अमर टेलोमियरहरू

10,378 भ्यु

१४औँ शताब्दीतिर, यूरोपेलीहरूको औसत आयु केवल ३८ वर्ष थियो । सन् १७९० मा साबुनको आविष्कारसँगै, बिरामी पर्नेहरूको संख्या उल्लेखनीय रूपमा घट्यो र उनीहरूको औसत आयु १० वर्षले बढ्यो । सन् १९२८ मा, एन्टिबायोटिक पेनिसिलिनको आविष्कारसँगै औसत आयु १० वर्षले बढेर ५८ वर्ष पुग्यो ।

अहिले २१ औँ शताब्दीमा औसत आयु ८० वर्ष पुगेको छ । विज्ञहरूले निकट भविष्यमा हाम्रो औसत आयु २० वर्षले वृद्धि भएर १०० वर्ष पुग्ने अनुमान लगाएका छन् । अहिले १०० वर्षको आयुबारे व्यापक रूपमा चर्चा भइरहेको छ ।

वैज्ञानिकहरूले ‘टेलोमियर’ (telomere)लाई बुढ्यौली र मानव आयुको एक महत्वपूर्ण कारकको रूपमा पहिचान गरेका छन् । ‘telomere’ चाहिँ telos(अन्तिम) र meros(भाग) भन्ने शब्द मिलेर बनेको शब्द हो, जसले क्रोमोजोमको अन्त्यलाई जनाउँछ । मानव कोषिका सामान्यतया आफ्नो जीवनकालमा ५० देखि १०० पटकसम्म विभाजन हुन्छ र प्रत्येक विभाजनसँगै टेलोमियरहरू छोटो हुँदै जान्छ । जब टेलोमियरहरू एउटा निर्णायक लम्बाइमा पुग्छन्, तब कोषिकाहरूको विभाजन रोकिएर त्यो मर्ने अवस्था हुन्छ । वैज्ञानिकहरूले मानवीय आयु लम्बाउने सम्भावना बढाउनका लागि टेलोमियरहरू छोटो हुन नदिने तरिकाहरू सक्रिय रूपमा अध्ययन गरिरहेका छन् ।

यदि वैज्ञानिकहरू यस अनुसन्धानमा सफल भए भने हाम्रो आयु १०० वर्ष पुग्नेछ, तर के मानिसहरू साँच्चै सन्तुष्ट हुनेछन् त ? निश्चय नै उनीहरूले अझ लामो आयुको चाह गर्नेछन् । अमरत्वचाहिँ सधैँ मानव-जातिले गहिरो चाह गरेको कुरा हो । तर जतिसुकै चाह गरे पनि, मानव आयुको स्पष्ट सीमा छ । यो पृथ्वीको कुनै पनि कुराले मानव-जातिलाई अनन्त जीवन दिन सक्दैन । तर आत्मिक संसारमा, भने यो कुरा सम्भव छ ।

येशूले तिनीहरूलाई भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, तिमीहरूले मानिसको पुत्रको देह खाएनौ, र उसको रगत पिएनौ भने, तिमीहरूमा जीवन हुँदैन । मेरो देह खाने र मेरो रगत पिउनेसित अनन्त जीवन छ, र अन्त्यको दिनमा म त्यसलाई जीवित पार्नेछु ।” यूह ६:५३-५४

येशूज्यूको देह खाने र रगत पिउनेसित अनन्त जीवन छ । मानव-जातिले यति धेरै चाह गरेको अनन्त जीवनको उत्तर येशूज्यूको देह र रगतमा छ । त्यसोभए येशूज्यूको देह र रगत कसरी खान र पिउन सकिन्छ होला ?

अखमिरी रोटीको चाडको दिन आयो, जुन दिन निस्तार-चाडको थुमा बलि चढाउनुपर्थ्यो । उहाँले पत्रुस र यूहन्नालाई यसो भनेर पठाउनुभयो, “गएर हाम्रा निम्ति निस्तार-चाडको भोज तयार गर ।” … अनि उहाँले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि त्यो भाँच्नुभयो र तिनीहरूलाई यसो भन्दै दिनुभयो, “तिमीहरूका निम्ति दिइएको यो मेरो शरीर हो । मेरो सम्झनामा यो गर्ने गर ।” यसै गरी, खाइसक्नुभएपछि उहाँले कचौरा लिनुभयो र भन्नुभयो, “यो कचौरा तिमीहरूका निम्ति बगाइएको मेरो रगतमा स्थापित गरिने नयाँ करार हो ।” लूका २२:७-२०

क्रूसमा मृत्यु भोग्नुभएको अघिल्लो रात, येशूज्यूले निस्तार-चाडको रोटीलाई “मेरो शरीर” र निस्तार-चाडको दाखमद्यलाई “मेरो रगत” भन्नुहुँदै नयाँ करार निस्तार-चाड स्थापना गर्नुभयो । त्यसैले निस्तार-चाडको रोटी र दाखमद्य खाएमा र पिएमा येशूज्यूको देह र रगत खान र पिउन सकिन्छ, अनि अनन्त जीवन प्राप्त गर्न सकिन्छ ।

मानव-जातिलाई यो पृथ्वीमा सधैँ बाँच्न सक्षम बनाउने अमर टेलोमियरहरू बनाउन असम्भव छ । अनन्त जीवनचाहिँ केवल अमरत्व हुनुभएका परमेश्वरको विधिद्वारा मात्र सम्भव छ (­१ तिमो ६:१६) । त्यो विधि नै येशूज्यूले स्थापना गर्नुभएको नयाँ करार हो ।