कीराहरूबाट सिक्नुपर्ने कुरा, सामूहिक बुद्धिमता

11,706 भ्यु

कमिलाको झुण्डले खानेकुराको टुक्रा बोकेर व्यवस्थित रूपमा यात्रा गर्छन् । तिनीहरू बाटो थाहा भए जसरी सुरुदेखि अन्त्यसम्म क्रमबद्ध रूपमा मिलेर बस्छन् । कमिलाहरू एकदमै व्यवस्थित रूपमा हिँड्ने भएकोले तिनीहरूभन्दा दर्जनौं गुणा ठूलो मिठाइ पनि क्षणभरमै गायब गरिदिन्छन् । तर कमिला एकलै हिँडिरहेको दृश्य हेर्ने हो भने, त्यो अनियन्त्रित रूपमा सबै दिशातिर हिँड्छ, र बाटोमा भेटिने अवरोधहरूलाई बेवास्ता गर्दै त्यो अगाडि बढ्छ । त्यसरी हिँड्दा त्यो एकदमै अविवेकी देखिन्छ । यद्यपि जब यी कमिलाहरू एकसाथ भेला हुन्छन्, तब उनीहरूले एकैछिनमा खानेकुरा सङ्कलन गर्छन् । यो दृश्य एकदमै अद्भुत हुन्छ ।

एक प्रतिभाशाली गणितज्ञ, कमिला

सहकार्य वा प्रतिस्पर्धामार्फत प्राप्त गरिने बौद्धिक क्षमतालाई सामूहिक बुद्धिमता1 (Collective Intelligence) भनिन्छ । योद्वारा एक जनाको बुद्धि मात्र नभएर धेरै जनाको बुद्धि प्रयोग गरी ठूलो शक्ति प्रदर्शन गर्न सकिन्छ । अमेरिकी कीटविद् विलियम मोर्टोन व्हीलरले कमिलाहरूको सामाजिक गतिविधि अवलोकन गरेपछि सामूहिक बुद्धिमत्ताको अनुसन्धान सुरु भयो । अब उत्कृष्ट गणितीय क्षमता प्रदर्शन गर्ने केही कमिलाहरूको विषयमा अध्ययन गरौं ।

१. सामूहिक बुद्धिमत्ता: सामाजिक विज्ञानमा यसलाई ‘सहयोगात्मक बुद्धिमत्ता’ भनिन्छ ।

फर्म्याटको सिद्धान्तअनुसार, “प्रकाशले सबैभन्दा कम समय लाग्ने दुई बिन्दु बीचको बाटोबाट यात्रा गर्छ ।” पानीमा खसेको व्यक्तिलाई उद्धार गर्न जमिनबाट पानीसम्मको सबैभन्दा छोटो बाटो लिने उद्धारकर्मीहरूको बारेमा सोच्यो भने यो कुरा बुझ्न सजिलो हुन्छ ।

फर्म्याटको सिद्धान्त

आश्चर्यको कुरा, कमिलाहरू पनि फर्म्याटको सिद्धान्तअनुसार सबैभन्दा छोटो मार्ग हुँदै अगाडि बढ्छन् । जर्मन अनुसन्धान टोलीले एउटा बाकसमा दुई फरक प्रकारका भुइँ सामग्री र कमिलाको समूहलाई राखेर एउटा सर्वेक्षण गरेको थियो । सुरुमा कमिलाहरू चल्ने बाटो अनियमित देखिन्थ्यो, तर बिस्तारै त्यसले फर्म्याटको सिद्धान्तअनुसार गर्न थाल्यो । खानेकुरासम्म पुग्ने क्रममा भुइँको सामग्री परिवर्तन गर्दा कमिलाहरूको गति परिवर्तन भयो । खस्रो र चिल्लो भुँइको आधारमा कमिलाहरूले बाटो परिवर्तन गरे ।

हिँड्ने क्रममा कमिलाहरूले फिरोमोन छोड्छन्, जसले अरू कमिलाहरूलाई आकर्षित गर्दछ । फिरोमोनहरू जति धेरै बलियो भयो कमिलाहरू त्यति नै धेरै आकर्षित हुन्छन् । सुरुमा कमिलाहरू जथाभावी हिँडे, तर समय बित्दैजाँदा सबैभन्दा छोटो बाटोबाट एउटै समयमा बढी कमिलाहरू हिँडेपछि धेरै फिरोमोन जम्मा भयो, र अन्ततः सो मार्गलाई कमिलाको समूहले चल्ने मुख्य बाटोको रूपमा छनोट गऱ्यो ।

कमिलाहरूले मानिसले जस्तै फर्म्याटको सिद्धान्त बुझेर सबैभन्दा छोटो बाटो रोजेका होइनन् । चलाख रणनीतिकार वा अगुवा नभए पनि कमिलाहरूले फिरोमोन पछ्याउँदै खानेकुरा खोजे । यसरी यो प्रक्रियामा उनीहरूले गल्ती गर्दै, फेरि प्रयास गर्दै समस्या समाधान गरे । एउटा कमिलाको बुद्धिमत्ता त्यति राम्रो नहोला, तर जब तिनीहरू सामूहिक रूपमा मिलेर काम गर्छन्, तिनीहरूले अद्भुत कार्य गर्न सक्छन् ।

