दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो

दाजुभाइ-दिदीबहिनीचाहिँ एउटै बुबा-आमाबाट जीवन पाएका एउटै शरीर हुन् । उनीहरूबीच प्रेम कायम राख्न एक-अर्काप्रति आदर र शिष्टाचार आवश्यक हुन्छ ।

54,847 भ्यु
लेख सुन्नुहोस् 31:03

इ सङ ग्येले कोरियामा जोसन राजवंश स्थापना गरे र राजा थेजोको रूपमा त्यहाँको पहिलो राजा बने । तिनका पाँचौँ छोरा, इ बाङ वन अत्यन्त महत्त्वाकाङ्क्षी थिए । जब तिनका एक सौतेनी भाइलाई युवराज घोषणा गरियो, तब इ बाङ वन अत्यन्तै क्रोधित भए र तिनले ती युवराज र अर्को एक जना सौतेनी भाइको पनि हत्या गरे । त्यसपछि राजा थेजोका दोस्रो छोरा सिंहासनमा बसे । तर यस पटक एउटै आमाबाट जन्मेका दाजुभाइ, इ बाङ वन र चौथो छोरा इ बाङ गानबीच विवाद भयो ।

पहिलो घटनालाई ‘राजकुमारहरूको पहिलो कलह’ र दोस्रो घटनालाई ‘राजकुमारहरूको दोस्रो कलह’ भन्ने गरिन्छ । जोसन राजवंशको सुरुवातमा भएको पारिवारिक कलहको त्यो दुःखद इतिहास आजको आधुनिक युगमा पनि उत्तिकै दोहोरिने गरेको देखिन्छ । सम्पत्तिको आधारमा शीर्ष ४० वटा समूहहरूमध्ये १८ वटा समूहले व्यवस्थापन अधिकारका लागि विवादको सामना गरेका छन् । धनी परिवारका दाजुभाइबीचको यस्तो कलह अचेल सामान्य बनिसकेको छ । यो समस्या धनी परिवारमा मात्र सीमित छैन । तर साधारण परिवारमा पनि उत्तिकै व्याप्त छ । सम्पत्तिको असमान वितरणप्रति असन्तुष्ट एक भाइले आफ्ना दाजु र भाउजूतिर बन्दुक ताके । कतिपय अवस्थामा त, छोरा-छोरीहरूले बढी अंश हडप्न लुछालुछ गरिरहेको बेला बुबा-आमाको अन्त्येष्टि गर्ने ठाउँसमेत झगडाको मैदान बन्न पुगेका घटनाहरू छन् ।

दाजुभाइ-दिदीबहिनीबीचको विवाद अदालतसम्म पुग्ने गर्छ । दक्षिण कोरियामा बुबा-आमाको मृत्युपश्चात् अंशको विषयलाई लिएर एक-अर्काविरुद्ध हालिने मुद्दा सन् २००५ मा १५८ थियो भने सन् २०१४ मा तीव्र रूपमा बढेर ८११ पुगेको थियो । तीमध्ये कतिपय मुद्दामा अंशको रकम त्यति ठूलो पनि हुँदैन । दाजुभाइ-दिदीबहिनीहरू पैसाको विषयलाई लिएर अदालत जानु आफैमा अर्थहीन कुरा हो, तर उनीहरू अरूभन्दा एक रुपैयाँ पनि कम लिन चाहँदैनन् ।

आर्थिक मन्दीका कारण आफ्नै परिवारको हेरचाह गर्नसमेत धौ-धौ परिरहेको अवस्थामा दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध टाढिँदैजानु स्वाभाविक बनिसकेको छ । आम्दानीको स्तर, शैक्षिक भिन्नता वा बुबा-आमाको पालनपोषणको विषयलाई लिएर आपसी सम्बन्ध नै टुट्ने घटनाहरू अचेल बारम्बार घटिरहेका छन् । कतिपय मानिसहरू त ‘दाजुभाइ-दिदीबहिनीबीचको प्रेम’ भन्ने अभिव्यक्तिलाई नै पुरानो विचार ठान्छन् र वर्तमान संसार निर्दयी भएको बताउँछन् । तर परिवारभित्र प्रेम चिसिँदै जानु भनेको गम्भीर समस्या हो ।

