मनदेखि मनसँग सम्बन्ध गाँसिदिने, आँखा
आँखाले व्यक्तिको ईमानदारिता झल्काउँछ । मन्द मुस्कान र न्यानो हेराइले मन खोलेर कुरा गर्ने वातावरण सृजना गर्छ र सबैलाई खुशी बनाउँछ ।
“एउटी नारीको सुन्दरता उसको आँखामा झल्किन्छ, किनभने त्यो उसको मनको ढोका हो, जहाँ प्रेमले वास गर्छ ।” अड्रे हेपबर्न
“मानिसको आँखाले जिब्रोले जस्तै कुरा गर्छ, यसको राम्रो पक्ष भनेको, आँखाको भाषा बुझ्न कुनै शब्दकोशको आवश्यकता पर्दैन तर यसलाई सबैले बुझ्न सक्छन् ।” राल्फ वाल्डो एमर्सन

झ्यालले बाहिरबाट भित्रको दृश्य, अनि भित्रबाट बाहिरको दृश्य हेर्न मद्दत गर्दछ । वरिपरि जतिसुकै भित्ता भए पनि, यदि झ्याल छ भने त्यसले घामको प्रकाश र हावालाई भित्र छिर्न दिन्छ र घरलाई आनन्दमय बनाइदिन्छ ।
हाम्रो शरीरमा पनि झ्यालजस्तै एउटा अङ्ग छ । त्यो नै आँखा हो । आँखाले हाम्रो शरीरमा एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ । ज्ञानेन्द्रियहरूमध्ये, मस्तिष्कलाई सबैभन्दा धेरै काम गराउने अङ्ग नै आँखा हो, किनभने मस्तिष्कले लिने ८०% जानकारी दृष्टिमार्फत प्राप्त हुन्छ ।
आँखाले संसार हेर्न र वस्तुहरू चिन्न मात्र मद्दत गर्दैन, तर यसले हाम्रो भित्री रूप देखाइदिने झ्यालको रूपमा समेत काम गर्छ । ‘आँखा आत्माको झ्याल हो’ भन्ने भनाइजस्तै, मानिसका भावनाहरू आँखामा प्रष्ट देखिन्छन् । मुखले जवाफ वा शरीरले इशारा दिनुअघि नै आँखाले प्रतिक्रिया दिन्छ र कहिलेकहीँ हृदयभित्र भएको कुरा शब्दद्वारा व्यक्त गर्न नसके पनि आँखाले व्यक्त गरिदिन्छ । कुराकानी गर्ने क्रममा आँखाले एकदमै महत्त्वपूर्ण भूमिका खेल्छ ।
मौनतापूर्वक बोल्ने आँखा
मनोविज्ञानका प्राध्यापक अल्बर्ट मेरेबियनको सिद्धान्तअनुसार, कुराकानीमा शब्द वा भाषाको भूमिका ७% हुन्छ र बाँकी ९३% भूमिकाचाहिँ शरीरको हाउभाउ र शैली जस्ता अशाब्दिक कुराहरूले खेल्दछ । ९३% अशाब्दिक तत्त्वहरूमध्ये पनि ५५% अभिव्यक्तिचाहिँ अनुहारले दिइरहेको हुन्छ र अभिव्यक्ति दिने मुख्य कारक भनेकै आँखा हो । यदि आँखा वरिपरिका मांसपेशीहरू नहल्लाइ केवल ओठका कुनाहरू उठाएर “यहाँलाई भेटेर खुशी लाग्यो” भनियो भने त्यो अनुहार खुशी देखिँदैन । आँखाबाट व्यक्त भएको कुराचाहिँ मुखबाट व्यक्त भएको कुराभन्दा पनि बढी शक्तिशाली हुन्छ ।
