WATV.org is provided in English. Would you like to change to English?

अनन्त, अपरिवर्तनीय मानकको खोजीमा

11,940 भ्यु

आइतबार दिउँसो, गिम नाउँ गरेकी एक जना गृहिणी आफ्नो परिवारसँग किनमेल गर्न गइन् । तापक्रम माइनस २ डिग्री सेल्सियस भएकोले साथमा जाकेट लिएर उनीहरू गाडीमा चढे । नेभिगेसन प्रणालीले ५ किलोमिटरको दूरीमा रहेको सुपरमार्केट २० मिनेटमा पुग्न सकिने कुरा देखायो ।

सुरुमा, ती ग्रीहिणी आफ्नो श्रीमानको लागि जुत्ता किन्न गइन् । श्रीमानले २७५ मि.मि र २८० मि.मिको जुत्ता लगाइ हेरे, तर पछि उनले ठूलो साइजको जुत्तालाई रोजे । किराना पसलबाट, उनीहरूले बेलुकाको खानाको लागि ६०० ग्राम गाईको मासु, कम रकममा १ लिटरको दुई बोत्तल दूध र ५ किलोग्रामको स्याउ किने ।

तापक्रम, दूरी, तौल र विभिन्न आकार जस्ता अनगिन्ती सङ्ख्यात्मक कुराहरूले हामी जीवनभर घेरिएका हुन्छौं । मापनका यी एकाइहरू कसरी बनाइएका होलान् ?

सभ्यताको मापन र एकाइ

मानिसहरूले खेती गर्न थालेसँगै सभ्यताको विकास भयो र एकाइहरूको आवश्यकता झन्-झन् बढ्दैगयो । कृषि क्षेत्रफल नाप्ने र कटनी गरिएको कृषि उत्पादन वितरण गर्ने प्रक्रियामा मापन र तौलको उदय अपरिहार्य थियो । निष्पक्ष व्यापार गर्नका लागि वस्तुहरूको मात्रा र तौल थाहा हुनुपर्थ्यो र लुगाजस्ता उत्पादनहरू बनाउन र भवनहरू निर्माण गर्न सामग्रीहरूको सही मापन गर्नुपर्थ्यो ।

मापनको प्रारम्भिक एकाइहरू मानव शरीरका अङ्गहरूमा आधारित थियो । प्राचीन ग्रीसमा, खुट्टाको लम्बाइलाई ‘पाउस’ (Pous) भनिन्थ्यो र औंलाको चौडाइलाई ‘डाक्टाइलोस’(daktylos) भनिन्थ्यो । १ पाउसलाई १६ डाक्टाइलोस वा अङ्कमा विभाजन गरिएको थियो । जापानमा, मानव शरीर वा मानव क्षमतामा आधारित मापनका यी एकाइहरूलाई ‘सिन्तैसाकु’ (shintaishaku, 身體尺)’ भनिन्छ । प्रसिद्ध भौतिक मापनहरूमा ‘साकु’चाहिँ बुढी औंला र चोर औंला बीचको दूरी हो, र मिश्री ‘क्यूबिट’चाहिँ कुहिनादेखि माझी औँलासम्मको दूरी हो । पश्चिमी क्षेत्रमा ‘डिजिट’ सबैभन्दा सानो एकाइ, अर्थात् औँलाको चौडाइ थियो ।

तर प्रत्येक व्यक्तिको शरीर फरक हुने भएकोले शरीरमा आधारित मापन एकाइहरूलाई एकिकृत गर्न गाह्रो थियो । त्यसैले यो समस्या समाधान गर्न, मिश्रले फारोको शरीरमा आधारित ‘रोएल क्यूबिट’ स्थापना गर्‍यो र पिरामिडहरू निर्माण गर्नका लागि प्रयोग गर्‍यो ।

अन्नहरू ठोस र पाउन सजिलो भएकोले मापनको एकाइको रूपमा प्रयोग गर्न थालियो । ईसापूर्व तेस्रो शताब्दीतिर, चीनको क्वीन राजवंशले मापनको मानक एकाइको रूपमा हुआङजोङ भनिने बाँसुरीको लम्बाइ प्रयोग गर्थ्यो । प्रत्येकको लम्बाइ ९० कोदोको दाना बराबर थियो । उनीहरूले कोदोलाई मापनको एकाइको रूपमा प्रयोग गर्थे । एउटा सानो एकाइ ‘चुन (寸)’ भनेको १० दाना कोदो बराबरको लम्बाइ थियो ।

