बोल्नुअघि सोच्नुहोस्

बोलेको बोली पछि पछुताए पनि फिर्ता लिन सकिँदैन । त्यसैले बोल्नुअघि एक पटक मनैमा तौलेर, सच्याएर र नचाहिने कुराहरू छाँटकाँट गरेर मात्र बोल्ने बानी बसाल्नुपर्छ ।

37,257 भ्यु
लेख सुन्नुहोस् 34:41

“अरूको मुखबाट निस्कने बोलीभन्दा आफ्नै मुखबाट निस्कने बोलीमा बढी ध्यान दिनुहोस्” भन्ने एउटा भनाइ छ । यसरी भाषालाई सञ्चारको माध्यम बनाउने हरेक देशमा बोलीको महत्त्वबारे थुप्रै भनाइहरू छन् । विचार र जानकारी साटासाट गर्ने सबैभन्दा उत्कृष्ट माध्यम नै बोली हो । तर अर्कोतर्फ, यसले अरूको मनमा चोट पुऱ्याउने, असमझदारी बढाएर कलह उत्पन्न गर्ने जस्ता कार्यहरू पनि गर्न सक्छ । भाषा फरक भए पनि मानिसले लामो समयको आफ्नो अनुभव र भोगाइबाट यो पाठ राम्ररी सिकिसकेका छन् ।

कुराकानी भनेको अन्तरक्रियात्मक सञ्चार हो, जहाँ बोल्ने र सुन्ने व्यक्ति दुवै हुन्छन् । जब हामी एक-अर्कातर्फ बल फ्याँक्छौं, तब त्यो बल कहिलेकहीँ सोचेभन्दा बिलकुलै फरक दिशामा जान सक्छ । बोलीको सन्दर्भमा पनि उस्तै हो । हरेक व्यक्तिको परिस्थिति, सोच्ने तरिका र मूल्यमान्यता फरक हुने भएकोले, कसैको असल मनसाय कहिलेकहीँ गलत रूपमा बुझ्न पुगिन्छ, अनि अर्को व्यक्तिले खराब नियतले बोलेको थिएन भन्ने थाहा हुँदाहुँदै पनि मन दुख्न सक्छ । यसरी खराब नियत नहुँदा नहुँदै पनि अर्को व्यक्तिको मन दुख्न पुग्नु र पछि पछुतो मान्नु भनेको ‘जिब्रो चिप्लिनु’ हो ।

फ्याँकेको बलजस्तै एक पटक बोलेको बोली फिर्ता लिन सकिँदैन । त्यसैले मुखबाट बोली निस्किनुअघि आफैँलाई प्रश्न सोध्ने र सोच्ने अभ्यास गर्नुपर्छ । त्यसो भए बोल्नुअघि हामीले के-के कुरामा ध्यान दिनुपर्छ होला ? यसको उत्तर अङ्ग्रेजी शब्द ‘THINK’ अर्थात् ‘सोच्नु’भित्र लुकेको छ । ‘THINK’ शब्दका पाँच वटा अक्षरहरूमार्फत रमाइलो कुराकानीका लागि ध्यान दिनुपर्ने पाँच वटा कुराहरू सिकौं ।

(True)
के यो सत्य हो ?

जब असत्य कुराहरूको प्रसङ्ग आउँछ, तब मानिसहरू अतिरञ्जित कुरा, हल्ला र झूटो समाचार इत्यादिबारे सोच्ने गर्छन् । तर ढाँट्ने नियत नहुँदा नहुँदै पनि कहिलेकहीँ हाम्रो मुखबाट असत्य कुराहरू निस्किरहेका हुन्छन् । ती कुराहरू सामान्यीकरण गरिएका, बङ्ग्याइएका, वा व्यक्तिगत पूर्वाग्रहमा आधारित भएर गरिएका व्याख्या र मूल्याङ्कनहरू हुन् ।

