विश्वासको जीवनमा हामीले धैर्य धारण गर्नुपर्ने कारण के होला ? बाइबलमार्फत यसको कारण पत्ता लगाऔं ।
१. उद्धार पाउन
“भाइले भाइलाई मृत्युको लागि पक्राइदिनेछ, र बाबुले छोरा-छोरीलाई, र छोरा-छोरीहरू आमा-बुबाहरूका विरुद्धमा उठ्नेछन् र तिनीहरूलाई मार्न लाउनेछन् । मेरो नाउँको खातिर सबैबाट तिमीहरू घृणित हुनेछौ । तर जो अन्त्यसम्म स्थिर रहन्छ, त्यसैको उद्धार हुनेछ ।” मत्ती १०:२१-२२
अन्त्यसम्म स्थिर रहनेको उद्धार हुनेछ भनेर बाइबलमा सिकाइएको छ । यसकारण हामीले उद्धार पाउनलाई धैर्य धारण गर्नुपर्छ । अहिलेसम्म जतिसुकै ठूलो विश्वास लिएको भए पनि अन्त्यसम्म धैर्य धारण गर्न सकिएन भने त्यो विश्वासको के अर्थ रहन्छ र ? हामीले धैर्यताद्वारा विभिन्न कठिनाइहरूलाई जित्दै मुक्तिको आशिष् पाउनुपर्छ ।
तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ । लूक २१:१९
यो वचनमा पनि, हामीले धैर्यताद्वारा आत्माको मुक्ति पाउन सक्छौं भन्ने अर्थ छ । धैर्यताविना कदापि उद्धार पाउन सकिँदैन । त्यसैले अन्तिम समयमा उद्धार पाउने सन्तहरूले पनि धैर्य धारण गर्नुपर्छ भनेर बाइबलमा गवाही दिइएको छ (प्रका १४:१२) ।
निश्चय नै विश्वासको जीवनमा कठिनाइ र कष्टका क्षणहरू धेरै आइपर्छ, तर यो पृथ्वीमा भोगिने कष्टचाहिँ हामीले स्वर्गमा पाउने महिमाको तुलनामा केही पनि होइन । जस्तोसुकै कठिनाइबीच गुज्रिनुपरे तापनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको मुक्तिको आशिष्लाई सोच्दै कदापि हरेस नखाईकन धैर्य धारण गर्दै जित्नुपर्छ ।
२. नयाँ गरी जन्मिएर स्वर्ग प्रवेश गर्न
यसैकारण विश्वासद्वारा धर्मी ठहरिएर हाम्रा प्रभु येशू ख्रीष्टद्वारा परमेश्वरसँग हाम्रो मिलाप भएको छ । उहाँद्वारा हामीले यस अनुग्रहमा विश्वासद्वारा प्रवेश पाएका छौं । यस अनुग्रहमा हामी खडा छौं, र परमेश्वरका महिमाको सहभागी हुने हाम्रो आशामा हामी रमाउँछौं । यति मात्र होइन, तर हामी आफ्नो सङ्कष्टमा रमाउँछौं, यो जानेर कि सङ्कष्टले सहनशीलता उत्पन्न गराउँछ, सहनशीलताले चरित्र, र चरित्रले आशा उत्पन्न गराउँछ । आशाले हामीलाई निराशा गराउँदैन, किनकि हामीलाई दिइएका पवित्र आत्माद्वारा परमेश्वरको प्रेम हाम्रा हृदयमा खन्याइएको छ । रोम ५:१-४
विश्वासको बाटोमा हिँड्ने क्रममा सन्तानहरूले नयाँ गरी जन्मेर आशिष् पाउन सकून् भन्ने हेतुले परमेश्वरले हामीलाई कठिनाइबीच गुज्रिने गराउनुहुन्छ । तर धैर्यताको कमी भएर हामीले कठिनाइलाई जित्न सकेनौं भने के हुन्छ होला ? हामीहरू न त नयाँ गरी जन्मन सक्छौं, न स्वर्ग प्रवेश गर्न नै सक्छौं । पापको दाग लागेका हामीहरू सफा भएर परमेश्वरको पूर्ण सृष्टिको रूपमा नयाँ गरी नजन्मिउञ्जेल थुप्रै कठिनाइहरूबीच गुज्रिनुपर्छ, तर ती सबै प्रक्रियालाई धैर्यताद्वारा जित्यौं भने हामीहरू निश्चय नै स्वर्ग प्रवेश गर्नेछौं ।
माताको शिक्षामध्ये १२औँ शिक्षामा धैर्यताको विषय छ । “हामीले वर्तमान कष्टहरू सहँदै धैर्य गर्नुपर्ने कारणचाहिँ स्वर्ग-राज्यले हामीलाई पर्खिरहेकोले गर्दा हो ।” यो शिक्षालाई याद गर्दै धैर्य धारण गरेर स्वर्ग-राज्य प्रवेश गरौं ।
- समीक्षात्मक प्रश्न
- लूका २१:१९को वचनअनुसार आत्माको मुक्ति पाउनलाई हामीले के गर्नुपर्छ ?
- विभिन्न कठिनाइहरूलाई जितेर परमेश्वरको पूर्ण सृष्टिको रूपमा नयाँ गरी जन्मने प्रक्रियामा हामीलाई केको आवश्यकता पर्छ ?