आफूलाई सन्तुष्ट बनाउने वा सकारात्मक महसुस गराउने कुनै वस्तुलाई हेर्दा, आँखाहरू शान्त हुन्छन् र आँखिभौँहरू धनुष आकारका (arch) बन्छन् । असमझदारी वा मनमुटाव भएको व्यक्तिसँग आँखा जुधाउन मन लाग्दैन र लज्जित हुँदा वा कुनै गल्ती गर्दा आँखा जुधाउन सकिँदैन । रिसाउँदा आँखा तरेर हेर्न पुगिन्छ र शङ्का लाग्दा आँखा सानो पारेर हेर्न पुगिन्छ । चकित हुँदा आँखा ठूलो हुन्छ र घृणाको भाव उत्पन्न हुँदा आँखा खुम्चिन्छ । अनि दुःखी हुँदा आँखाबाट आँसु झर्छ । आत्तिँदा वा झूट बोल्दा आँखाहरू पटक-पटक झिम्काउन पुगिन्छ ।

वरिपरिको उज्ज्यालोअनुसार प्रकाशको मात्रा नियन्त्रण गर्ने आँखाको नानीले प्रकाशलाई मात्र होइन तर स्वायत्त स्नायु प्रणाली(autonomic nervous system)लाई पनि प्रतिक्रिया दिन्छ । असन्तुष्टि महसुस हुँदा वा रिस उठ्दा आँखाको नानी सानो हुन्छ, तर कुनै कुरामा रुचि लाग्दा वा नयाँ र रोचक तथ्य सिक्दा आँखाको नानी ठूलो हुन्छ । त्यसै गरी डराउँदा वा अत्तालिँदा आँखाका नानीहरू हल्लिन थाल्छन् ।
आँखाले दिने प्रतिक्रिया एक स्वचालित प्रतिवर्त(automatic reflex) भएकोले यसलाई नियन्त्रण गर्न सकिँदैन । त्यसैले शब्दद्वारा झूट बोल्न सजिलो भए पनि, आँखाबाट झूट बोल्न गाह्रो हुन्छ । यी निष्कपट आँखाहरूले नै हामीलाई एक-अर्काको मनको कुरा बुझ्न र आफ्ना भावनाहरू साटासाट गर्न मद्दत गर्दछ ।
आँखा जुधाउँदा हुने कुराहरू
बोली नफुटेका शिशुहरूले छालाको स्पर्श र आँखाको सम्पर्कद्वारा आफ्नो आमा-बुबाको प्रेम महसुस गर्छन् । आमा-बुबाले मायालु नजरले हेर्दा बच्चाले मनोवैज्ञानिक रूपमा सुरक्षित महसुस गर्छ र उनीहरूबीचको भावनात्मक सम्बन्ध अझ प्रगाढ हुन्छ । बच्चाको आँखामा आँखा जुधाउँदै दूध खुवाउने कार्यले बच्चाको शारीरिक वृद्धि मात्र सुनिश्चित गर्दैन, तर भावनात्मक विकासका लागि पनि महत्त्वपूर्ण खुराक प्रदान गर्दछ ।
वास्तवमा, बेलायतको केम्ब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले बच्चासँग आँखा जुधाउँदा उनीहरूको मस्तिष्कमा के हुन्छ भन्ने कुरा पत्ता लगाउन एउटा परीक्षण गरेका थिए । नवजात शिशु र वयस्क दुवैले इलेक्ट्रोड जडान गरिएको टोपी लगाएर आँखा जुधाउँदा, उनीहरूको मस्तिष्कको तरङ्ग(brainwaves) एकआपसमा मिलेको पाइयो । मस्तिष्कका तरङ्गहरू भनेको दिमागका स्नायु कोषिकाहरू सक्रिय हुँदा निस्कने विद्युतीय प्रवाह हो । सामान्यतया, एउटै सङ्गीत सुन्दा वा रमाइलो कुराकानी गर्दा यी तरङ्गहरू एकआपसमा मिल्छन् । हाम्रो ‘मन मिल्यो’ वा ‘टेलिपेथी(Telepathy) भयो’ भन्ने जस्ता अभिव्यक्तिहरू वैज्ञानिक रूपमा पनि तर्कसङ्गत छन् । त्यसैले बोल्न नसक्ने शिशुको मस्तिष्कको तरङ्ग वयस्कसँग मिल्नु भनेको त्यो शिशुले आँखाको माध्यमबाट “म कुराकानी गर्न चाहन्छु” भनेर सङ्केत पठाउनु जस्तै हो ।