रगतको नाता पानीभन्दा गाढा हुन्छ

दाजुभाइ-दिदीबहिनीहरू बाल्यकालदेखि नै सँगै हुर्कने भएकोले उनीहरूसँग सँगै बिताएका क्षणहरू धेरै हुन्छन् । एउटै बुबा-आमाबाट प्रेम र हेरचाह पाउने क्रममा कहिलेकहीँ उनीहरू प्रतिस्पर्धीसमेत बन्न पुग्छन् । अनि उमेरको अन्तर धेरै भएको अवस्थामा जेठो सन्तानले कान्छो सन्तानका लागि बुबा-आमाको जस्तै भूमिका निर्वाह गर्छन् । हुर्कने क्रममा उनीहरूले ईर्ष्या, डाह, घृणा, प्रेम, स्नेह, निराशा, कृतज्ञता र सन्तुष्टि लगायत विभिन्न भावनाहरू पनि साटासाट गर्छन् । बुबा-आमाले आफ्ना सबै सन्तानलाई विनासर्त समान प्रेम दिन्छन् । तर दाजुभाइ-दिदीबहिनीहरू एक-अर्कासँग बराबरीको सम्बन्धमा रहने भएकाले बुबा-आमासँगको सम्बन्धबाट अनुभव गर्न नसकिने संवादको सीप र सामाजिकता उनीहरूले एक-अर्काबाट सिक्ने गर्छन् ।

बुबा-आमाले संसार छोडेर गएपछि दाजुभाइ-दिदीबहिनी मात्र बाँकी रहन्छन् । यदि हामीले मानव जीवनलाई औसत ८० वर्ष मानेर त्यसलाई तीन चरणमा विभाजन गऱ्यौं भने जीवनको सुरुवाती चरणमा जीवनसाथी हुँदैन र अन्तिम चरणमा बुबा-आमा हुँदैनन् । तर दाजुभाइ-दिदीबहिनी भने जीवनभर सँगै रहन्छन् । अन्य मानवीय सम्बन्धहरू विद्यालय वा कार्यस्थल जस्ता कुनै निश्चित समूहमा आबद्ध रहुञ्जेल मात्र कायम रहन्छन् । अनि कतिपय सम्बन्धहरू रुचि, व्यक्तित्व वा चासोका विषयहरूका आधारमा बन्ने वा टुट्ने गर्छन् । तर दाजुभाइ-दिदीबहिनीबीचको सम्बन्ध जीवनभर जारी रहन्छ । कहिलेकहीँ आपसमा मनमुटाव वा झगडा भए पनि, उनीहरू नै जीवनमा सबैभन्दा लामो समयसम्म सँगै रहने पात्रहरू हुन्, जसको सम्बन्ध बुबा-आमा र सन्तानको जस्तै विशेष हुन्छ ।

यसैकारण दाजुभाइ-दिदीबहिनीबीचको आत्मीयता अन्य सम्बन्धको तुलनामा फरक हुन्छ । उनीहरू सँगै बसेको समयभन्दा टाढा रहेको समय बढी भए पनि त्यो सम्बन्ध कहिल्यै टुट्दैन । युद्धका कारण छुट्टिएका परिवारहरूको पुनर्मिलन भएको दृश्य हेर्दा यो कुरा बुझ्न सकिन्छ । युद्धका कारण सानै उमेरमा एक-अर्कासँग छुट्टिएका दाजुभाइ-दिदीबहिनीहरू वृद्ध नहुञ्जेल एक-अर्कालाई बिर्सँदैनन् र पुनः भेट्छन् । किनकि उनीहरूमा एउटै देह र रगत हुन्छ । भनिन्छ नि, रगतको नाता पानीभन्दा गाढा हुन्छ । उनीहरू शिरदेखि पाउसम्म सबै कुरामा एक-अर्काभन्दा फरक देखिए पनि एउटै बुबा-आमाबाट जन्मेकै कारण उनीहरू एक-अर्कालाई प्रेम गर्न जन्मेका हुन्छन् ।

दाजुभाइ-दिदीबहिनीबीच राम्रो सम्बन्ध कायम राख्न आदर र शिष्टाचार आवश्यक हुन्छ

दाजुभाइ-दिदीबहिनीसँगको सम्बन्ध राम्रो छैन भने, वयस्क अवस्थामा डिप्रेसन हुने सम्भावना बढी हुन्छ भनेर एउटा अनुसन्धानले देखाएको छ । यसलाई विभिन्न तरिकाले व्याख्या गर्न सकिन्छ । दाजुभाइ-दिदीबहिनीबीचको मनमुटाव डिप्रेसनको प्रारम्भिक चरणको सङ्केत हुन सक्छ र उनीहरूबीचको राम्रो सम्बन्धले अन्य मानिसहरूसँग पनि राम्रो सम्बन्ध निर्माण गर्न मद्दत गर्छ । जे-जस्तो भए पनि दाजुभाइ-दिदीबहिनीसँग सुमधुर सम्बन्ध राख्नु मानसिक स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ ।

