कारागारबाट चिट्ठी

13,742 भ्यु

महात्मा गान्धीसँगै भारतको स्वतन्त्रताको निम्ति लडेका, र पछि भारतको प्रथम प्रधानमन्त्री भएका जवाहरलाल नेहरु । भारत बेलायतको शासनमुनि रहेको बेला औपनिवेशिक शासनको विरोध गरेका उनी कैयौँ पटक कारागारमा कैद भएका थिए । नैनी कारागारमा कैद भएको समयदेखि उनले आफ्नी छोरी इन्दिरालाई चिट्ठी लेखे । उनले ३ वर्षमा १९० वटा चिट्ठीहरू पठाए । त्यसोभए उनले आफ्नी मायालु छोरीलाई व्यग्रतापूर्वक के भन्न चाहेका थिए होलान् ?

“हरेक जन्मदिनमा तिमीले शुभकामना र उपहारहरू पाउने गर्थ्यौ । तिमीलाई तिम्रो जन्मदिनको धेरै शुभकामना, तर यो नैनी कारागारबाट मैले तिमीलाई के उपहार पठाउन सक्छु र ? तिमीलाई भौतिक उपहार पठाउन असमर्थ छु ।”

नेहरुले कारागारमा आफूले गर्न सक्ने सबै प्रयत्न गरेर आफ्नी छोरीलाई अमूल्य उपहार पठाए । त्यो नै संसारको इतिहासबारे उनको हस्त-लिखित कथा थियो । उनले प्राचीन ग्रीसको नगर-राज्यहरूको इतिहासदेखि लिएर गेङ्गिस खानको मङ्गोल साम्राज्यसम्मको विशाल इतिहासबारे चिट्ठी लेखे । त्यो कुनै विशेष देश अथवा समयको ऐतिहासिक अभिलेख मात्र थिएन । उनले छोरीलाई इतिहास हेर्ने सही तरिका परिभाषित गरिदिँदै इतिहासबाट के सिक्ने भनेर स्पष्टसित वर्णन गरिदिए, र लिडरको रूपमा तिनले पछ्याउनुपर्ने नैतिक मार्गनिर्देशनहरू पनि विस्तृत रूपमा सिकाइदिए । किनकि इन्दिराले संसारप्रति सही दृष्टिकोण र सन्तुलित ऐतिहासिक चेतना लिएर सद्‌गुण धारण गर्दै भविष्यमा देशको विकासको निम्ति योगदान पुऱ्याउनेछिन् भन्ने आशा नेहरुले राखेका थिए ।

“इतिहास पढेर विगतको संसार तथा त्यसमा भूमिका खेलेका महान् व्यक्तिहरूको बारेमा सोच्नु निकै रोचक कुरा हो । तर अझ बढी रोचक कुराचाहिँ भविष्यको इतिहास बनाउन मद्दत गर्नु हो ।”

उनलाई कैद गरेर राखिएको कारागारमा पुस्तकालय नभएकोले सन्दर्भ पुस्तक वा ऐतिहासिक अभिलेखहरू पाउन सजिलो थिएन । धन्न, उनले पहिल्यै धेरै पुस्तकहरू पढेर ती विषयवस्तुको सारांश थुप्रै नोटहरूमा लेखेर राखेका थिए । छोरीको याद आउँदा, र आफ्नो देशको भविष्यबारे चिन्तित हुँदाखेरि उनले ती नोटलाई सन्दर्भ बनाउँदै चिट्ठी लेखे । छोरीको जन्मदिन र नयाँ वर्षजस्ता विशेष दिनमा उनले आफ्नी छोरीलाई लेखेको चिट्ठीको प्रत्येक शब्द पढ्दाखेरि चाहे त्यो दिन विशेष होस् या नहोस् बुबाको प्रेम महसुस गर्न सकिन्छ ।

“तिमीलाई यी पत्रहरू रोचक लाग्छन् कि लाग्दैनन् भन्ने कुरा मलाई थाहा छैन । वास्तवमा भन्नुपर्दा, तिमीले यो पत्र पाउँछौ कि पाउँदैनौ, अनि यो पत्र पायौ भने पढ्छौ कि पढ्दैनौ भन्ने कुरा पनि मलाई थाहा छैन । अचम्म लाग्छ, हामी यति नजिक भएर पनि यति टाढा छौं ।”

छोरीकहाँ चिट्ठी पुग्ने हो कि होइन भन्ने कुरा थाहा नभए पनि नेहरुले आशा नगुमाईकन प्रेम र ज्ञानद्वारा एउटा-एउटा वाक्य गर्दै चिट्ठी लेखे । उनकी छोरी इन्दिरा गान्धीले टाढैबाट भए पनि चिट्ठीहरू पढ्दै बुबाको प्रेम महसुस गरेर ज्ञान प्राप्त गर्न र सद्गुण सिक्न सकिन्, अनि पछि तिनले भारतको प्रथम महिला प्रधानमन्त्री भएर देशको विकासको लागि योगदान पुऱ्याइन् ।

परमेश्वरका सन्तानहरूको पनि इन्दिराको जस्तै समान अनुभव छ । उत्पत्तिदेखि प्रकाशसम्म, ६६ भागको पुस्तक बाइबलचाहिँ परमेश्वरले उहाँका सन्तानहरूलाई पठाउनुभएको चिट्ठी हो । लामो समयदेखि थुप्रै अगमवक्ताहरूमार्फत पठाउनुभएको यो चिट्ठीमा स्वर्गीय पिता-माताको असीमित प्रेम समावेश छ । यसका साथै विश्वास गरेर पालन गरेमा मुक्ति पाउन सकिने जीवनको सत्यता, स्वर्गको उत्तराधिकार पाउने मानिसहरूले लिनुपर्ने सद्गुण र आत्मिक शिक्षाहरू अनि मानव-जातिलाई बचाउने अमूल्य भिजन समावेश छ ।

अब परमेश्वरको चिट्ठीको जवाफ दिने पालो हाम्रो हो । हामीले पिता र माताबाट असीमित प्रेम र असल शिक्षाहरू पाएका छौं । त्यसोभए हामीहरू कस्तो मानिस हुनुपर्छ होला ?

“… पवित्र-धर्मशास्त्रसँग परिचित छौ, जसले ख्रीष्ट येशूमा भएको विश्वासद्वारा मुक्तिको निम्ति तिमीलाई शिक्षा दिन सक्छ । सम्पूर्ण पवित्र-शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो, र यो सिकाउनलाई, अर्ती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालीम दिनलाई लाभदायक हुन्छ, ताकि परमेश्वरको जन हरेक सुकर्ममा पूर्ण रूपले सुसज्जित भई सिद्ध भएको होस् ।” २ तिमो ३:१५-१७

सन्दर्भ
जवाहरलाल नेहरु, १९४२ विश्व इतिहासको झलक, लन्डनः पेन्ग्विन पुस्तक