हाम्रो परमेश्वरको मण्डलीमा प्रत्येक वर्ष निस्तार-चाड मान्ने गरिन्छ । कसै-कसैले “विश्वासको जीवनमा औपचारिकताभन्दा विश्वास अझ महत्त्वपूर्ण छ” भन्ने गर्छन् । निस्तार-चाड मान्नैपर्छ र ?
हामीले परमेश्वरलाई विश्वास गर्ने भएकोले हामी निस्तार-चाड मान्छौं । एउटा उदाहरण दिन्छु, यदि बिरामीले डाक्टरलाई भरोसा गर्छु भन्छ, तर डाक्टरले भनेअनुसार गर्दैन भने के हुन्छ होला ? बिरामीले डाक्टरलाई भरोसा गर्छ भने उसले डाक्टरको निर्देशनलाई पछ्याउँछ । त्यसै गरी पापी भएका हामीहरूले मुक्तिदाता हुनुभएका परमेश्वरलाई विश्वास गर्छौं भने परमेश्वरले मान्नू भनी आज्ञा गर्नुभएको पाप-क्षमाको व्यवस्था मान्नु स्वाभाविक हो ।
हामीले परमेश्वरलाई विश्वास गर्ने भएकोले वचन पालन गर्नुपर्छ भन्न खोज्नुभएको हो ?
हजुर, हो । निस्तार-चाडचाहिँ परमेश्वरको सन्तान भएअनुरूप हामीले मान्नैपर्ने अमूल्य आज्ञा हो । किनभने योचाहिँ हाम्रो विश्वासको उदाहरणीय व्यक्ति हुनुभएका येशूज्यू स्वयम्ले मान्नू भनी आज्ञा गर्नुभएको चाड हो (यूहन्ना १३:१५) ।
उहाँले भन्नुभयो, “सहरमा एक जना मानिसकहाँ जाओ, र तिनलाई भन, ‘गुरुज्यू भन्नुहुन्छ, मेरो बेला नजिक आएको छ । म आफ्ना चेलाहरूसँग तिम्रो घरमा निस्तार-चाड मान्नेछु’ ।” तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।”
मत्ती २६:१८-२८
येशूज्यूले आफ्ना चेलाहरूलाई निस्तार-चाडको प्रबन्ध मिलाउन आदेश दिनुभयो, र उनीहरूसँगै निस्तार-चाड मान्नुभयो । येशूज्यू हामीलाई मुक्ति दिनको निम्ति यो पृथ्वीमा आउनुभएका परमेश्वर हुनुहुन्छ (फिलिप्पी २:५-८) । परमेश्वरलाई विश्वास गर्ने जो कोहीले परमेश्वरले देखाइदिनुभएको उदाहरणलाई पछ्याउनुपर्छ ।
परमेश्वरले किन निस्तार-चाड मान्नू भनेर भन्नुभएको होला ? म यस विषयमा जान्न चाहन्छु ।
निस्तार-चाडमा धेरै अर्थहरू समावेश छन् । तर छोटकरीमा भन्नुपर्दा, परमेश्वरले हामीलाई अनन्त जीवन दिन चाहनुहुन्छ ।
“साँच्चै म तिमीहरूलाई भन्दछु, जसले विश्वास गर्छ त्यससित अनन्त जीवन छ । …” येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु । …”
यूहन्ना ६:४७-५६
अमरत्व धारण गर्नुभएका येशूज्यूको देह खाने र रगत पिउने जो कोहीले पनि अनन्त जीवन प्राप्त गर्न सक्छ । येशूज्यूको देह र रगत खान र पिउन सकिने तरिका नै निस्तार-चाड हो । निष्कर्षमा भन्नुपर्दा, निस्तार-चाड मानेमा येशूज्यूको देह र रगत खान र पिउन पुगिन्छ, अनि अनन्त जीवन प्राप्त गर्न सकिन्छ ।
हामीले अनन्त जीवन प्राप्त गऱ्यौं भने के हामी यो पृथ्वीमा सदाकाल जिउँछौं ?
परमेश्वरले प्रतिज्ञा गर्नुभएको अनन्त जीवनचाहिँ हाम्रो आत्मालाई नयाँ आकाश र नयाँ पृथ्वी अर्थात् स्वर्गमा सदाकाल जिउने गराउनको निम्ति हो । स्वर्ग जति व्यग्रतापूर्वक जान चाहे तापनि हामी मरणशील शरीर लिएर त्यहाँ जान सक्दैनौं, किनभने स्वर्गचाहिँ मृत्यु नहुने ठाउँ हो ।
तब मैले नयाँ आकाश र नयाँ पृथ्वी देखें, किनकि पहिलो आकाश र पहिलो पृथ्वी बितिगएका थिए । समुद्र त अब छँदैथिएन । … “उहाँले तिनीहरूका आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ, र फेरि मृत्यु नै हुनेछैन, र शोक र पीडा पनि हुनेछैन । …”
प्रकाश २१:१-४
मृत्यु नहुने स्वर्गमा जानको निम्ति हामीमा अमरणशील शरीर हुनैपर्छ । परमेश्वरले निस्तार-चाडमा अनन्त जीवनको प्रतिज्ञा राख्नुभएको छ । निस्तार-चाड मान्ने जो कोहीले पनि अमरणशील शरीर धारण गरी स्वर्ग प्रवेश गर्न सक्ने योग्यता प्राप्त गर्छ । त्यसैकारण येशूज्यू स्वयम्ले निस्तार-चाड मान्ने उदाहरण देखाइदिनुभई आफ्ना चेलाहरूलाई पनि मान्न लगाउनुभयो ।
मैले बल्ल बुझें । तसर्थ निस्तार-चाड नै स्वर्ग जाने मार्ग रहेछ ।
परमेश्वरका सबै आज्ञाहरू हाम्रा पापहरू पखालेर हामीलाई स्वर्ग लैजानको निम्ति स्थापना गरिएका हुन् । परमेश्वरको वचनमा आज्ञाकारी हुँदै पूर्ण रूपले निस्तार-चाड मानेमा मात्रै हामी स्वर्ग जान सक्छौं ।
ए, त्यसो पो । परमेश्वरले किन निस्तार-चाड मान्नू भनी आज्ञा गर्नुभएको रहेछ भनेर मैले बल्ल बुझें । आइरहेको निस्तार-चाड मैले अझ भक्तिपूर्वक मान्न सक्छु जस्तो लाग्छ । निस्तार-चाड मान्न म अति उत्सुक छु ।