मूल्यवान् कुरा

प्रत्येक मानिससँग आफूलाई मूल्यवान् लाग्ने कुरा हुन्छ । कसैका लागि पसिनाद्वारा कमाएको धन, कसैका लागि कडा परिश्रमबाट प्राप्त भएको शक्ति वा सम्मान, र कसैका लागि चाहिँ आँखाको नानीजस्तै प्रेम गरेको सन्तान, संसारको कुनै पनि कुरासँग साट्न नसकिने मूल्यवान् कुरा हुन्छ ।
तर त्यो मूल्यवान् कुरा जतिसुकै उत्कृष्ट भए पनि त्यसको मूल्य सधैँ उस्तै रहँदैन । यो पृथ्वीमा सधैँभरि यथावत मूल्य रहने त्यस्तो कुनै मूल्यवान् कुरा नभएकोले समय बित्दैजाँदा त्यसको मूल्य पनि घट्दैजान्छ । यद्यपि त्यो तिनीहरूको जीवनकालमा मूल्यवान् कुरा हुन सक्छ, तर अनन्तकाल मूल्यवान् हुन सक्दैन ।
तथापि परमेश्वरलाई मूल्यवान् थोक बनाउने हो भने चाहिँ अवस्था बेग्लै हुन्छ । उहाँलाई प्रेम गर्नेहरूका लागि कहिल्यै नसुनेका, कहिल्यै नदेखेका र कहिल्यै नसोचेका कुराहरू परमेश्वरले तयार पार्नुभएको छ । उहाँलाई आदर गर्नेहरूलाई परमेश्वरले आदर गर्नुहुन्छ र आँखाको नानीझैँ सधैँ रक्षा गर्नुहुन्छ ।
हामीले परमेश्वरबाट अथाह अमूल्य कुरा पाएका छौं । मानवजातिको जीवन, मरण, भाग्य, दुर्भाग्य र सारा ब्रह्माण्ड नियन्त्रण गर्नुहुने सर्वशक्तिमान् परमेश्वरको सुरक्षाभित्र हामी जिइरहेकाले योभन्दा मूल्यवान् कुरा अरू के हुन सक्छ र ?
हाम्रो मूल्यवान् कुरा भनेकै परमेश्वर हुनुहुन्छ । यस्तो मूल्यवान् कुरालाई कसरी मूल्यहीन कुरासँग राख्न सकिन्छ र ? परमेश्वरलाई आफ्नो मूल्यवान् कुरा मानेर सबै कुराहरूलाई रद्दीटोकरीको रूपमा लिएका प्रेरित पावलजस्तै हामी पनि घृणा, कलह, घमण्ड र लोभलाई हृदयबाट फालेर केवल मूल्यवान् एलोहिम परमेश्वरमा मात्र जिउने होऔं ।
“… तपाईंले आफ्ना सुनका ससाना ढिकाहरू धूलोमा मिलाउनुभयो भने, ओपीरको सुनलाई खोल्साको ढुङ्गासरह मान्नुभयो भने, सर्वशक्तिमान् नै तपाईंको निम्ति सुन हुनुहुनेछ, र उहाँ नै तपाईंको निम्ति सबैभन्दा असल चाँदी हुनुहुनेछ ।” अय्यूब २२:२४-२५