तौल मापनको लागि प्रयोग गरिने क्यारब बीउ (बायाँ) र जौ (दायाँ)

तौल मापन गर्नका लागि पनि अन्नको दाना प्रयोग गरिन्थ्यो । रोमीहरूले १,७२८ क्यारब बीउको तौल एक रोमन पाउन्ड र १४४ क्यारब बीउको तौल एक रोमन आउन्सको रूपमा तोकेका थिए । हिजोआज हीराको तौल मापन गर्न प्रयोग गरिने क्यारेट शब्द क्यारब शब्दबाट व्युत्पन्न भएको हो । बेलायतमा ७,००० जौका दाना बराबर एक पाउन्ड हुन्थ्यो । यद्यपि, अन्नलाई मापनको मानक एकाइको रूपमा प्रयोग गर्न उपयुक्त थिएन किनभने तिनीहरूको तौल र लम्बाइ मौसमको अवस्थाअनुसार फरक हुन्थ्यो र तिनीहरूको आकार पनि एक-अर्काबाट फरक हुन्थ्यो ।

एकाइहरूलाई एकताबद्ध गर्ने प्रयासहरू

सन् १९८३ जुलाई २३मा, एडमन्टन जाँदै गरेको एयर क्यानडा बोइङ ७६७ नामक विमानको इन्धन सकियो जसका कारण विमानले इन्धन चेताउनी आवाज निकाल्यो । इन्जिन चल्न बन्द भयो, र पाइलटले मुस्किलले आपतकालीन अवतरण गरे । यो दुर्घटना मापनको एकाइहरूमा भएको अन्यौलताले गर्दा भएको थियो । पाइलटहरूले आवश्यक इन्धनको मात्रा किलोग्राममा हिसाब गरे, तर ग्राउन्ड स्टाफले पाउन्डमा इन्धन भरे । फलस्वरूप, आवश्यक पर्ने इन्धनको आधाभन्दा कम इन्धनमा विमान उडिरहेको थियो ।

१. १ लिटर = ०.८ किलोग्राम, १.७७ पाउन्ड

सन् १९९९ सेप्टेम्बरमा, नासाको मार्स क्लाइमेट अर्बिटर मंगल ग्रहको वायुमण्डलमा प्रवेश गर्दा हराएको थियो । योचाहिँ मापन एकाइहरूमा भएको अन्यौलताले गर्दा भएको थियो । नासाले मिटर (मि) र किलोग्राम (के.जी) जस्ता मेट्रिक एकाइहरू प्रयोग गर्दछ, तर अन्तरिक्ष यान बनाउने कम्पनीले यार्ड(yard) र ग्यालनमा(gallon) आधारित एकाइहरूको इम्पेरियल प्रणाली प्रयोग गर्दछ । अन्तरिक्षयान मंगल ग्रहको वायुमण्डलमा प्रवेश गर्दा समेत उनीहरूले फरक-फरक एकाइ र गलत जानकारीहरू आदानप्रदान गरिरहेका थिए, जसले गर्दा दुर्घटना भयो ।

सबै युगहरूमा एकाइहरूको विभाजित प्रणालीले अन्यौलता पैदा गरेको छ । १८ औँ शताब्दीतिर फ्रान्समा, २,५०,००० भन्दा बढी विभिन्न मापन एकाइहरू प्रयोगमा थिए । यसले सञ्चार र व्यापारमा समस्या निम्त्यायो, र शासकहरूले आफ्नै इच्छाअनुसार कर सङ्कलन गर्न थाले । यो समस्या पूर्व, पश्चिम दुवै क्षेत्रहरूमा थियो । चि(尺)चाहिँ मानव हातको बुढी औँलाको टुप्पादेखि चोरी औँलाको टुप्पासम्मको दूरीमा आधारित थियो । तर समयसँगै यसको मानक लम्बाइ लामो हुँदैगयो । सन् १८७५मा जापानको मेजी सरकारले यसलाई अपनाएपछि यसको लम्बाइ ३० सेन्टिमिटर भयो । गभर्नरहरूले बढी कर सङ्कलन गर्नका लागि यसको लम्बाइ बढाउँदैगएकोले यस्तो भएको थियो ।