भनिन्छ, कि सानो छँदा बुबा-आमाले मायाले हेरेर हुर्काएका बच्चाहरू पछि गएर अपराधिक बाटोमा लाग्ने वा बिग्रिने सम्भावना कम हुन्छ । अस्ट्रेलियाको न्यू साउथ वेल्स विश्वविद्यालयका मनोवैज्ञानिक अनुसन्धानकर्ताहरूले विद्रोही र आक्रामक स्वभाव भएका ६० जना किशोरकिशोरीहरूमा एउटा परीक्षण गरेको थियो । उक्त परीक्षणमा ती किशोरकिशोरीमा एउटै साझा विशेषता पाइयो, उनीहरू सबैले एक-अर्कासँग नजर मिलाउन खोज्दैनथे । अनुसन्धानकर्ताहरूले विभिन्न चित्रहरू देखाएर ‘प्युपिलोमिटर’(pupilometer) र MRI मार्फत उनीहरूको अवलोकन गरे, जसको परिणामस्वरूप भावनात्मक समानुभूति जगाउने चित्रहरूमा उनीहरूको मस्तिष्कले कडा प्रतिक्रिया जनाएको पाइयो । परीक्षणको नेतृत्व गर्ने प्राध्यापकका अनुसार, “बाल-बालिकाको गलत व्यवहार सुधार्न र उनीहरूको विद्रोही भावना कम गर्नका लागि उनीहरूमाथि रिस देखाउनु वा बल प्रयोग गर्नुभन्दा, उनीहरूसँग नजर मिलाएर भावनात्मक कुराहरू साटासाट गर्दा अझ प्रभावकारी हुन्छ ।”
वयस्कहरूमा गरिएको अनुसन्धानले पनि एक-अर्कासँग आँखा जुधाएर कुरा गर्दा सकारात्मक भावना बढ्छ भन्ने कुरा प्रष्ट पारेको छ । त्यसैले निष्कर्षमा भन्नुपर्दा, यी सम्पूर्ण अनुसन्धानहरूलाई हेर्ने हो भने, चाहे शिशु होस् या वयस्क, अरूले न्यानो र दयालु नजरले हेर्दा खुशी महसुस गर्न सकिन्छ । आँखा जुधाउने जस्तो एउटा सानो कार्यले पनि फेनाइलेथिलामाइन (phenethylamine) र अक्सिटोसिन(oxytocin) भनिने प्रेम र खुशीको हर्मोनको मात्रा बढाउँछ ।
न्यानो हेराइका साथ गरिने कुराकानी
के एक-अर्कालाई नहेरीकन गहिरो कुराकानी गर्न सम्भव छ ? कसैसँग कुरा गर्दा उसले स्मार्टफोन वा टिभीमा मात्र हेर्दै जवाफ दिन्छ, अथवा कुराकानीमा ध्यान नदिई अन्तै मात्र हेरिरहन्छ भने, ऊसित थप कुरा गर्न मन लाग्दैन । जहाँ मन त्यहीँ आँखा भन्दा अतिशयोक्ति हुँदैन । कुनै व्यक्तिसँग कुरा गर्दा अन्तै हेर्नु भनेको त्यो व्यक्तिलाई अनादर गर्नु हो, र त्यो व्यक्तिभन्दा आफूले हेरिरहेको कुरा बढी महत्त्वपूर्ण छ भन्नु जस्तै हो ।
