भावनात्मक बानी

संयुक्त राज्य अमेरिकाको नर्थवेस्टर्न युनिभर्सिटीका सामाजिक मनोवैज्ञानिक फिलिप ब्रिकम्यानले एउटा अनुसन्धान गरे । यो अनुसन्धानचाहिँ अचानक भाग्य चम्केर अत्यधिक खुसी भएका मानिस र अचानक दुर्घटनामा परी अपाङ्ग बन्दा चरम दुःखी भएका मानिसहरूको भावना समयसँगै कसरी बदलिन्छ भनेर जान्ने उद्देश्यले गरिएको थियो ।
केही समयपछि उनीहरूको खुसीको स्तर फेरि मापन गरियो । अचम्मको कुरा, अचानक धन सम्पत्ति पाएर निकै खुसी भएका मानिसहरू पहिले जस्तो खुसी थिएनन् । तर दुर्घटनाका कारण गहिरो दुःखमा परेका मानिसहरू भने त्यति दुःखी थिएनन् ।
वास्तवमा, मानव मस्तिष्कको एउटा अनौठो बानी हुन्छ—बाहिरी घटनाले जस्तैसुकै उतारचढाव ल्याए पनि समय बित्दैजाँदा यो आफ्नो पुरानै परिचित भावनात्मक अवस्थामा फर्किन्छ । नकारात्मक भावनाको बानी परेको दिमागले दिनभरि नकारात्मक घटनाहरूलाई बढी प्रार्थमिकता दिन्छ र तिनीहरूलाई लामो समयसम्म सम्झिरहन्छ । यसको ठीक विपरीत, जुन दिमागलाई खुसी हुने बानी परेको हुन्छ, त्यसले नराम्रा कुरालाई भन्दा राम्रा कुराहरूलाई बढी ग्रहण गर्छ । दिनभरिका कुराहरू सम्झँदा पनि उसले पहिले खुसीका क्षणहरू नै सम्झिन्छ ।
नकारात्मक भावनात्मक बानीहरूलाई हटाएर सधैँ खुसी र कृतज्ञ रहने बानी बसाल्ने एउटै मात्र उपाय भनेको लगातार ‘अभ्यास गर्नु’ हो । त्यसैले परमेश्वरले भन्नुभयो,
“सधैँ आनन्दित रहो । निरन्तर प्रार्थना गरिरहो । सबै परिस्थितिमा धन्यवाद देओ, किनकि ख्रीष्ट येशूमा तिमीहरूका लागि परमेश्वरको इच्छा यही हो ।” १ थेस ५:१६-१८