यदि तपाईंले आफूलाई सत्य लागेको कुनै व्यक्तिगत सोचाइलाई सत्य मानेर सोचविचारै नगरी अरूका सामु राख्नुभयो भने, नचाहँदा नचाहँदै उनीहरूलाई भ्रममा पारिरहेको हुन सक्छ । उदाहरणको लागि तपाईंले आफ्नो अनुभव सुनाउनुभयो, “म कतै घुम्न गएको बेला एक जना मानिसलाई बाटो सोधेको थिएँ, तर ऊ व्यस्त छु भन्दै सरासर हिँड्यो । त्यो देशका सबै मानिसहरू असभ्य रहेछन् ।” यहाँ वास्तविक तथ्य के मात्र हो भने, तपाईंले बाटो सोध्नुभएको व्यक्ति व्यस्त छु भन्दै हिँड्यो । तर त्यस देशका सबै मानिसहरू असभ्य रहेछन् भन्नु सत्य होइन । यदि त्यसो भन्नुभयो भने, तपाईंले एक वा दुई वटा अनुभवका आधारमा त्यस देशका सम्पूर्ण मानिसहरूलाई सामान्यीकरण गर्ने गल्ती गरिरहनुभएको हुन्छ ।

यस्तो गल्ती नगरीकन आफ्नो भावना व्यक्त गर्नका लागि, हामीले ‘म-केन्द्रित अभिव्यक्ति(I-statement)’ प्रयोग गर्दै “मलाई त्यहाँका मानिसहरू अलि असभ्य रहेछन् जस्तो लाग्यो” भन्नुपर्छ । यदि हामीले आफ्नो विचारलाई तथ्यजस्तै गरी प्रस्तुत गऱ्यौं भने, त्यसबाट कोही न कोही निश्चय नै पीडित हुन्छन् । एक पटक मनमा बसेको विचार सजिलै परिवर्तन हुँदैन । त्यसैले यस्तो विचार विवादको कारण बन्न सक्छ, र मानिसहरू समस्याको वास्तविक जड थाहा नपाईकनै उक्त विवादमा फस्न सक्छन् । यस्तो अवस्थाबाट बच्नको निम्ति ‘तथ्य’ र ‘व्याख्या(वा मूल्याङ्कन)’बीचको भिन्नता छुट्‌ट्याउन आवश्यक हुन्छ, र आफ्नो मूल्याङ्कन वा व्याख्या गलत पनि हुन सक्छ भन्ने कुरा सधैँ याद राख्नुपर्छ ।

(Helpful)
के यो उपयोगी छ ?

कहिलेकहीँ अरूलाई सहयोग गर्ने मनसायले भनिएका कुराहरू उल्टै समस्याको कारण बन्न सक्छन् । सल्लाह दिने, गल्ती औँल्याउने, हस्तक्षेप गर्ने र अर्काको मामिलामा अत्यधिक चासो देखाउने जस्ता कुराहरूले समस्या निम्त्याउन सक्छन् । यदि कोही व्यक्तिले तपाईंसँग सहयोग नै मागेको छैन भने, उसको सोचाइ वा बानी परिवर्तन गर्न खोज्नु बेकार हुन्छ । ऊ सच्याइनु आवश्यक छ भन्ने सोचेर तपाईंले जतिसुकै राम्रो नियतले भने पनि त्यसको कुनै प्रभाव पर्दैन ।

‘गो खेल(एक प्रकारको प्राचीन र रणनीतिक बोर्ड खेल)’ हेर्ने दर्शकहरूले कहिलेकहीँ हस्तक्षेप गर्दै सुझाव दिने गर्छन् । खेल खेलिरहेका खेलाडी र बाहिरबाट खेल हेरिरहेका दर्शकहरूको दृष्टिकोण फरक हुने भएकोले, कहिलेकहीँ खेलाडीले नदेखेका कुराहरू दर्शकहरूले देख्न सक्छन् । यसरी, कहिलेकहीँ तेस्रो व्यक्तिले अर्को व्यक्तिको बारेमा त्यस्ता कुराहरू देख्न सक्छन्, जुन स्वयम् उसले समेत देखिरहेको हुँदैन । तर यदि हामीले यो कुरा अचानक भनिदियौं भने, सुन्ने व्यक्तिलाई आफ्नो क्षमताको कदर नभएको जस्तो लाग्न सक्छ र हामीले “म तिमीभन्दा राम्रो छु” भन्न खोजेको जस्तो हुन्छ । यसले गर्दा सहयोग पाएको महसुस गर्नुको सट्टा उनीहरू रक्षात्मक बन्न पुग्छन् ।

