पुरीम

‘पुरीम’ शब्द ‘पुर’ भन्ने क्रियाबाट व्यूत्पन्न भएको शब्द हो, जसको अर्थ ‘चिट्ठा हाल्नु’ हो ।

62,929 भ्यु

पुरीमचाहिँ हामानले फारस [मादी-फारस]मा रहेका सबै यहूदीहरूलाई पूर हालेर मार्ने निर्णय गरेको दिन अर्थात् एस्तर र मोर्दकैले हामानलाई पराजित गरेको दिनको सम्झना गर्ने दिन हो (चिट्ठा, एस ३:७; ९:१)। मोशाको व्यवस्थामा, परमेश्वरले मोशामार्फत तोक्नुभएको ३ चरणका ७ वटा चाडहरू छन् । तर ‘पुरीम’चाहिँ एक इस्राएली पर्व हो, जुन ३ चरणका ७ वटा चाडहरूसँग सम्बन्धित छैन ।

‘पुरीम’को उत्पत्तिबारे अध्ययन गरौं ।

१. ऐतिहासिक पृष्ठभूमि

यहूदीहरू बेबिलोनमा कैदी बनाएर लगिए । तर केही समयपछि बेबिलोन फारस [मादी-फारस] द्वारा नष्ट भयो, र यहूदीहरू फारसीहरूको शासनमा रहे । यहूदीहरू अल्पसंख्यक जाति थिए, तर पनि तिनीहरूले परमेश्वरको प्रजा भएको कुरामा गर्व गर्दै परमेश्वरको इच्छा पालन गर्न खोजे ।

जब परमेश्वरको योजनाअनुसार यहूदीहरूले बेबिलोनमा ७० वर्षसम्म कैदी जीवन बिताए, तब उनीहरू पहिलो र दोस्रो पल्ट गरी दुई पल्ट यरूशलेम फर्किए । योचाहिँ अहासूरस राजाको शासनकालमा यहूदीहरू पहिलो र दोस्रो पल्ट यरूशलेम फिर्ता हुनुअघि फारसमा हुँदा भएको कुरा थियो ।

२. एस्तर महारानी भएकी

एक दिन, फारसका राजा अहासूरसले सबै मानिसहरू र भारदारहरूलाई भेला गरेर भोज दिए । उनले त्यो भोजमा रानी वश्तीलाई आफ्नो सौन्दर्य देखाउन निम्तो दिए । तर दरबारमा अरू स्त्रीहरूसँग भोज गरिरहेकी रानीले राजाको आदेशलाई बेवास्ता गरिन् र राजाको अगाडि आउन इन्कार गरिन् । यसले गर्दा अहासूरस राजा रिसले यति चुर भए कि उनले रानी वश्तीलाई पदच्युत गरिदिए । उनले नयाँ रानी छनोट गर्ने निर्णय गरे, र फारसको राजधानी शूशनमा बस्ने यहूदी ‘एस्तर’लाई नयाँ रानीको रूपमा नियुक्त गरे । यसरी एस्तर फारसकी रानी भइन् । एस्तर मोर्दकैकी भतिजी थिइन् । एस्तरको आमा-बाबु नभएकोले मोर्दकैले उनलाई आफ्नै छोरीजस्तै गरी हुर्काए ।

३. राजाको जीवन बचाएका मोर्दकै

एक दिन, राजाका दुई जना अधिकारीहरूले राजा अहासूरसलाई मार्ने षड्यन्त्र रचेको कुरा मोर्दकैले थाहा पाए । मोर्दकैले महारानी एस्तरलाई यो कुरा भनिदिएर अहासूरस राजाको जीवन बचाए, र राजाले ती दुई अधिकारीहरूलाई फाँसीको सजाय दिए ।