वैज्ञानिकहरूले लामो समयदेखि सबैका लागि एकरूप र प्रयोग गर्न सजिलो हुने वैज्ञानिक एकाइहरू विकास गर्ने सपना देखेका थिए । १७औँ शताब्दीका बेलायती वास्तुकार र खगोलशास्त्री क्रिस्टोफर रेनले पेन्डुलमको दोलनको माध्यमद्वारा लम्बाइको मानक एकाइ निर्धारण गर्ने प्रयास गरे । उनले यार्डमा आधारित नयाँ प्रणाली प्रस्ताव गरे, जसलाई प्रति सेकेन्ड एकको दरले हल्लिने पेन्डुलम स्विङको लम्बाइको रूपमा परिभाषित गरियो । यसको अतिरिक्त, केशिका कार्य(Capillary action) र प्रकाशको तरङ्गदैर्घ्यजस्ता (light wavelengths) विभिन्न अन्य कुराहरूबारे छलफल गरियो, तर अन्तमा पृथ्वीको परिधिलाई मानकको रूपमा प्रयोग गर्ने कुरा पारित भयो ।

२. एउटा प्रक्रिया जहाँ नलीलाई तरल पदार्थ वा पारोमा ठाडो राखिन्छ तब पातलो नलीभित्रको तरल पदार्थको स्तर नली बाहिरको तरल पदार्थको स्तरभन्दा बढी वा कम हुन्छ ।

यसरी ‘मिटर’ मा आधारित मापन एकाइको जन्म भयो । ग्रीक शब्द ‘मेट्रोन’बाट आएको मिटरको अर्थ ‘नाप्नु’ हो, जसलाई आधारभूत रूपमा भूमध्ये रेखाबाट फ्रान्सको पेरिसहुँदै उत्तरी ध्रूवसम्मको दूरीको दश लाख भागको एक भागको रूपमा परिभाषित गरियो । फ्रान्सेली खगोलविद् डेलाम्ब्रे(Delambre) र मेचेनले(Méchain) दूरी नाप्न एउटा अभियान जारी गरे । सन् १७९९ डिसेम्बर १०मा, फ्रान्समा मेट्रिक प्रणाली लागू भयो र देशभरी मिटरलाई मानक मापनको रूपमा स्थापना गरियो । अनि १ मिटर लामो स्केल बनाएर प्रत्येक सहरमा वितरणसमेत गरियो ।

त्यसैगरी युरोपको अधिकांश भाग जित्ने नेपोलियनले १९औँ शताब्दीमा मेट्रिक प्रणाली फैलाए । सन् १८७५, मे २०मा फ्रान्समा संयुक्त राज्य अमेरिका, जर्मनी, रुस र ब्राजिल लगायत १७ वटा राष्ट्रका प्रतिनिधिहरूले मिटर सम्मेलनमा हस्ताक्षर गरेपछि मेट्रिक प्रणाली धेरै क्षेत्रहरूमा प्रयोग हुन थाल्यो ।

एकाइहरूको परिमार्जन

पृथ्वीमा भूमध्यरेखीय उचाइ भएकोले यसलाई पूर्ण गोलाकार भन्न मिल्दैन । तसर्थ पृथ्वीको व्यास भूमध्य रेखा वरिपरिबाट नाप्दाभन्दा ध्रुवबाट नाप्दा फरक हुन्छ । यो नै पृथ्वीको परिधिमा आधारित मिटरको लम्बाइ परिवर्तन हुन सक्छ भन्ने अर्थ हो । सन् १८८९मा तौल र मापनसम्बन्धी पहिलो सम्मेलन [CGPM] गरिएको थियो जसअन्तर्गत वैज्ञानिकहरूले उच्च रासायनिक स्थिरता भएको प्लेटिनम र इरिडियम सिलिन्डरको आधारमा मिटरको लम्बाइ परिभाषित गरेका थिए ।