यो कुरा तथ्यमा आधारित जानकारीको सन्दर्भमा पनि लागू हुन्छ । मानौँ, तपाईं कुनै खानेकुरा स्वाद लिएर खाइरहनुभएको छ, तर तपाईंको दाजुभाइ वा दिदीबहिनीले “यसमा त पक्कै पनि धेरै केमिकल मिसाएको होला” भन्छन् वा तपाईंले कुनै सामान सस्तोमा पाएँ भनेर फुरुङ्ग परिरहँदा उनीहरूले भन्छन्, “त्यो सस्तो होइन, मलाई एउटा पसल थाहा छ जहाँ योभन्दा पनि सस्तोमा पाइन्छ ।” यस्तो सुन्दा पक्कै पनि तपाईंको मन खिन्न हुन्छ । त्यसैले आफूले भन्न चाहेको कुरा जतिसुकै उपयोगी र सहयोगी भए पनि, त्यो सुन्दा अर्को व्यक्तिलाई कस्तो महसुस हुन्छ भनेर ख्याल राख्न एकदमै जरुरी हुन्छ ।

(Inspiring)
के यो प्रेरणादायी छ ?

यदि तपाईं आफूले प्रेम र हेरचाह गर्ने व्यक्तिलाई साँच्चै मद्दत गर्न चाहनुहुन्छ अथवा उसको भलो होओस् भन्ने चाहनुहुन्छ भने, उसलाई कठोर बोलीद्वारा सम्झाउनुको सट्टा प्रशंसा, प्रोत्साहन, कदर र हौसला जस्ता कुराहरू दिने प्रयास गर्नुपर्छ । जसरी खेलाडीहरूले दर्शकहरूबाट हौसला पाउँदा राम्रो प्रदर्शन गर्छन्, त्यसरी नै हामीलाई कुनै पनि काम अझ राम्रोसँग गर्नका लागि आत्मविश्वास र साहसको आवश्यकता पर्छ ।

प्रशंसा र प्रोत्साहनले सकारात्मक ऊर्जा दिनुका साथै आफूलाई सुधार्ने इच्छाशक्ति जगाउँछ, जसले हामीभित्र लुकेको क्षमता प्रदर्शन गर्न प्रेरित गर्छ । जसरी मानिसहरूलाई आफ्ना कमजोरी पक्षहरू पत्ता लगाउन गाह्रो हुन्छ, त्यसरी नै धेरैजसो अवस्थामा उनीहरू आफ्ना सबल पक्षहरू पनि चिन्न सकिरहेका हुँदैनन् । तर यदि कसैले हाम्रो सबल पक्षहरू भनिदियो भने, ठूलो खुसी महसुस हुनेछ । मानिसले चाहे सानो काम गरोस् वा ठूलो, उसको राम्रो प्रयास र मेहेनतलाई हामीले सम्मान दियौं भने, उसले जस्तोसुकै कठिन परिस्थितिमा पनि अडिग रहने आत्मबल पाउँछ ।

एक-अर्काप्रति बलियो विश्वास भएका र ‘हामी एउटै पक्षमा छौं’ भन्ने भावना बोकेका मानिसहरू बीचमा जस्तोसुकै तीतो सल्लाह पनि सहजै स्वीकार्य हुन्छ । जसरी तीतो औषधी पनि गुलियो चकलेटसँग खाइयो भने निल्न सजिलो हुन्छ, त्यसैगरी सम्झाउने मान्छेले मेरै हित चिताएर मलाई मायाले भनेको हो भन्ने कुरा मनमा परेपछि, उसको कडा कुरा पनि हाँसीहाँसी सहने मन आउँछ ।

यदि हामीले आफ्ना मान्छेलाई विश्वास गरेर हतार नगरी पर्खने र सधैँ मीठो वचनले हौसला दिने हो भने, जस्तोसुकै मनमुटाव र झगडा पनि आफैँ साम्य भएर जान्छ । सूक्ष्म अवलोकनद्वारा अरूका सबल पक्षहरू पत्ता लगाउनु र त्यसलाई बोलीमार्फत व्यक्त गर्नु नै आफ्नो स्नेह र प्रेम देखाउने सबैभन्दा उत्तम तरिका हो ।

(Necessary)
के यो आवश्यक छ ?

