बाइबलमा बोलीद्वारा आशिष् पाएका मानिसहरू र श्राप पाएका मानिसहरूको इतिहास अभिलेख गरिएको छ । उनीहरूको इतिहासमार्फत हामीले कस्तो बोली बोल्नुपर्छ भन्नेबारे विचार गरिहेरौं ।
१. स्वर्गको राज्यका साँचाहरू पाएका पत्रुस
येशू … “तिमीहरू के भन्छौ, म को हुँ ?” सिमोन पत्रुसले जवाफ दिए, “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र ।” येशूले तिनलाई भन्नुभयो, “योनाको छोरो सिमोन, तिमी धन्य हौ … म तिमीलाई स्वर्गको राज्यका साँचाहरू दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔला, सो स्वर्गमा फुकाइनेछ ।” मत्ती १६:१३-१९
येशूज्यूले “तिमीहरू के भन्छौ, म को हुँ ?” भनेर सोध्नुहुँदा, पत्रुसले “तपाईं ख्रीष्ट हुनुहुन्छ, जीवित परमेश्वरको पुत्र” भनेर विनाहिचकिचाहट जवाफ दिए । विश्वासपूर्ण बोलीको परिणामस्वरूप पत्रुसले येशूज्यूबाट स्वर्गको राज्यका साँचाहरू प्राप्त गर्ने ठूलो आशिष् पाउन सके ।
२. येशूज्यूको दायाँपट्टिको डाँकूले मुक्ति पाएको
क्रूसमा टाँगिएका अपराधीहरूमध्ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्यो, “के तिमी ख्रीष्ट होइनौ ? तिमी आफैलाई र हामीलाई बचाऊ ।” तर त्यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्यही दण्डमा परेको छस्, तापनि परमेश्वरको डर मान्दैनस् ? हाम्रो दण्ड त न्यायोचित छ, किनकि हामीले त आफ्नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन् ।” तब त्यसले भन्यो, “हे येशू, तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस् ।” उहाँले त्यसलाई भन्नुभयो, “साँच्चै म तिमीलाई भन्दछु, आजै तिमी मसित स्वर्गलोकमा हुनेछौ ।” लूक २३:३९-४३
येशूज्यूलाई क्रूसमा टाँग्दा मानिसहरू र शासकहरूले “तँ ख्रीष्ट होस् भने आफूलाई बचा” भन्दै येशूज्यूको गिल्ला गरे । येशूज्यूको बायाँपट्टिको डाँकूले समेत “के तिमी ख्रीष्ट होइनौ ? हामीलाई बचाऊ” भन्दै येशूज्यूको खिसी गऱ्यो ।
तर दायाँपट्टिको डाँकू भने तिनीहरूभन्दा फरक थियो । येशूज्यूले गर्नुभएका कार्यहरू कुनै पनि अनुचित थिएनन् भन्दै त्यसले येशूज्यूको प्रतिरक्षा गऱ्यो । अनि त्यसले येशूज्यूलाई “तपाईं आफ्नो राज्यमा आउनुहुँदा मलाई सम्झनुहोस्” भन्दै येशूज्यूप्रतिको आफ्नो विश्वास प्रकट गऱ्यो । क्रूसको कष्ट भोग्नुहुँदै गिल्ला र अपमान सहिरहनुभएको अत्यन्त पीडादायी अवस्थामा दायाँपट्टिको डाँकूको विश्वासपूर्ण बोलीले येशूज्यू प्रभावित हुनुभयो, र उहाँले सान्त्वना पाउनुभयो । परिणामस्वरूप येशूज्यूले त्यसलाई उहाँसित स्वर्गलोकमा रहने अनुमति दिनुभयो । अनुग्रहपूर्ण बोलीद्वारा दायाँपट्टिको डाँकूले मुक्तिको आशिष् प्राप्त गऱ्यो ।
३. आफू लगायत आफ्ना सन्तानमाथि समेत श्राप मागेका यहूदीहरूको इतिहास
तर केही सीप नलागेको देखेर, बरु खैलाबैला मच्चिन्छ भन्ने डरले पिलातसले पानी लिई भीडको सामु आफ्ना हात धोएर भने, “तिमीहरू आफै जान, म यस मानिसको रगतदेखि निर्दोष छु ।” सबै मानिसहरूले जवाफ दिए, “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस् ।” मत्ती २७:२४-२५
यहूदीहरूले ख्रीष्टको रूपमा आउनुभएका येशूज्यूलाई क्रूसमा टाँग्ने पाप गरे । अनि “उसको रगत हामीहरू र हामीहरूका सन्तानमाथि परोस्” भन्ने बोलीद्वारा आफूमाथि दण्ड निम्त्याए । अन्तमा तिनीहरूले आफ्नो दोषपूर्ण बोलीद्वारा दण्ड भोगे । ई.सं. ७०मा यरूशलेम नष्ट भयो । दोस्रो विश्वयुद्धको समयमा जर्मन नाजी सेनाद्वारा ६० लाख यहूदीहरूको नरसंहार भयो । दोषपूर्ण बोलीको परिणामस्वरूप तिनीहरूले मात्र नभएर तिनीहरूका सन्तानहरूले समेत भयङ्कर विनाश भोगे ।
