मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ?

26,490 भ्यु
सिस्टर, धेरै आशिष् पाउनुहोस् । म पास्टर सुबोध हुँ । भेटेर खुशी लाग्यो ।
हजुर, मलाई पनि खुशी लाग्यो । पास्टर, म परमेश्वरको मण्डलीमा जान थालेको भर्खर मात्र हो । त्यसैले ममा धेरै प्रश्नहरू छन् । हाम्रो मण्डलीको नाउँ किन ‘परमेश्वरको मण्डली’ राखिएको होला ? आखिरमा परमेश्वरलाई विश्वास गर्ने सबै मण्डलीहरू परमेश्वरको मण्डली नै होइनन् र ?
यसरी सोच्ने मानिसहरू धेरै छन् । सिस्टर, तपाईंको छिमेकमा मात्र पनि थुप्रै मण्डलीहरू होलान् । तीमध्ये परमेश्वरले स्थापना गर्नुभएका मण्डलीहरू पनि छन् भने परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् ।
परमेश्वरले स्थापना नगर्नुभएका मण्डलीहरू पनि छन् अरे ? यदि त्यसो हो भने मण्डली जानुअघि, मैले कुन मण्डली परमेश्वरले स्थापना गर्नुभएको मण्डली हो भन्ने कुरा जान्नुपर्छ ।
हो नि !
त परमेश्वरले स्थापना गर्नुभएको मण्डलीलाई कसरी खोजी गर्ने होला ?
खासै गाह्रो छैन । परमेश्वरको वचन रहेको बाइबलद्वारा पत्ता लगाउन सकिन्छ ।

“तपाईंहरू आफ्ना निम्ति र आफ्नो समस्त बगालको निम्ति सावधान रहनुहोस् । पवित्र आत्माले तपाईंहरूलाई बगालका जिम्मावाल बनाउनुभएको हुनाले उहाँले आफ्नै रगतले किन्नुभएको परमेश्वरका मण्डलीको हेरचाह तपाईंहरू गर्नुहोस् ।” प्रेरित २०:२८

हामीलाई बचाउन परमेश्वरले यो पृथ्वीमा आउनुभएर मण्डली स्थापना गर्नुभयो । अनि गोठालाले भेडाको हेरचाह गरेजस्तै उहाँले मण्डलीको हेरचाह गर्नुभयो । त्यसोभए वर्तमान समयका असंख्य मण्डलीहरूमध्ये परमेश्वर स्वयम्‌ले स्थापना गर्नुभएर हेरचाह गर्नुहुने मण्डली अनिवार्य हुनैपर्छ नि, होइन र ?
हजुर, हो नि !
परमेश्वरले स्थापना गर्नुभएको मण्डलीको नाउँ ‘परमेश्वरको मण्डली’ हो । बाइबलमा यसरी लेखिएको छ ।

“परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूको प्रेरित हुनलाई बोलाइएका पावल र हाम्रो भाइ सोस्थेनेसबाट, कोरिन्थमा भएका परमेश्वरको मण्डलीलाई जो ख्रीष्ट येशूमा पवित्र भएको छ, र तिनीहरूका साथसाथै हरेक स्थानमा सन्त हुनलाई बोलाएकाहरू सबैलाई …” १ कोरिन्थी १:१-२

यहाँ हेरेजस्तै, प्रेरितहरू जाने गरेका मण्डलीको नाउँ परमेश्वरको मण्डली थियो ।
‘कोरिन्थमा भएको’ परमेश्वरको मण्डली भन्नाले कस्तो अर्थ हो ?
मण्डली कोरिन्थ क्षेत्रमा स्थापना भयो भन्ने अर्थ हो । उदाहरणको लागि, काठमाडौँमा छ भने काठमाडौंमा भएको परमेश्वरको मण्डली भन्नुपर्ने हुन्छ । जुनसुकै ठाउँ होस्, परमेश्वरले स्थापना गर्नुभएको मण्डलीको नाउँचाहिँ परमेश्वरको मण्डली नै हुन्छ ।
‘परमेश्वरको मण्डली’ भन्ने नाउँसम्बन्धी अन्य पदहरू पनि छन् कि ?
ल, अर्को पद पनि हेरौं ।

“यहूदी धर्ममा छँदा मेरो अघिको जीवनको विषयमा तिमीहरूले सुनेका छौ, कसरी मैले परमेश्वरको मण्डलीलाई भयानक रूपले सताएँ, र त्यसलाई नाश गर्न खोजें ।” गलाती १:१३