४. हामान र मोर्दकै

त्यसपछि राजा अहासूरसले हामानको दर्जा बढाइदिएर तिनका सबै सङ्गी-भारदारहरूभन्दा तिनलाई श्रेष्ठ स्थान दिई उच्च पदमा राखे । राजदरबारको ढोकामा हुने अधिकारीहरू सबैले राजाको आज्ञाअनुसार हामानलाई घुँडा टेकेर दण्डवत् गर्थे । तर मोर्दकैले चाहिँ तिनलाई यसरी घुँडा टेकेर दण्डवत् गर्दैनथे । त्यसैले मोर्दकैदेखि क्रोधित भएका हामानले तिनलाई मार्ने षड्यन्त्र रच्न थाले । अन्ततः हामानले मोर्दकैलाई मात्र नभएर तिनका सबै मानिसहरू अर्थात् यहूदीहरूलाई मार्ने निर्णय गरे । अहासूरस राजाको बाह्रौँ वर्षको पहिलो महिना, अर्थात् नीसान महिनामा, हामानको सामु दिन र महिना तोक्नका निम्ति उनीहरूले चिट्ठा हाले, र चिट्ठा बाह्रौँ महिना, अर्थात् अदार महिनामा पऱ्यो ।

५. हामानको झूटो आरोप

दुष्ट हामानले राजा अहासूरससामु यहूदीबारे लगाएको आरोप यस्तो थियो :

तब हामानले राजा अहासूरसलाई भने, “हजूरको राज्यका समस्त प्रान्तमा धेरै मानिसहरूका बीचमा फैलिएको एउटा जाति छ । तिनीहरू अलग्गै बस्छन् । तिनीहरूका रीतिरिवाजहरू अरू सबै जातिका भन्दा बेग्लै छन् । तिनीहरूले हजूरका ऐन-कानुन पालन गर्दैनन् । हजूरले तिनीहरूलाई सहानुभूति देखाउनु उचित छैन । यदि महाराजाको इच्छा भए तिनीहरूका विनाशको निम्ति एउटा लिखित आज्ञा निकालिबक्सिओस् । … एस ३:८-९

※ आरोप: कसैलाई झूटो आरोप लगाउनु भनेको गर्दै नगरेको अपराधलाई गरेसरह देखाउनु हो ।

६. यहूदीहरू सङ्कष्टमा परे

राजाले आफ्नो छाप-औँठी झिकेर हामानलाई दिए र “तिमीलाई जे इच्छा लाग्छ त्यही गर” भने । यहूदीहरूको शत्रु हामानले राजाका सचिवहरूलाई बोलाए । तिनीहरूले हामानको आदेशअनुसार राजाका प्रान्तका बडाहाकिमहरू, विभिन्न प्रान्तका राज्यपालहरू र विभिन्न जातिका भारदारहरूलाई लिखित रूपमा हुकुम पठाए, हरेक प्रान्तमा त्यहाँकै लिपि र हरेक जातिलाई उनीहरूको आफ्नै भाषामा त्यो पठाए ।

राजा अहासूरसको नाउँमा त्यो निकालियो, र राजाकै छाप त्यसमा लगाइएको थियो । यसरी अदार भन्ने बाह्रौँ महिनाको तेह्रौँ दिनमा समस्त यहूदीहरूलाई, जवान, बूढा, स्त्री, बाल-बालिकाहरू सबैलाई नाश गर्ने, मार्ने र तिनीहरूको नाउँनिशानै मेटिदिने अनि तिनीहरूका सम्पत्ति लुट्‌ने हुकुम राज्यका सारा प्रान्तहरूमा राजकीय दूतहरूद्वारा पठाइयो । एस ३:१३

राजाको आज्ञा र उर्दी पुगेको हरेक प्रान्तमा यहूदीहरूका बीचमा उपवास, रुवाबासी, शोक र विलाप भयो । तिनीहरूमध्ये धेरै जना भाङ्ग्रा लाएर खरानीको ओछ्यानमा बसे र तिनीहरूलाई बचाउन परमेश्वरसँग बिन्ती गरे ।

७. यदि मेरो नाश हुन्छ भने पनि होस्

मोर्दकैले एस्तरकहाँ एक जना मानिस पठाएर यहूदीहरूलाई सङ्कष्टबाट बचाउनको निम्ति मद्दत मागे ।

