ऊर्जा चोर र ऊर्जादाता

17,222 भ्यु

“तिमीले अन्तमा हरेस खानेछौ ।”

“हामीले यो काम गर्न सक्दैनौं भन्ने कुरा स्पष्ट छ ।”

“के यो काम गर्न सकिएला र ?”

स्पष्ट लक्ष्य र योजना बनाए पनि, यस्ता निराशाजनक बोलीहरूले जो कोहिलाई कमजोर बनाउन सक्छ र उसको दृढ सङ्कल्प डगमगाउन सक्छ । स्वभावैले नकारात्मक कुरा गर्ने मानिसहरूले आफ्नो वरपर रहनेहरूका मनोबल घटाइदिन्छन् र उनीहरूलाई शक्तिहीन महसुस गराउँछन् । चोरहरूले चुपचाप सामान चोरेजस्तै निराशाजनक शब्द बोलेर ऊर्जा चोर्ने र वातावरणलाई असहज बनाइदिने मानिसहरूलाई ‘ऊर्जा चोर’ भन्न सकिन्छ ।

सधैँ “हुँदैन” भन्ने, नराम्रो हल्ला फैलाउने वा लगातार गुनासो गर्ने मानिसहरूबाट टाढा रहनु सबैभन्दा उत्तम हुन्छ । तर यदि त्यसो गर्न सम्भव छैन भने हामीले आफ्नो सुरक्षा आफै गर्न सिक्नुपर्छ । पहिलो तरिका, अरूले बोलेको कुरा वा अरूको मनोवृत्तिबाट प्रभावित नहुनको लागि हामीले स्वतन्त्र रूपमा सोच्ने क्षमता विकास गर्नुपर्छ । आँखा चिम्लेर अरूलाई खुशी बनाउन खोज्नु वा जुनसुकै कुरामा सहमति जनाउनुको सट्टा आत्मविश्वासका साथ सही र गलत छुट्‌ट्याएर नकारात्मक कुराहरूमा असहमति जनाउनुपर्छ ।

अर्को शक्तिशाली तरिका भनेको आफूलाई ऊर्जा दिनेहरूको वरपर रहनु हो । यस्ता व्यक्तिहरूले अरूलाई उत्थान गर्ने, प्रेरणा दिने र प्रोत्साहन गर्ने जस्ता कार्यहरू गर्छन् ।

बाइबलमा ऊर्जा दिने पात्रहरूको प्रभावको विषयमा वर्णन गरिएको छ । यसको प्रतिनिधि उदाहरण नै प्रेरित पावल हुन् । आफ्नो सेवाकार्यको अवधिमा उनले निरन्तर सतावट र निन्दा भोगे । सुसमाचार प्रचार गर्ने क्रममा उनी सहर-सहरबाट धपाइए, धेरै पटक मृत्युको जोखिममा परे, र कैदमा परे । तर पनि उनी कहिल्यै निराश भएनन् र गनगन गरेनन् । जेलमा हुँदा पनि, उनले मण्डली र विश्वासीहरूप्रति चासो व्यक्त गर्दै पत्रहरू पठाए, जसले गर्दा सुरुको मण्डलीका सदस्यहरूलाई प्रोत्साहन मिल्यो । “जसले मलाई शक्ति दिनुहुन्छ, उहाँमा नै म सब कुरा गर्न सक्छु” (फिलि ४:१३) र “दुर्बलताहरूमा, बदनामीहरूमा, कठिनाइहरूमा, सतावटहरूमा, आपद्हरूमा म सन्तुष्ट रहन्छु, किनकि जब म दुर्बल छु, तब म शक्तिशाली छु” (२ कोर १२:१०) । उनले बोलेका यस्ता कुराहरूले आजको दिनसम्म पनि हामीलाई प्रोत्साहन गर्दछ । पावलले बाह्य परिस्थितिहरूको पर्वाह नगरी सुसमाचार प्रचार गरे, र आफू गएका सबै ठाउँहरूमा मण्डली स्थापना गरे ।

प्रेरित पावलले आफ्नो यात्राको अन्तमा धार्मिकताको मुकुट पाउने कुराको आशा र विश्वास लिएका कारण उनले पवित्र आत्माको ऊर्जालाई फैलाउन सके (तिमो ४:६-८)। हाम्रो निम्ति पनि महिमित भविष्य र स्वर्गको आशिष् प्रतिज्ञा गरिएको छ । जब हामी परमेश्वरको प्रतिज्ञामा विश्वास गर्दै हरेक दिन उहाँको अनुग्रहलाई मनन गर्छौं, तब हाम्रो हृदयमा कृतज्ञता जाग्नेछ र स्वाभाविक रूपमा हामीले आफ्नो वरपरका मानिसहरूमाझ सकारात्मक प्रभाव पार्न सक्नेछौं ।

भविष्यको बारेमा विश्वस्त व्यक्तिहरू वर्तमान परिस्थिति र वातावरणबाट प्रभावित हुँदैनन्, र कठिन परिस्थितिको सामना गर्दा सजिलै हार मान्दैनन् । तर खुशी र ऊर्जाका साथ आफ्नो लक्ष्यतर्फ जोशिलो हुँदै अगाडि बढ्छन् र वरपरका मानिसहरूमाझ सकारात्मक ऊर्जा बाँड्छन्, र अन्ततः त्यो ऊर्जा प्राप्त गर्नेहरू ऊर्जा दिनेहरूमा परिवर्तन हुन्छन् । धेरै मानिसहरूले एकसाथ सकारात्मक ऊर्जा बाहिर निकाल्दा ठूलो शक्ति उतपन्न हुन्छ जसले गर्दा उनीहरूले चाहेको कुरा प्राप्त गर्न सक्छन् । तसर्थ ऊर्जा चोरबाट आफूलाई बचाउने उत्तम तरिका भनेकै ऊर्जादाता बन्नु हो ।