्वरको प्रेम यही हो कि हामी उहाँका आज्ञाहरू पालन गर्दछौं, र उहाँका आज्ञाहरू भारपूर्ण छैनन् । १ यूहन्ना ५:३

तसर्थ परमेश्वरलाई प्रेम गर्ने सन्तान भएका हामीले परमेश्वरका आज्ञाहरू खुशीसाथ पालन गर्नुपर्छ ।

२. परमेश्वरका आज्ञाहरू पालन नगर्ने विश्वासचाहिँ झूटा विश्वास

परमेश्वरको आज्ञा पालन गर्नु भनेको त्यो आज्ञा पालन गर्नू भनेर निर्देशन दिनुहुने परमेश्वरलाई विश्वास गर्छु भन्ने कुरालाई कार्यद्वारा अभिव्यक्त गर्नु हो । तर आजभोलि धेरै मानिसहरूले परमेश्वरलाई विश्वास गर्छु, भनी दाबी गरे तापनि त्यो आज्ञा रद्द भयो भन्दै परमेश्वरलाई बेवास्ता गरिरहेका छन् । तिनीहरूले परमेश्वरलाई प्रेम गरिरहेका छौं र परमेश्वरको विषयमा सम्पूर्ण कुराहरू राम्ररी थाहा छ भनेर जिद्दी गर्छन् । बाइबलमा यस्ता मानिसहरूलाई झूटाको संज्ञा दिइएको छ ।

यदि हामीले उहाँका आज्ञाहरू पालन गऱ्यौं भने यसैबाट हामी थाहा पाउन सक्छौं, कि हामी उहाँलाई चिन्दछौं । जसले “म उहाँलाई चिन्छु” भन्छ, तर उहाँका आज्ञाहरू उल्लङ्घन गर्छ, त्यो झूटो हो, र त्यसमा सत्य छैन । तर जसले उहाँको वचन पालन गर्छ, त्यसमा परमेश्वरप्रतिको प्रेम साँच्ची नै सिद्ध भएको हुन्छ । हामी उहाँमा छौं भन्ने कुरामा यसैबाट निश्चित हुन्छौं । उहाँमा रहन्छु भन्ने व्यक्ति आफै पनि उहाँको चालअनुसार चल्नुपर्छ । १ यूह २:३-६

कस्ता मानिसहरूले परमेश्वरलाई चिन्छु त भन्छन् तर उहाँका आज्ञाहरू पालन गर्दैनन् ? तिनीहरू नै झूटा अर्थात् कुनै सत्यता नभएकाहरू हुन् भनिएको छ । त्यसैले परमेश्‍वरका आज्ञाहरू पालन नगर्ने मानिसहरूले जतिसुकै परमेश्‍वरलाई विश्‍वास गर्छु भनेर जिद्दी गरे तापनि तिनीहरूको विश्‍वास मुक्तितर्फ डोऱ्याउन नसक्ने झूटा विश्‍वास हो ।

३. परमेश्वरको आज्ञा पालन गर्नेहरू स्वर्ग जानेछन्

“मलाई ‘प्रभु, प्रभु’ भन्ने सबै स्वर्गको राज्यमा प्रवेश गर्नेछैनन् । स्वर्गमा हुनुहुने मेरा पिताको इच्छा पालन गर्ने मानिस मात्र परमेश्वरको राज्यमा प्रवेश गर्नेछ । त्यो दिन धेरैले मलाई भन्नेछन्, ‘प्रभु, प्रभु, के हामीले तपाईंको नाउँमा अगमवाणी बोलेनौं ? तपाईंको नाउँमा भूतहरू धपाएनौं । र तपाईंको नाउँमा अनेक शक्तिशाली काम गरेनौं र ?’ अनि म तिनीहरूलाई सफासँग भन्नेछु, ‘मैले तिमीहरूलाई कहिल्यै चिनेको छैनँ । ए अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ ।’ ” मत्ती ७:२१-२३

कस्ता मानिसहरू स्वर्ग प्रवेश गर्न सक्दैनन् भनिएको छ त ? अधर्म काम गर्नेहरू अर्थात् परमेश्वरको आज्ञा नमान्नेहरू भनिएको छ । तिनीहरूले जतिसुकै परमेश्वरलाई साँचो विश्वास गर्छु भनेर दाबी गर्दै मुक्ति पाउने कुरामा ढुक्क भए तापनि परमेश्वरको आज्ञा पालन गरेको छैन भने त्यस्ता मानिसहरूले कदापि मुक्ति पाउन सक्नेछैनन् । येशूज्यूले केवल परमेश्वरको इच्छा अर्थात् परमेश्वरले भन्नुभएअनुसार आज्ञा पालन गर्नेहरू मात्र स्वर्ग प्रवेश गर्नेछन् भन्नुभयो । त्यसैले अन्त्यका दिनहरूमा मुक्ति पाउने मानिसहरूले परमेश्वरको आज्ञा पालन गर्नेछन् भनेर बाइबलमा अगमवाणी गरिएको छ ।

“परमेश्वरका आज्ञाहरू पालन गर्ने र येशूमाथि विश्वास राख्ने सन्तहरूको धैर्य धारण यसैमा छ ।” प्रका १४:१२

परमेश्वरले दिनुभएका आज्ञाहरूलाई अन्त्यसम्मै पालन गरेर अनन्त स्वर्ग राज्यमा प्रवेश गर्ने अगमवाणीका नायक-नायिका होऔं ।

समीक्षात्मक प्रश्न
परमेश्वरलाई प्रेम गर्छौं भन्ने कुरा कसरी व्यक्त गर्न सकिन्छ ?
मत्ती ७:२१-२३को वचनअनुसार कस्ता मानिसहरू स्वर्गीय राज्यमा जान सक्छन् ?