कुराकानीलाई रमाइलो बनाउनका लागि एक-अर्काको रुचिका विषयहरू पत्ता लगाउनु राम्रो उपाय हो । तर त्योभन्दा पनि महत्त्वपूर्ण कुराचाहिँ अनावश्यक विषयहरूबाट बच्नु हो । अर्को व्यक्तिलाई कुनै चासो नभएका कुराहरू वा ऊसँग कुनै सम्बन्ध नभएका कुराहरू ‘नभने पनि हुने कुराहरू’ हुन् ।

साथै, आफ्नो प्रशंसा आफैँ गर्नु, आफूलाई अरूसँग तुलना गर्नु, वा अरूले लुकाउन चाहेका विषयहरूको बारेमा कुरा गर्नु भनेको नभन्दा अझ राम्रो हुने कुराहरू हुन् । इमानदार हुनुको अर्थ मनमा भएका सबै कुराहरू र भावनाहरू व्यक्त गर्नैपर्छ, वा आफूले देखे-सुनेका सबै कुरा अरूलाई सुनाउनैपर्छ भन्ने होइन । उदाहरणका लागि, भर्खरै जागिरबाट निकालिएको व्यक्तिलाई “अब त तिमी बेरोजगार भयौ” भन्नु असत्य कुरा त होइन, तर यो आवश्यक कुरा पनि होइन । त्यसै गरी, यदि हामीले कुनै व्यक्तिको बारेमा तेस्रो व्यक्तिबाट केही कुरा थाहा पायौं भने, सम्बन्धित व्यक्ति आफैँले नभनेसम्म हामीले उक्त व्यक्तिसँग त्यस विषयमा कुरा गर्नुहुँदैन । आफूले भन्न चाहेको कुरा साँचो भए पनि, पहिले ‘के यो कुरा उसको लागि उपयोगी होला ?’ भनेर सोच्नुपर्छ । त्यसो गर्दा अनावश्यक कुराहरू सजिलै छुट्‌ट्याउन सकिन्छ ।

कसैको मन नदुखाई गरिने रमाइला र सामान्य कुराकानीले पनि आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत गर्छन् । तर यदि त्यसले अनावश्यक विवाद निम्त्याउने वा वातावरणलाई असहज बनाउने सम्भावना छ भने, भन्न मन लागे पनि नबोल्नु नै बेस हुन्छ ।

(Kind)
के यो दयालु छ ?

हामीले भन्न लागेको कुरा सत्य, उपयोगी, प्रेरणादायी, र आवश्यक नै भए पनि, यदि त्यसमा ‘यो कुरा’को कमी छ भने, त्यो निरर्थक हुन्छ । त्यो कुरा नै मन्द मस्कानका साथ बोलिने नरम बोली, अर्थात् ‘दयालुपन’ हो । हाम्रो सन्देश जतिसुकै राम्रो भए पनि, यदि त्यसलाई रुखो वा ठाडो रूपमा व्यक्त गऱ्यौं भने, त्यसको राम्रो अर्थ बिग्रिएर गलत रूपमा प्रवाह हुन पुग्छ । यदि हाम्रो मनसाय खराब नभए पनि अरूलाई चोट पुग्छ भने, त्यसको मुख्य कारण हाम्रो बोल्ने शैली हुन सक्छ ।

जब मानिसहरू दुःखी वा निराश हुन्छन्, तब कुराकानी गर्दा आफ्नो भावना लुकाउन गाह्रो हुन्छ । सुरुमा मुस्कुराउँदै कुरा गरेको भए पनि, यदि अर्को व्यक्तिको बोल्ने तरिका मन परेन भने, स्वर ठूलो हुन सक्छ वा अनुहारको मुस्कान हराउन सक्छ । त्यसैले, एक-अर्कासँग राम्रो सम्बन्ध कायम राख्नका लागि क्रोध र झिजोपन जस्ता नकारात्मक भावनाहरूलाई नियन्त्रण गर्न सिक्नुपर्छ ।