“शायद यस्तै समयको निम्ति नै तिमी यो राजपदमा पुगेकी हौ कि ?” एस ४:१४

एस्तरलाई फारसको कानूनअनुसार, यदि कोही राजाको हुकुमविना राजाको अगाडि गयो र राजाले त्यो व्यक्तिमाथि आफ्नो सुनको राजदण्ड पसारेनन् भने त्यो व्यक्ति मारिनेछ भन्ने कुरा थाहा थियो । तर तीन दिन उपवास बसेपछि, “यदि मेरो नाश हुन्छ भने पनि होस्” भन्ने सङ्कल्पका साथ एस्तर राजाकहाँ गइन् । एस्तरलाई आफूकहाँ आइरहेको देखेर, राजाले सुनको राजदण्ड तिनीतिर पसारे । एस्तरले राजालाई हामानसँगै आफूले तयार पारेको भोजमा आउन आग्रह गरिन् । तर भित्री कुरा थाहा नपाएका हामानचाहिँ रानीले उनलाई राजासँगै भोजमा निमन्त्रणा दिएको कुरामा खुशी भयो ।

८. मोर्दकैलाई सम्मान

राजा अहासूरसले रातको समयमा आफ्नो राज्यकालको विवरण भएको इतिहासको पुस्तक पढे । त्यसपछि बल्ल अहासूरसले उनलाई मार्ने षड्यन्त्र रचेका दुई अधिकारीहरूको पर्दाफास गरेका मोर्दकैले कुनै सम्मान वा मान्यता नपाएको कुरा थाहा पाए ।

त्यो समयमा मोर्दकैलाई मार्न भनी ५० क्यूबिट (पच्चीस मिटर) अग्लो फाँसीको काठ बनाएका हामान, मोर्दकैलाई झुण्ड्याउनका लागि बिन्ती गर्न राजाकहाँ गए । तर राजाले तिनलाई मोर्दकैको सम्मान गर्नका लागि आदेश दिए । हामानले मोर्दकैलाई पोशाक पहिराइदिएर तिनको शिरमा राजसी चिन्ह लगाइदिए र घोडामा चढाई सहरका सडकहरूमा यसो भन्दै कराए, “राजाले सम्मान गर्न खुशी हुनुभएका मानिसलाई के गरिन्छ, हेर ।”

※ क्यूबिट (एक हात): लम्बाइ नाप्ने एकाइ हो । एक हात भनेको मापनको एकाइ हो जसले औंलाको टुप्पोदेखि कुहिनासम्मको दूरीलाई जनाउँछ, र १ हात लगभग ४५ सेन्टिमिटर हुन्छ ।

९. हामानको मृत्यु

भोजमा, महारानी एस्तरले राजालाई आफू र आफ्ना जातिहरूको बारेमा बताइन् ।

“हे राजा, म र मेरो जाति नाश गरिन, मारिन र नाउँनिशानै मेटिनलाई बेचिएका छौं ।”

“यस्तो काम गर्न आँट गर्ने मानिस कहाँ छ ? त्यो को हो ?”

रानी र तिनका जातिलाई कसैले मार्न खोजिरहेको कुरा सुनेपछि राजा अहासूरस रीसले चूर भए ।

“त्यो विरोधी र शत्रु यही दुष्ट हामान हो ।”

अन्ततः यहूदीहरूलाई मार्न खोज्ने शत्रु हामानलाई मोर्दकैको लागि तयार पारिएकै फाँसीको काठमा झुण्ड्याइयो, र मर्न निश्चित भएका यहूदीहरूको लागि बाँच्ने बाटो खोलियो ।

१०. यहूदीहरूका लागि पठाइएका पत्रहरू

फारसको कानूनअनुसार, राजाको नाउँमा लेखिएको र छाप-औँठी लगाइएको कुनै पनि कागजात कसैले पनि रद्द गर्न सक्दैनथ्यो । यहाँसम्म कि राजाले समेत त्यसलाई रद्द गर्न सक्दैनथे । त्यसैले राजाले एउटा नयाँ उर्दी पठाए ।

“यस राजउर्दीमा राजाले हरेक सहरमा यहूदीहरूलाई सङ्गठित भएर आफ्नो रक्षा गर्न, र तिनीहरूलाई आक्रमण गर्ने कुनै पनि जाति वा प्रान्तका सशस्त्र सेनाहरू जसले तिनीहरूका स्त्रीहरू र बालकहरूसमेत आक्रमण गर्छन्, उनीहरूलाई एकै दिनमा, अर्थात् बाह्रौँ महिनाको वा अदार महिनाको तेह्रौँ दिनमा नाश गर्न, मार्न र नाउँनिशानै मेटिदिन, अनि अहासूरस राजाका सबै प्रान्तभरि नै उनीहरूका अधिकारको जग्गाजमिन लुट्न भनी मन्जूरी भयो ।” एस ८:११-१२

