भार गरुङ्गो हुनुको अर्थ

दौडमा सहभागी हुने, प्रत्येक घोडाले तोकिएको एउटा निश्चित भार बोक्नुपर्ने हुन्छ । भार भन्नाले दौडँदा घोडाले बोक्नुपर्ने कुल तौल हो । यसमा जक्की (घुडसवार), जीन(घोडाको ढाडमा राखिने छालाको सिट), र जीनमुनिको कपडाको तौल समावेश हुन्छ ।
भार निर्धारण गर्ने विधिमध्ये ‘ह्यान्डीक्याप वेट’ एक हो, जसमा घोडाको उमेर, लिङ्ग, विगतको नतिजा, दौडको अवस्था र घोडाहरूबिचको क्षमताको भिन्नतालाई मूल्याङ्कन र विश्लेषण गरी फरक-फरक तौल तोकिन्छ । यसरी तौल फरक पार्नुको कारण उत्कृष्ट घोडाको एकतर्फी वर्चस्वलाई रोक्नु र दौडमा सहभागी सबै घोडाहरूलाई जित्ने समान अवसर प्रदान गर्नु हो । अर्थात्, जित्ने सम्भावना बढी भएका घोडाहरूलाई भारी तौल र कम सम्भावना भएकाहरूलाई हलुका तौल दिएर सबैको क्षमतालाई बराबर बनाउन खोजिन्छ । यो भार मिलाउनका लागि जक्कीहरू भारी ‘जीन’ प्रयोग गर्छन् र कहिलेकहीँ चाहिँ कम्मरमा सिसाको थैलीसमेत बाँध्ने गर्छन् । कतिपय अवस्थामा घोडाहरू बिचको यो तौलको अन्तर १० किलोग्रामभन्दा बढी पनि हुन सक्छ । अर्को शब्दमा भन्नुपर्दा, घोडा जति उत्कृष्ट हुन्छ, त्यसले त्यति नै बढी कष्ट भोग्नुपर्ने हुन्छ ।
यदि तपाईंको जीवनको भार पनि गह्रौं छ भने, यसरी सोच्दा कस्तो होला ? “मेरो जिम्मेवारीको भार गह्रौँ हुनुको अर्थ म बलियो छु र यो बोझलाई जित्न सक्ने क्षमता ममा छ भन्ने नै हो ।”