दाजुभाइ-दिदीबहिनीले राम्रा सम्झना मात्र नभएर नराम्रा सम्झनाहरू पनि बाँड्ने गर्छन् । उनीहरूसँग राम्रो सम्बन्ध कायम राख्नका लागि निराशाजनक र नराम्रा सम्झनाहरू बिर्सनुपर्छ । वयस्क भइसकेपछि दाजुभाइ-दिदीबहिनीले एक-अर्कालाई आदर गर्नुपर्छ र स-साना कुराहरूमा पनि शिष्टाचार पालन गर्नुपर्छ । बाल्यकालमा समझदारी नहुँदा जेठो सन्तान र कान्छो सन्तान दुवै एक-अर्कासँग झगडा र कुटाकुट गर्ने गर्छन् । तर उनीहरू वयस्क भएर आ-आफ्नो परिवार सुरु गरेपछि परिस्थिति परिवर्तन हुन्छ । विवाहअघि उनीहरू तपाईंका दाजु, दिदी, भाइ वा बहिनी मात्र हुन्छन्, तर विवाहपछि उनीहरू एउटा घरको मुली, कसैकी पत्नी वा कसैका बुबा-आमा बन्छन् ।

विशेष गरी चाडपर्वहरूमा लामो समयपछि भेट्दा दाजुभाइ -दिदीबहिनीबीच झगडा हुने सम्भावना बढी हुन्छ । यस्तो झगडाबाट बच्नका लागि विवादित राजनीतिक वा सामाजिक विषयहरू, एक-अर्काको पारिवारिक वा आर्थिक स्थिति, र सन्तानको पढाइ तथा करियार जस्ता संवेदनशील कुराहरूबाट टाढा रहनुपर्छ, र आफ्नो प्रशंसा गर्नबाट जोगिनुपर्छ । कुराकानी गर्दा सुन्ने व्यक्तिको परिस्थितिलाई सधैँ विचार गर्नुपर्छ, र कसैको गल्ती वा कमजोरीलाई खोतल्नुको सट्टा क्षमा गर्ने र बुझ्ने प्रयास गर्नुपर्छ । कान्छो सन्तानले ‘कान्छो जेठोभन्दा श्रेष्ठ हुँदैन’ भन्ने भावनाका साथ जेठो सन्तानको आदर र अनुसरण गर्नुपर्छ, र जेठो सन्तानले पनि बुबा-आमाको मन लिएर कान्छो सन्तानलाई प्रेम र हेरचाह गर्नुपर्छ । तब मात्र उनीहरूबीचको सम्बन्ध सधैँ प्रगाढ रहन्छ ।

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम र सन्तानोचित कर्तव्यलाई अलग गर्न सकिँदैन

सुनको टुक्रा फ्याँक्ने दुई जना दाजुभाइको एउटा कथा छ । एक-अर्कालाई अत्यन्तै प्रेम गर्ने ती दाजुभाइले बाटोमा संयोगवश सुनको एउटा टुक्रा भेट्टाउँछन् । त्यसपछि, त्यो सुनका कारण उनीहरूमा लोभ जाग्न थाल्छ र एक-अर्काप्रति ईर्ष्याको भावना पैदा हुन्छ । त्यसैले उनीहरूले विनाहिचकिचाहट त्यो सुनको टुक्रा फालिदिन्छन्, किनकि उनीहरूका लागि सुनभन्दा एक-अर्काको सम्बन्ध बढी मूल्यवान् हुन्छ । यो साँच्चै हृदयस्पर्शी कथा हो । यी दुई दाजुभाइलाई देखेर सबैभन्दा बढी गर्व गर्ने व्यक्तिहरू निश्चय नै उनीहरूका बुबा-आमा हुनुपर्छ ।

छोरा-छोरीले जीवनमा जतिसुकै ठूलो सफलता हासिल गरे पनि, यदि उनीहरू आफ्ना दाजुभाइ-दिदीबहिनीसँग शत्रुजस्तो व्यवहार गर्छन् भने बुबा-आमाको मन सधैँ चिन्तित भरिइरहन्छ । तर छोरा-छोरीको आर्थिक अवस्था कमजोर भए पनि उनीहरू दाजुभाइ-दिदीबहिनीसँग मिलेर बस्छन् भने बुबा-आमाका लागि त्यो नै संसारको सबैभन्दा ठूलो खुसी बन्न पुग्छ । बुबा-आमालाई राम्रो लुगा र मिठो खानेकुरा खुवाउनु पनि सन्तानोचित कर्तव्य हो, तर दाजुभाइ-दिदीबहिनीबीच सुमधुर र प्रगाढ सम्बन्ध हुनु नै सर्वोत्तम सन्तानोचित कर्तव्य हो ।