मिलनसार व्यवहारले कुराकानी गर्दा एक-अर्काको विचार फरक भए पनि ठूलो समस्या निम्तिने जोखिम कम गर्छ । यदि कुनै व्यक्ति हाम्रो दयालुपनबाट प्रभावित भयो भने, उसले आफ्नो विचारलाई मात्र जोड दिनुको सट्टा हाम्रो कुरालाई स्वीकार गर्न र पछ्याउन चाहनेछ । तर यदि हामीले जबरजस्ती र कठोर बोली प्रयोग गऱ्यौं भने, हामीले उसलाई आफ्नो इच्छाअनुसार चल्न बाध्य त पार्न सक्छौं, तर उनीहरूको मन भने हामीबाट टाढिँदैजानेछ ।

मन लगाएर तयार पारिएको खानेकुरालाई राम्रो भाँडामा सजाउँदा त्यो अझ स्वादिष्ट र आकर्षक देखिन्छ । आफ्नो विचारलाई शब्दमा व्यक्त गर्दा पनि उस्तै हो । मन्द मुस्कानका साथ नरम स्वरमा बोलिएको बोलीले श्रोताको मन प्रसन्न बनाउँछ । यस्तो बोलीले आत्मीय वातावरण मात्र नभएर एक-अर्काप्रति विश्वास पनि बढाउँछ र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउँछ ।

“मीठो बोलीले फलामको ढोका पनि खोल्न सक्छ ।” तुर्केली उखान

“मीठो बोलीको मूल्य धेरै हुन्छ, तर यसको लागत केही हुँदैन ।” बेलायती उखान

वास्तवमा बोल्ने क्रममा भाषाको प्रयोग गर्दा कुनै पनि गल्ती नहुनु असम्भव कुरा हो । तर बोल्नुभन्दा पहिला ‘मैले बोलेको कुरा सुन्नेलाई कस्तो लाग्ला’ र ‘कसरी राम्ररी भन्न सकिएला’ भनेर सोच्ने बानी बसालियो भने धेरै गल्तीहरू कम गर्न सकिन्छ । यसरी आफ्ना अनुभवहरूबाट सिक्दै र निरन्तर प्रयास गर्दैजाँदा, बोलीमा हुने गल्तीहरू क्रमशः घट्दैजानेछन् ।

एक पटक बोलिसकेको बोली फिर्ता लिन त सकिँदैन, तर त्यो परिस्थितिलाई कसरी सम्हाल्ने भन्ने कुराले परिणाम फरक पार्न सक्छ । यदि तपाईंको बोलीले अजानमै भए पनि अर्को व्यक्तिको भावनामा चोट पुऱ्याउँछ भने “मेरो यस्तो मनसाय थिएन” भनी बहाना बनाएर आफ्नो गल्तीलाई सही साबित गर्ने प्रयास गर्नु वा “यति सानो कुरामा पनि किन चित्त दुखाएको ?” भन्दै उल्टै अर्को व्यक्तिलाई दोष दिनु गलत हो, तर आफ्नो गल्ती स्वीकार गरेर माफी माग्नुचाहिँ ठीक हो । यसो गर्दा ठूलो झगडाबाट बच्न सकिन्छ । अर्कोतर्फ, जब कसैको कुराले तपाईंलाई अप्ठ्यारो महसुस गराउँछ, तब उनीहरूको खराब नियत थिएन भन्ने थाहा पाएर “पक्कै पनि उनले सोचेर वा जानीजानी यसो भनेका होइनन् होला” भनी त्यसलाई बिर्सिदिनुपर्छ । त्यसो गर्दा, उनीहरूले आफ्ना गल्तीहरूप्रति तपाईंको उदारताको कदर गर्न सक्छन् र लामो समयसम्म कृतज्ञ एवं मायालु रहन सक्छन् । समझदारीमा आधारित विचारशील बोलाई र राम्रो सुनाइ नै एउटा सुमधुर सम्बन्ध निर्माणको बलियो जग हो ।

बोल्नुअघि सोच्नुहोस्

34:41
0:00 34:41

प्लेब्याक गति

1x

यो आवाज AI द्वारा उत्पन्न गरिएको हो। केही भिन्नताहरू हुन सक्छन्।