एक-अर्कालाई मायालु दृष्टिले हेऱ्यो भने साँचो कुराकानी गर्न सकिन्छ । बोल्ने व्यक्तिको आँखामा हेर्नु भनेको उनीहरूले बोलिरहेको कुरा ध्यानपूर्वक सुनिरहेको छु भन्ने स्पष्ट अभिव्यक्ति हो र त्यो कुरा सुन्न चाहन्छु भन्ने शक्तिशाली सङ्केत पनि हो । आँखा जुधाएर कुरा गर्दा मनको ढोका खुल्छ र बन्द भएको ओठ पनि आफै खुल्न थाल्छ । राम्रो वक्ता नभए पनि, ध्यान दिएर अरूको कुरा सुनेमा र हेरेमा गहिरो कुराकानी गर्न सकिन्छ । कुनै काममा मग्न भएको बेला कसैले बोलाउँदा नहेरीकन बोल्न सजिलो हुन्छ । तर त्यस्तो बेला कामलाई केही बेर रोकेर, “माफ गर्नुहोस्, म यो काम सकेर कुरा गरौं ?” भन्दै आँखामा हेरियो भने अर्को व्यक्तिले सम्मान महसुस गर्नेछ ।

आँखामा हेर्नु भन्नाले अर्को व्यक्तिलाई एकनासले हेरिरहनु वा कुराकानी गर्दा केवल आँखामा मात्र हेर्नु भन्ने अर्थ होइन । सकेसम्म कुराकानी गर्दा अर्को व्यक्तिलाई सहज महसुस हुने गरी निधार, नाक, मुख र चिउँडोतिर हेर्नुपर्छ र मुस्कुराउँदै न्यानो वातावरण बनाइदिनुपर्छ । कुस्ती खेलिरहेको खेलाडीको हेराइ र आफ्नो बच्चालाई हेर्ने आमाको हेराइ फरक भए जस्तै, भित्री मनको अवस्थाअनुसार आँखाको भाषा पनि फरक हुन्छ । दुःखद् वा हृदयविदारक खबर सुनाउँदा, अथवा एक-अर्काको गल्ती बताउँदा कहिलेकहीँ मात्र आँखा जुधायो भने अर्को व्यक्तिले अझ सहज महसुस गर्न सक्छ ।
पति-पत्नीको विचार नमिल्दा, वा छोरा-छोरीलाई अनुशासन सिकाउँदा मायालु हेराइले हेरियो भने परिस्थिति सहज हुन्छ । अनुहार बिगार्ने, निधार खुम्चाउने, रूखो नजरले हेर्ने जस्ता कार्यहरूले संवादमा रुकावट ल्याउँछ । कसैलाई माथिदेखि तलसम्म हेर्दा अथवा मुख बङ्ग्याउँदा अर्को व्यक्तिले अपमानित महसुस गर्ने भएकोले यस्तो कुरामा सावधान रहनुपर्छ ।
परिवारसँग कुरा गर्दा तपाईंको आँखाले कस्तो कुरा गरिरहेको छ भन्ने कुरा विचार गरिहेर्नुहोस् । तपाईंको नजरले परिवारको सट्टा टिभी वा स्मार्टफोनलाई बढी महत्त्व त दिइरहेको छैन ? अथवा रिसले भरिएको नजरले कतै अरूको मनको ढोका बन्द त गरिरहेको छैन ? आफ्नो परिवारका अमूल्य सदस्यहरूलाई कोमल र न्यानो आँखाले प्रेम र स्नेह दिऔं, अनि चमक र उत्साहले भरिएको नजरले समर्थन र हौसला प्रदान गरौं । अरूबाट पाउने प्रेम र न्यानो हेराइले जीवन जिउनका लागि ठूलो शक्ति प्रदान गर्दछ ।
झ्याल फोहोर हुँदा न भित्रबाट बाहिरी संसार देख्न सकिन्छ न त बाहिरबाट भित्रको संसार नै देख्न सकिन्छ । हाम्रो अदृश्य मनको झ्याल पनि उस्तै हो । समझदारी, स्वीकार्यता र सकारात्मक सोचका साथ आफ्नो मनको झ्याललाई समय-समयमा सफा गरौं । मनको झ्याल सफा र निश्चल भएमा मात्र संसारलाई उज्ज्यालो तरिकाले हेर्न सकिन्छ, र अरूलाई आफ्नो निष्कपट भावना देखाउन सकिन्छ । जब दुई व्यक्तिले एक-अर्काको आँखामा आफ्नो रूप देख्छन्, तब उनीहरूबीच मनबाट नै गहिरो सम्बन्ध कायम हुन्छ ।