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम र सन्तानोचित कर्तव्य कहिल्यै अलग हुन सक्दैनन् । कोरियाको जोसन राजवंशका प्रख्यात विद्वान् इ इले आफ्नो पुस्तक ‘ग्यग मोङ यु ग्यल’मा यसो भनेका छन्, “दाजुभाइ-दिदीबहिनीबीच मेलमिलाप नहुनु भनेको आफ्ना बुबा-आमालाई प्रेम नगर्नु सरह हो । यदि कसैले साँच्चै आफ्ना बुबा-आमालाई प्रेम गर्छ भने, उसले ती बुबा-आमाबाटै जन्मिएका सन्तानलाई कसरी प्रेम नगर्न सक्छ र ?” बाइबलमा पनि “यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन” (१ यूह ४:२०-२१) भनिएको छ । यसले आत्मिक पिता-माताप्रतिको प्रेम र भाइबहिनीप्रतिको प्रेम एउटै मानिन्छ भन्ने कुरा देखाउँछ । बाइबलले “दाजुभाइहरू एकतामा बस्‍नु कति भलो र मनोहर कुरा हुन्‍छ” (भज १३३:१) भन्दै दाजुभाइ-दिदीबहिनीबीचको प्रेमको सुन्दरताबारे गुनगान पनि गाएको छ ।

तर हिजोआज दाजुभाइ-दिदीबहिनीबीचको प्रेमभन्दा सम्पत्ति रोज्ने मानिसहरूको सङ्ख्या बढ्दैगएको छ । आफ्ना दाजुभाइ-दिदीबहिनीभन्दा अपरिचित व्यक्तिसँग बढी घनिष्ठ हुनु बुबा-आमाप्रतिको सबैभन्दा ठूलो अनादर हो । यदि तपाईं आफ्नो छोरा-छोरीलाई झगडा नगर्न र एक-अर्कासँग मिलेर बस्न सिकाउनुहुन्छ, तर आफैँ त्यसो गर्नुहुन्न भने, त्यो शिक्षा कसरी साँचो र प्रभावकारी हुन सक्छ र ? यदि बुबा-आमाले आफ्नो सन्तानका काका, ठूलोबुबा, फुपू वा सानीआमा पर्ने आफ्ना दाजुभाइ-दिदीबहिनीसँग राम्रो सम्बन्ध कायम राखेको देखाएमा, सन्तानले पनि स्वभावतः त्यसै गर्नुपर्छ भनेर सिक्नेछन् ।

क्यानडाको म्याकमास्टर विश्वविद्यालयको अनुसन्धान टोलीले गरेको अनुसन्धानअनुसार, जब फरक-फरक प्रजातिका बिरुवाहरूलाई एउटै गमलामा सँगै रोपिन्छ, तिनीहरूले धेरै भन्दा धेरै पानी र पोषक तत्व लिनका लागि जथाभाभी जरा फैलाउँछन् । तर, जब एउटै प्रजातिका बिरुवाहरूलाई सँगै रोपिन्छ, तिनीहरूले आफ्नो जराको लम्बाइलाई सन्तुलनमा राख्दै एक-अर्काका लागि ठाउँ छोडिदिन्छन् । बिरुवाहरू हेर्दा कमजोर र असक्षम देखिन्छन्, पानी पर्दा रुझ्छन् र हावा चल्दा यताउता हल्लिँदै ढल्छन् । तर अचम्मको कुरा, तिनीहरूले आफ्नो परिवारका बिरुवाहरूलाई सजिलै चिन्न सक्छन् ।

आदमका जेठा छोरा कयिनले ईर्ष्याका कारण आफ्नो कान्छो भाइ हाबिललाई मारे । बाइबलको अभिलेखअनुसार, यो मानव इतिहासमा भाइविरुद्ध गरिएको पहिलो हत्या थियो । यसले मानवजातिको शान्तिका लागि दाजुभाइ-दिदीबहिनीबीचको प्रेम पुनर्स्थपन हुनु कति आवश्यक छ भन्ने करा देखाउँछ । दाजुभाइ-दिदीबहिनीबीचको प्रेम सन्तानोचित कर्तव्यमा परिणत हुन्छ, र आफ्ना बुबा-आमालाई राम्रो व्यवहार गर्ने व्यक्ति कहिल्यै खराब हुन सक्दैन । त्यसैले, जब दाजुभाइ-दिदीबहिनीबीचको प्रेम पुनर्स्थापन हुन्छ, तब यसले परिवारमा मात्र नभएर सम्पूर्ण संसारमा नै शान्ति ल्याउनेछ ।

दाजुभाइ-दिदीबहिनीबीचको प्रेम नै बुबा-आमाका लागि सर्वोकृष्ट सन्तानोचित कर्तव्य हो

31:03
0:00 31:03

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।