तर कृत्रिम वस्तु जतिसुकै विस्तृत रूपमा बनाए पनि, तापक्रम र आर्द्रता जस्ता वरपरको वातावरणमा निर्भर हुने भएकोले यो विस्तार, संकुचित वा अक्सिडाइज हुन्छ । मेट्रिक प्रणालीको सन्दर्भमा पनि उस्तै हो । धेरै अनुसन्धानपछि, वैज्ञानिकहरूले सन् १९६०मा परमाणुहरू प्रयोग गरेर मिटरलाई फेरि नयाँ गरी अर्थ लगाए ।

३. खाली ठाउँमा क्रिप्टन-८६ परमाणुको वर्णपटमा सुन्तला-रातो उत्सर्जन रेखाको १,६५०,७६३.७३ तरङ्‌गदैर्घ्य(wavelength) बराबर हुन्छ ।

शैक्षिक क्षेत्र यतिमा मात्र सीमित भएन, तर सन् १९८३मा अपरिवर्तनीय प्रकाशको गतिको आधारमा उनीहरूले फेरि मिटरलाई नयाँ परिभाषा दिए । परिभाषाअनुसार मिटर भनेको एक सेकेन्डको १/२९९,७९२,४५८ को समय अन्तरालमा खाली ठाउँमा प्रकाशले यात्रा गर्ने मार्गको लम्बाइ हो । यहाँ, एक सेकेन्ड सिजियमचाहिँ १३३ परमाणुको अपरिवर्तित दोलनको अवधिमा आधारित छ । विडम्बनाको कुरा, नयाँ परिभाषालाई सन्तुष्ट पार्ने मिटरको लम्बाइ निर्धारण गर्न अझै असम्भव छ किनभने पूर्ण शून्यता कृत्रिम रूपमा प्राप्त गर्न सकिँदैन । वैज्ञानिक समुदायमा मिटर बारको लम्बाइ मापन गर्न हेलियम र नियोन ग्यास लेजर प्रयोग गरिन्छ ।

४. एक सेकेन्ड भनेको १३३ परमाणु सिजियमको ९,१९,२६,३१,७७० दोलनको अवधि हो ।

अन्तर्राष्ट्रिय एकाइ प्रणाली [SI] मा सात आधारभूत एकाइहरू छन्: लम्बाइ मापनको लागि मिटर [m], द्रव्यमानको लागि किलोग्राम [㎏], समयको लागि सेकेन्ड [s] विद्युतीय प्रवाहको लागि एम्पियर [A], तापक्रमको लागि केल्भिन [K], पदार्थको मात्राको लागि मोल [mol], र प्रकाश तीव्रताको लागि क्यान्डेला [cd]। विज्ञान र प्रविधिको प्रगतिअनुसार अपरिवर्तनीय मापदण्डको रूपमा काम गर्न यी एकाइहरूको परिभाषाहरू निरन्तर परिमार्जन र परिवर्तन गरिएका छन् ।

किलोग्रामको अन्तर्राष्ट्रिय प्रारूप

किलोग्रामचाहिँ भौतिक प्रारूपद्वारा परिभाषित गरिएको SI एकाइहरूमध्ये एक हो जसको परिभाषा त्यो समयदेखि यथावत छ । किलोग्रामको अन्तर्राष्ट्रिय प्रारूप [IPK] ९०% प्लेटिनम र १०% इरिडियमको मिश्र धातुबाट बनेको सिलिन्डर हो, जसको व्यास र उचाइ ३९मि.मि हुन्छ । यो सिलिन्डर तापक्रम र आर्द्रता-नियन्त्रित वातावरणमा तीन सुरक्षात्मक सिसामुनि बस्छ, जसलाई प्रत्येक वर्ष पेरिस नजिकैको अन्तर्राष्ट्रिय तौल र मापन ब्यूरोले सावधानीपूर्वक जाँच गर्छ ।

यद्यपि, समय बित्दैजाँदा किलोग्रामको अन्तर्राष्ट्रिय प्रारूपलाई [IPK] पुनः परिभाषित गरियो । २३ देशहरूमा भण्डारण गरिएको IPK र यसको प्रतिलिपिहरूबीचको द्रव्यमानमा ठूलो भिन्नता थियो । सन् २००७मा, IPK र यसको प्रतिलिपिबीचको द्रव्यमान भिन्नता १०० µg थियो ।