यहाँ हेर्दा, परमेश्वरलाई चिन्नुअघि पावलले येशूज्यूलाई विश्वास गर्ने सन्तहरू जाने गरेका सुरुको मण्डलीलाई भयानक रूपले सताएका कुरा बताएका छन् । तिनले आफूले विगतमा परमेश्वरको मण्डलीलाई सताएको कुरा बताएका छन् । यसकारण येशूज्यूले स्थापना गर्नुभएको, र प्रेरितहरू जाने गरेका मण्डलीको नाउँ परमेश्वरको मण्डली थियो भन्ने कुरा हो ।
ए, भनेपछि त मण्डलीको नाउँ अनिवार्य रूपमा परमेश्वरको मण्डली नै हुनुपर्ने रहेछ ।
हजुर । तर साइन बोर्डमा ‘परमेश्वरको मण्डली’ भन्ने नाउँ राख्दैमा ती सबै परमेश्वरले स्थापना गर्नुभएको मण्डली हुने होइन । परमेश्वरले स्थापना गर्नुभएको मण्डलीको छुट्टै विशेषता छ ।
विशेषता ?
एकछिन अघि हेरेको प्रेरित २०:२८मा ‘परमेश्वरले आफ्नै रगतले किन्नुभएको मण्डली’ भन्ने वचन याद आउँछ ?
हजुर, याद आउँछ ।
बाइबलको वचनअनुसार साँचो परमेश्वरको मण्डलीचाहिँ परमेश्वरले बलिदानको रगत बगाउनुभएर स्थापना गर्नुभएको मण्डली हुनुपर्छ । यहाँ परमेश्वरको रगतले केलाई जनाएको छ होला ?

“मलाई चढाइने बलिको रगत(मेरो बलिको रगत, KJV) खमिर हालेको केही रोटीसित नचढाउनू, र निस्तार-चाडको बलिमध्येको केही पनि बिहानसम्म नछोड्नू ।” प्रस्थान ३४:२५

परमेश्वरको रगतलाई निस्तार-चाडको बलिदान भनिएको छ । निस्तार-चाडको बलिदान भनेको निस्तार-चाडमा काटिने थुमाको बलिदान हो । पुरानो करारको समयमा थुमाको रगत बगाएर निस्तार-चाड मान्ने गरिन्थ्यो । परमेश्वरले निस्तार-चाडको थुमाको रगतलाई ‘मेरो बलिको रगत’ भन्नुको कारणचाहिँ परमेश्वर निस्तारको थुमाको वास्तविकताको रूपमा यो पृथ्वीमा आउनुभएकोले गर्दा हो । हामीलाई मुक्ति दिन परमेश्वरले ‘येशू’ नाउँमा आउनुभयो र क्रूसमा बलिदान हुनअघि निस्तार-चाडमा आफ्नो रगतको प्रतिज्ञा गर्नुभयो ।

तब येशूको आदेशअनुसार चेलाहरूले गरे र तिनीहरूले निस्तार-चाडको प्रबन्ध मिलाए । … तिनीहरूले भोज खाइरहेको बेला येशूले रोटी लिनुभयो र आशीर्वाद दिनुभएपछि उहाँले त्यो भाँच्नुभयो र चेलाहरूलाई दिनुभयो र भन्नुभयो, “लेओ, खाओ, यो मेरो शरीर हो ।” तब कचौरा पनि लिएर धन्यवाद दिई उहाँले तिनीहरूलाई यसो भनेर दिनुभयो, “तिमीहरू सबैले यसबाट पिओ । किनभने यो नयाँ करारको मेरो रगत हो, जो धेरैका निम्ति पापको प्रायश्चितको लागि बगाइन्छ ।” मत्ती २६:१९-२८

निस्तार-चाडमा येशूज्यूको रगत, अर्थात् परमेश्वरको रगतको प्रतिज्ञा गरिएको छ । पुरानो करार र नयाँ करार दुवै समयमा, परमेश्वरको रगत भनेकै निस्तार-चाड हो ।
ए, परमेश्वरले स्थापना गर्नुभएको साँचो परमेश्वरको मण्डलीमा निस्तार-चाड मानिने रहेछ ।
ठीक भन्नुभयो । ‘परमेश्वरको मण्डली’ भन्ने नाउँ भएको र नयाँ करार निस्तार-चाड मानिने मण्डली नै परमेश्वरले हाम्रो मुक्तिको निम्ति स्थापना गर्नुभएको साँचो परमेश्वरको मण्डली हो ।
निस्तार-चाडद्वारा मात्र पनि हामीले, परमेश्वरले स्थापना गर्नुभएको ‘परमेश्वरको मण्डली’ पत्ता लगाउन सक्ने रहेछौं । यी सबै कुरा बाइबलमा स्पष्टसँग लेखिएका छन् ।
हजुर हो । मण्डलीको नाउँ मात्र होइन तर अबदेखि परमेश्वरसँग सम्बन्धित जुनसुकै कुरालाई निश्चित गर्दा पनि बाइबललाई आधार बनाउनुपर्छ भन्ने कुरालाई याद गर्नुहोला ।
‘बाइबललाई आधार बनाउनुपर्छ’ भन्ने कुरा, म सधैँ याद गर्नेछु । परमेश्वरले स्थापना गर्नुभएको परमेश्वरको मण्डलीमा यसरी परमेश्वरको वचन सिक्न पाएकोमा म साँच्चै खुशी छु !