शबाथ-दिनको तयारी कसरी गर्नुपर्छ होला ?

1450 हेरेको संख्या

परमेश्वरबाट प्रशस्त आशिष् पाउनको निम्ति हामीले कसरी शबाथ-दिनको तयारी गर्नुपर्छ भन्नेबारे पत्ता लगाऔं ।

पहिलो, हामीले तयारीको दिनद्वारा शबाथ-दिनको तयारी गर्नुपर्छ ।

शबाथ-दिनको अघिल्लो दिनलाई शबाथको तयारी गर्ने भन्ने अर्थमा तयारीको दिन भनिन्छ । हामीले हाम्रो व्यक्तिगत कामकाजहरू सबै शबाथ-दिनको अघिल्लो दिनमै सिद्ध्याउँदा राम्रो हुन्छ, किनभने शारीरिक कामकाजले हामीलाई शबाथ-दिनमा आत्मा र सत्यतामा आराधना गर्न बाधा पुऱ्याउन सक्छ ।

“परमेश्वर आत्मा हुनुहुन्छ, र उहाँका आराधकहरूले आत्मा र सत्यतामा आराधना गर्नुपर्छ ।” यूह ४:२४

दोस्रो, आराधनाप्रति हामीहरू समयनिष्ठ हुनुपर्छ ।

शबाथ-दिनको आराधना समयचाहिँ सारा ब्रह्माण्डमाथि शासन गर्नुहुने परमेश्वरलाई भेट्ने समय हो । यदि यो संसारमा कुनै देशका राष्ट्रपतिलाई भेट्ने अवसर मिल्यो भने मानिसहरू प्रतिज्ञा गरिएको समयभन्दा १ घण्टा अथवा कम्तीमा पनि २०-३० मिनेटअघि नै तोकिएको ठाउँमा पुगेर प्रतीक्षा गर्ने गर्छन् भने राजाहरूका राजा हुनुभएका परमेश्वरलाई भेटेर आशिष् पाउने समय झन् त्योभन्दा कति अमूल्य र महान् होला ? तसर्थ हामीले समयभन्दा अगाडि नै पुगेर आराधनाको पूर्वतयारी गर्नुपर्छ ।

तेस्रो, भक्तिपूर्ण र शान्त वातावरणमा आराधना गर्नुपर्छ ।

शबाथ-दिनको आराधनाचाहिँ आत्मा र सत्यतामा प्रार्थना गर्दै परमेश्वरलाई प्रशंसा र महिमा गर्ने समय हो । त्यसैले शान्त र भक्तिपूर्ण वातावरणमा शबाथ-दिन मान्नुपर्छ । तर आराधना गरिरहेको बेला कहिलेकहीँ बालकहरू रोएको र हल्ला गरेको आवाज सुनिन्छ । यस्तो बेलामा सबै आराधकहरूको ध्यान त्यतातिर खिँचिन्छ, र सबैलाई असहज लाग्न पुग्छ ।

त्यसो भन्दैमा साना बालबालिकाहरूलाई मण्डलीमा नल्याउनू भन्ने अर्थचाहिँ कदापि होइन । येशूज्यूले पनि साना बालबालिकाहरूलाई असाध्यै माया गर्नुहुन्थ्यो (मर्क १०:१४) ।

बुबा-आमाले आफ्ना बच्चाहरूलाई “मण्डलीचाहिँ भक्तिसाथ आराधना गर्ने ठाउँ भएकोले आराधनाको समयमा हल्ला गर्नुहुँदैन” भन्ने कुरा पहिल्यै सिकाइदिनुपर्छ । साना बालबालिकाहरूले बुबा-आमाबाट यसरी निर्देशन पाए भने अबोध नै भए पनि तिनीहरूले परमेश्वरलाई आराधना गर्ने भक्तिपूर्ण मन सिक्नेछन् ।

जे सुनिएको छ, त्यसैबाट विश्वास आउँछ र जे सुनिन्छ त्यो ख्रीष्टको प्रचारबाट आउँछ । रोम १०:१७

चौथो, शबाथ-दिनचाहिँ भातृ-प्रेमलाई व्यवहारमा लागू गर्ने दिन हो ।

शबाथ-दिनचाहिँ एक हप्तासम्म भेट नभएका मायालु विश्वासी दाजुभाइ, दिदीबहिनीहरूलाई भेट्ने अमूल्य समय पनि हो । एक हप्तासम्म बिछोडिएर फेरि भेट हुँदा सोध्न र भन्न चाहेका कुराहरू कति धेरै हुन्छ होला ? बाइबलसम्बन्धी जान्न चाहेको कुरा छ भने सोध्ने, गत एक हप्तासम्म घटेका विभिन्न घटनाबारे कुराकानी गर्ने र सहयोगी मनद्वारा एकले अर्काको निम्ति प्रार्थना गरिदिने इत्यादिद्वारा हामीहरू साँचो मेलमिलापमा रहनको निम्ति प्रयत्न गर्नुपर्छ ।

तर विश्वासी सन्तहरूसित सुमधुर सम्बन्ध गाँस्ने क्रममा हामीले अनिवार्य ध्यान दिनुपर्ने केही कुराहरू छन् ।

  • आफूमा धाक लगाउनुहुँदैन, घमण्ड गर्नुहुँदैन ।
  • अरूमा कुनै कमजोर पक्ष छ भने पनि तिनको गल्तीलाई ढाकछोप गर्दै फराकिलो मनले अँगाल्नुपर्छ ।
  • अरूले सुन्दा अनुग्रह नमिल्ने बोलीभन्दा अनुग्रह मिल्ने बोली बोल्नुपर्छ ।
  • सुन्नेलाई अनुग्रह मिल्ने र अरूको भलो हुने सद्गुणको बोली बोल्नुपर्छ ।
  • अँध्यारो र अरूलाई अप्ठ्यारो लाग्ने अनुहारद्वारा होइन, तर उज्यालो र खुलस्त मुस्कानद्वारा एक-अर्कालाई अभिवादन गर्नुपर्छ ।
  • ग्रूप लिडर र यूनिट लिडरहरूले चाहिँ आफूले जिम्मा पाएका भेडाहरूले खुशी र आनन्दसाथ शबाथ-दिन बिताउन सक्ने गरी सबै कार्यहरूमा सहृदयले सेवा गर्नुपर्छ ।
  • आराधना सकिएपछि मण्डलीभित्र कागजका टुक्रा, किताब, झोला, बिस्कुटका खोल, फलफूलका बोक्रा इत्यादि यत्रतत्र छरिएको हुन सक्छ । ती सबै सफा गऱ्यौं अथवा हटायौं भने गुप्तमा हेर्नुहुने परमेश्वरले साँचो हृदयले गरेको यस्तो सेवाको निम्ति आशिष् दिनुहुनेछ ।

शबाथ-दिन साँच्चै पवित्र र आशिषित दिन हो । शबाथ-दिन मान्ने कुराचाहिँ केवल परमेश्वरका प्रजाहरूलाई दिइएको विशेषाधिकार हो । हामीहरू सारा हृदय, सारा प्राण र सारा समझले तयारी गरेर शबाथ-दिन मान्ने परमेश्वरका सन्तानहरू होऔं ।

समीक्षात्मक प्रश्न
अनुग्रहात्मक रूपले शबाथ-दिनको तयारी गर्न हामीले आफ्नो व्यक्तिगत कामकाजलाई कसरी मिलाउनुपर्छ होला ?
शबाथ-दिनमा सन्तहरूसित भेट्दा हामीले ध्यान दिनुपर्ने कुराहरू के-के हुन् ?