यहूदीहरूका निम्ति त्यो दिन आनन्द र खुशी, प्रसन्नता र इज्जतको दिन भयो ।

“यहूदीहरूले आफ्ना सबै शत्रुहरूलाई ठूलो मारकाट र विनाश गरेर तरवारले मारे । तिनीहरूले हामानका दशै जना छोराहरूलाई फाँसीको काठमा झुण्ड्याए, तर तिनीहरूले लुटपाटमा हात लगाएनन् ।” एस ९:५-१६

११. पुरीम

यहूदीहरूले बाह्रौँ महिनाको चौधौँ दिनलाई चाड र हर्षको दिन बनाए । तिनीहरूले बाह्रौँ महिनाको चौधौँ र पन्ध्रौँ दिनलाई चाड र हर्षको दिनको रूपमा मनाए र त्यो दिनलाई पुरीम भने, जुनचाहिँ हिब्रू शब्द ‘पुर’बाट व्यूपन्न भएको थियो जसको अर्थ ‘चिट्ठा हाल्नु’ हो । पुरीम केवल शारीरिक यहूदीहरूको राष्ट्रिय चाड मात्र हो, परमेश्वरले दिनुहुने मुक्तिसँग यसको कुनै सम्बन्ध छैन । यसले कोरियालीहरूले मनाउने स्वतन्त्रता दिवसको जस्तै अर्थ राख्दछ ।

१२ आत्मिक यहूदीहरूका लागि शिक्षा

एस्तरसँग भएका घटनाहरू हामी अर्थात् अन्तिम समयका आत्मिक यहूदीहरूसँग सम्बन्धित छ ।

राजाको सामुन्ने यहूदीहरूबारे झूटो दोष लगाउने दुष्ट हामानले परमेश्वरसामु हामीबारे दोष लगाउने शैतानलाई जनाउँछ (प्रका १२:१०)। अनि हामानले यहूदीहरूलाई मार्ने षड्यन्त्र रचेर यहूदीहरूलाई सङ्कष्टमा पारेको इतिहासले चाहिँ अन्त्यका दिनहरूमा आत्मिक यहूदीहरू ठूलो सङ्कष्टमा पर्ने कुरालाई जनाउँछ । तर जसरी सङ्कष्टमा परेका यहूदीहरूले महारानी एस्तरको सहयोगद्वारा आफ्नो जीवन बचाउन सके, त्यसरी नै अन्त्यका दिनहरूमा आत्मिक यहूदीहरू पनि पवित्र आत्मा र दुलहीको सहयोगद्वारा सङ्कष्टबाट बच्नेछन् र जीवन पाउनेछन् । अनि मोर्दकैलाई झुण्ड्याउन तयार पारिएको फाँसीमा हामानलाई झुण्ड्याइएको कुराले चाहिँ, आत्मिक यहूदीहरूलाई बन्द गर्न तयार पारिएको ठाउँमा शैतान आफै बन्द हुनेछ भन्ने कुरा जनाउँछ । शारीरिक यहूदीहरूले एकताबद्ध भएर शत्रु विरुद्ध लडाइ जिते, यो जस्तै आत्मिक यहूदीहरूले पनि एकताबद्ध भएर शत्रु शैतान विरुद्ध लडाइ जित्नेछन् । आत्मिक यहूदीहरूलाई सुन्दर एकता र परमेश्वरको शक्तिमा भर पर्ने दह्रो विश्वासको आवश्यक पर्ने त्यो दिन चाँडै आउनेछ ।

“अघिअघि लेखिएका कुराहरू हाम्रो शिक्षाको निम्ति लेखिएका थिए …” रोमी १५:४

जे भएको छ त्यो फेरि हुनेछ, र जे गरिएको छ त्यो फेरि गरिनेछ । सूर्यमुनि कुनै कुरा नयाँ छैन । के कुनै कुरो छ, जसको बारेमा कसैले भन्न सक्छ, “हेर त, यो त नयाँ कुरा हो” ? त्यो त पहिलेदेखि नै यहाँ थियो, हाम्रो पालोभन्दा उहिले नै । उपदेशक १:९-१०