५. एक माइक्रोग्राम[㎍] एक ग्रामको 1×10−6 हुन्छ ।

तौल र मापनसम्बन्धी गरिएको एउटा सम्मेलनले किलोग्रामलाई प्लाङ्क स्थिरांक(Planck constant) [h], अर्थात् एक आधारभूत भौतिक स्थिरांकको(physical constant) आधारमा पुन: परिभाषित गर्न सहमति जनायो । एकाइलाई जुल सेकेन्ड अर्थात् ㎏·m2·s-1मा व्यक्त गरिँदा द्रव्यमानको SI एकाइ किलोग्रामलाई प्लाङ्क स्थिरांक[h]को निश्चित संख्यात्मक मान ६.६२६०७०१५×१०−३४मा परिभाषित गरिन्छ ।

६. फोटोनको ऊर्जालाई आवृत्तिसँग सम्बन्धित गर्ने विद्युत चुम्बकीय क्रियाको मात्रा

किबल ब्यालेन्स(Kibble balance) प्रयोग गरेर धेरै वर्षसम्म गरिएको अनुसन्धानपछि – अत्याधुनिक प्रविधिको अभिसरण, प्लाङ्क स्थिरांकको मान निश्चित गरियो । योमार्फत सन् २०१८ नोभेम्बर १६मा, फ्रान्सको भर्साइलमा आयोजित २६औँ तौल र मापन सम्मेलनमा किलोग्रामलाई पुन: परिभाषित गरिएको थियो । यो कार्यचाहिँ सन् १८८९ मा किलोग्रामको अन्तर्राष्ट्रिय प्रारूप सिर्जना भएको १३० वर्षपछि भएको थियो । यसको नयाँ परिभाषा विश्व मापन विज्ञान दिवस, सन् २०१९ मे २० मा लागू भयो ।

७. प्लाङ्क स्थिरांक (h) = ६.६२६०७०१५ × १० -३४ J·s (kg·m2 /s)

समय र स्थानको पर्वाह नगरी, अन्तरिक्षको कुनै पनि ठाउँमा कहिल्यै परिवर्तन नहुने एकाइहरू ! मानिसहरूमा अझै पनि विभिन्न प्रयास र अनुसन्धानहरूमार्फत अपरिवर्तनीय मापदण्डहरू स्थापना गर्ने चाहना छ । एउटा चाखलाग्दो कुरा के छ भने, विज्ञानको विकाससँगै मापनका आधारभूत मापदण्डहरू कलाकृतिहरूबाट प्राकृतिक वस्तुहरूमा परिवर्तन भएका छन् । “मापदण्डहरूको मापदण्ड” भनेर चिनिने समय, प्रकाशको आधारमा परिभाषित छ ।

मानव क्षमताद्वारा अनन्त, अपरिवर्तनीय मापदण्डहरू सजिलै निर्धारण वा स्थापना गर्न सकिँदैन । केवल परमेश्वरले दिनुभएको प्राकृतिक नियममा मात्र अपरिवर्तनीय र शाश्वत मापदण्डहरू छन् ।

पृथ्वीको जग मैले बसाल्दा तँ कहाँ थिइस् ? तैंले बुझ्छस् भने मलाई बता । त्यसको नाप कसले ठहरायो ? तैंले ता जान्नुपर्ने ! कसले त्यसमा नापको डोरी टाँग्यो ? अय्यूब ३८:४-५

“के तपाईं परमेश्वरको रहस्यको गहिराइलाई बुझ्न सक्नुहुन्छ ? के तपाईं सर्वशक्तिमान्‌को सीमालाई जाँच्न सक्नुहुन्छ ? त्यो त स्वर्गभन्दा अल्गो छ, तपाईं के गर्न सक्नुहुन्छ ? त्यो ता चिहानभन्दा गहिरो छ, तपाईं के जान्न सक्नुहुन्छ ? त्यसको नाप पृथ्वीभन्दा लामो छ, र समुद्रभन्दा चौडा छ । अय्यूब ११:७-९

​सन्दर्भ
Crease, Robert P. World in the Balance: The Historic Quest for an Absolute System of Measurement. New York, NY: W. W. Norton & Company, 2012.
Tadahiko, Hoshida. Stargazing Unit Story (Korean Edition). Korea: About Book, 2016.
Kim, Il-seon. 단위로 읽는 세상 [Read the World Through Units]. Korea: Gimm-Young Publishers, 2017.