४. कनानको भूमिमा प्रवेश गर्न नसकेका मोशा
समुदायको निम्ति त्यहाँ पानी थिएन, अनि मानिसहरू मोशा र हारूनका विरुद्धमा जम्मा भए … परमप्रभुले मोशालाई भन्नुभयो, “… तिनीहरूका आँखाकै सामुन्ने यस चट्टानलाई हुकुम गर् र चट्टानबाट पानी निस्कनेछ, …” … तब मोशाले तिनीहरूलाई भने, “सुन, ए विद्रोही मानिस हो ! के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔं ?” अनि मोशाले आफ्नो हात उठाएर दुई पल्ट आफ्नो लहुरोले चट्टान हिर्काए । तब त्यहाँबाट प्रशस्त पानी फुटेर निस्क्यो, अनि समुदाय र तिनीहरूका गाईबस्तुले पिए । तर परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “मलाई इस्राएलीहरूका सामु पवित्र तुल्याउनलाई तिमीहरूले ममाथि विश्वास नगरेको हुनाले मैले तिनीहरूलाई दिने देशमा तिमीहरूले यस समुदायलाई पुर्याउन पाउनेछैनौ ।” गन्ती २०:२-१२
मोशाको एउटा बोलीले गर्दा उनी आफ्नो जीवनको सबैभन्दा ठूलो इच्छा रहेको कनानको भूमिमा प्रवेश गर्न सकेनन् । चट्टानमा हिर्काउँदा पानी निस्केको चाहिँ परमेश्वरको शक्तिले गर्दा थियो । त्यसैले मोशाले परमेश्वरलाई महिमा चढाउनुपर्थ्यो, तर तिनले “के यही चट्टानबाट हामी तिमीहरूका निम्ति पानी निकालिदिऔं ?” भन्दै आफ्नो महिमा गरे । परमेश्वरको होइनकि आफ्नो महिमा गर्ने बोलीले गर्दा मोशा आफूले अति चाहेको कनानको भूमिमा प्रवेश गर्न सकेनन् ।
५. इस्राएलीहरूलाई पाप गर्न लगाएका १० जना गुप्तचरहरूn
चालीस दिनको अन्तमा त्यस देशको भेद लिइसकेपछि तिनीहरू फर्के … “… ती हामीभन्दा बलिया छन् ।” भेद लिन गएको देशबाट नराम्रो खबर सुनाएर तिनीहरूले इस्राएलीहरूलाई भने, “हामीले भेद लिएर आएको देशले त आफ्नै बासिन्दाहरूलाई निलिहाल्दोरहेछ, र हामीले त्यहाँ देखेका मानिसहरू दैत्यजस्ता रहेछन् । त्यहाँ हामीले नेफिलीमहरू देख्यौं, जसबाट अनाकका सन्तान आएका छन् । उनीहरूका सामु त हामी आफैलाई फटेङ्ग्राजस्तै लाग्यो । तिनीहरूका नजरमा हामीहरू त्यस्तै देखिन्थ्यौं ।” त्यस रात सारा समुदाय कराई-कराई रोए । सबै इस्राएलीहरू मोशा र हारूनका विरुद्धमा गनगनाए, … गन्ती १३:२५-१४:१३
१२ जना गुप्तचरहरूमध्ये, कनानको भूमि दिनेछु भन्नुभएका परमेश्वरको वचनलाई विश्वास नगरेका १० जना गुप्तचरहरूले कनानको भूमि कदापि कब्जा गर्न सक्नेछैनौं भन्ने नराम्रो खबर सुनाए । परिणामस्वरूप सारा इस्राएलीहरूले परमेश्वरविरुद्ध गनगन र गुनासो गरे । अन्ततः नराम्रो खबर सुनाएका ती गुप्तचरहरू र तिनीहरूका कुरामा सहमत हुँदै गनगन र गुनासो गरेका इस्राएलीहरू सबै उजाड-स्थानमै नष्ट भए (गन्ती १४:३५-३८) ।
बाइबलको यो इतिहासले बोली कति महत्त्वपूर्ण छ भन्ने कुरा दर्शाउँछ । अनुग्रह र विश्वासपूर्ण बोली बोलेमा सधैँ परमेश्वरबाट आशिष् पाइन्छ, तर विश्वासहीन र दुष्ट बोली बोलेमा श्राप र अनुग्रहहीन परिणाम मिल्नेछ । बाइबलका शिक्षाहरूलाई याद गर्दै सधैँ अनुग्रह र विश्वासपूर्ण बोलीद्वारा परमेश्वरबाट प्रशस्त आशिष् पाउने परमेश्वरका सन्तानहरू होऔं ।
- समीक्षात्मक प्रश्न
- दायाँपट्टिको डाँकूले कसरी मुक्ति पाउन सक्यो ?
- मोशा आफूले अति चाहेको कनानको भूमिमा प्रवेश गर्न नसक्नुको कारण के थियो ?