समयको बहावलाई कसैले रोक्न नसकेजस्तै बुढेस्काललाई पनि कसैले रोक्न सक्दैन । बुढेस्कालका चिन्हहरू लुकाउन मानिसहरू कपालमा रङ लगाउने वा फेसियल बोटक्स सुई लगाउने गर्छन् । आफ्नो बुढेस्काललाई खुशीसाथ स्वीकार्ने मानिस सायद एक जना पनि छैन होला ।
तर बूढी हुन इच्छा गरेकी एक जना स्त्री थिइन् । बेलायतकी एक जना साधारण गृहिणी, दुई सन्तानकी आमा स्यार्लट किट्लीलाई चौथो स्तरको पेट क्यान्सर निदान भयो । त्यस बेलादेखि उनले हरेक बिहान आफ्ना बच्चाहरूलाई उठाउँदै अँगालेर चुम्बन गर्न पाउनु कति धन्यवादको कुरा हो भनी गहिरो गरी महसुस गरिन् । उनले गर्ने कामहरू धेरै थिए : हरेक बिहान पतिले बनाएको कफी पिउने, छोरीको कपाल बाटिदिने र छोराको हराएको खेलौना खोजिदिने आदि । तर उनको जीवनमा समय यति थोरै थियो, कि त्यस सीमित जीवनप्रति उनी केवल क्षमाप्रार्थी भइन् । २५ पटकको रेडियोथेरापी र ३९ पटकको केमोथेरापी गरेर उनले जिउनलाई अनेक उपाय अपनाइन् तर मृत्युलाई जित्न सकिनन् । अन्ततः ३६ वर्षको उमेरमा यो संसारबाट बिदा हुनअघि उनले आफ्नो ब्लगमा अन्तिम सन्देश छोडिन् ।
“कम्मरमा बोसो लागेको अनुभव गर्न पाए ! फुलेको कपाल ! यसको लागि म कहाँ गएर आवेदन दिऊँ ? म बूढी हुँदैछु भन्ने कुराका सबै चिन्हहरूलाई म स्वीकार्नेछु । किनभने म त्यति नै धेरै समयसम्म बाँचें भन्ने अर्थ हो । म बूढी हुन चाहन्छु । कृपया जीवनको आनन्द लिनुहोस् । दुवै हातले लिनुहोस् । म यहाँहरूप्रति लालायित छु !”