पछुतो कम गर्ने तरिका

“इन्टरनेटमार्फत सामान बेच्दा कस्तो होला ?”
“विचार त राम्रो छ, तर तपाईंजस्तो केही कुराको अभाव नभएको मानिसले किन बेकारमा जोखिम मोल्नु पऱ्यो र ? बरु यो काम त राम्रो जागिर नपाएको मानिसले गर्दा बढी ठीक होला ।”
एउटा प्रतिष्ठित विश्वविद्यालयबाट स्नातक गरेर नाम चलेको कम्पनीमा ठूलो पारिश्रमिक खाँदै सुखमय जीवन बिताइरहेका व्यक्तिले अचानक राजीनामा दिए । उनले इन्टरनेट व्यवसायको बलियो सम्भावनालाई बेलैमा बुझेर आफ्ना हाकिमलाई अनलाइन सपिङ मल खोल्ने प्रस्ताव राखेका थिए, तर प्रस्ताव अस्वीकार भएपछि उनले आफैँ व्यवसाय सुरु गर्ने निर्णय गरे । यी व्यक्ति नै विश्वको सबैभन्दा ठूलो अनलाइन सपिङ मल अमेजनका संस्थापक जेफ बेजोस हुन् ।
स्थिर जीवन कि नयाँ चुनौती भन्ने दुई विकल्पहरूका बीच अलमलिरहेको बेला, उनले आफ्नो मनको द्वन्दलाई रोक्नका लागि कम पछुतो हुने पक्षलाई रोजे । “जीवनको वृद्धावस्थामा बितेका दिनहरूलाई फर्केर हेर्दा कुन पक्षमा कम पछुतो होला ?” भन्ने कुरालाई उनले आफ्नो छनोटको आधार बनाए । ३० वर्षको उमेरमा ठूलो रकमको प्रोत्साहन भत्ता नपाएकोमा गुनासो गर्नुभन्दा, चुनौतीको सामना नगरेकोमा बढी पछुतो हुनेछ भन्ने कुरामा उनी पूर्ण रूपमा निश्चित थिए । त्यसैले उनले आफूलाई लागेको कुरा तुरुन्दै गरे ।
“मैले पछुतोविना जीवन जिएँ” भनेर पछि भन्न सक्ने जीवन, आज गर्ने छनोटमा निर्भर हुन्छ ।