उत्तम सहमतिमा पुग्ने मौरीहरू

वसन्त ऋतुको अन्त्यतिर, मौरीहरूको घार तिनीहरूको बढ्दो परिवारको लागि धेरै सानो हुने भएकोले हाँगाबाट निस्कने तयारी गर्छन् । सुरुमा स्काउट मौरीहरूले आफू बस्नका लागि उपयुक्त हुने ठाउँको खोजी गर्छन् । जब तिनीहरूले घार बनाउनका लागि उपयुक्त ठाउँ भेट्छन् तब तिनीहरू झुण्डमा फर्केर जान्छन् र आफ्नो पुच्छर हल्लाउँछन् । योचाहिँ तिनीहरूले भेट्टाएको ठाउँ उपयुक्त छ भनेर सङ्केत दिने तरिका हो ।

यसरी ती स्काउट मौरीहरू पुच्छर हल्लाउँदै अगाडि बढ्छन्, र 8 आकार बनाएर सुरु गरेकै ठाउँमा फर्किन्छन् । तिनीहरूले यो कार्य दोहोऱ्याउँदा नृत्य गरेजस्तै देखिन्छ । यो नृत्यचाहिँ मौरीहरूबीच हुने सञ्चारको माध्यम हो । सीधा रेखामा गरेको नृत्यको अवधिले उनीहरूले भेट्टाएको स्थानको दुरी जनाउँदछ र 8 आकारले चाहिँ स्थानको दिशालाई जनाउँदछ ।

स्काउट मौरीहरूको नृत्य हेरेपछि, अरू मौरीहरू सिफारिस गरिएको त्यो ठाउँ हेर्न जान्छन् । ठाउँ निरीक्षण गरेपछि, त्यो ठाउँ मन परेको खण्डमा उनीहरूले झुण्डको अगाडि नाचेर आफ्नो समर्थन जनाउँछन् । अनि अन्य मौरीको समर्थन नपाएको खण्डमा स्काउट मौरीहरूले नृत्य रोकेर आफ्नो दाबी फिर्ता लिन्छन् । यो प्रक्रिया दोहोरिँदा, धेरैभन्दा धेरै मौरीहरू निर्णय प्रक्रियामा सहभागी हुन्छन्, र धेरै मौरीहरूको सहमतिअनुसार सबैभन्दा राम्रो ठाउँलाई आफ्नो घरको रूपमा छनोट गर्छन् ।

उत्कृष्ट वास्तुकार, धमिरा

अफ्रिकी घाँसे मैदानमा, तीन मिटर [१० फिट]भन्दा अग्ला विचित्र आकारका अग्ला टावरहरू देख्न सकिन्छ । घाँसे मैदानको बीचमा यस्तो विशाल टावरहरू कसले बनाएको होला भनेर सोच्नु स्वाभाविक हो । तर अचम्मको कुरा, यी भव्य टावरहरूका वास्कुकार धमिरा हुन् । ५ मिलिमिटर लामो धमिराहरूले ३ मिटरभन्दा अग्लो घर बनाउनु भनेको मानिसले हजार मिटरभन्दा अग्लो गगनचुम्बी भवन बनाउनुजस्तै हो । संसारको सबैभन्दा अग्लो भवन (दुबईको बुर्ज खलिफा) ८३० मिटर अग्लो भएकोले, धमिराको क्षमता साँच्चै प्रभावशाली छ ।

शंकु आकारमा बलियो स्तम्भको रूपमा बनाएको धमिराको ढिस्कोभित्र विभिन्न प्वालहरू हुन्छन् । ती प्वालहरूमा विभिन्न जटिल मार्गहरू जोडिएका हुन्छन् । भुइँ तलामा एउटा विशाल गुँड कोठा हुन्छ, त्यहाँ भएका सबै कोठाहरू लामो सुरुङमार्फत जोडिएका हुन्छन् । ती कोठाहरूमा लार्भा हुर्काउने, च्याउ उब्जाउने र खानेकुराहरू भण्डारन गर्ने जस्ता कार्यहरू गरिन्छ ।

धमिराहरूले पाचनमा सहयोग पुऱ्याउने च्याउ खान्छन् । च्याउ खेतीका लागि प्रयोग गरिने लाखौं धमिराको मलले ठूलो मात्रामा कार्बन डाइअक्साइड र ताप उत्सर्जन गर्छ । धमिराहरूका छाला नाजुक हुने भएकोले तिनीहरूलाई सुख्खा मरुभूमिको हावापानीमा पनि आर्द्र वातावरण चाहिन्छ ।

तर पनि धमिराहरू सुख्खा मरुभूमीमा बस्न सक्छन् किनभने तिनीहरूको माथिल्लो ढिस्कोले तापक्रम र आर्द्रतालाई नियन्त्रण गर्ने भेन्टिलेसन प्रणालीको रूपमा काम गर्छ । तातो र सुख्खा हावा ढिस्कोको माथि सर्छ र त्यसबाट बाहिर निस्कन्छ । बाहिरको चिसो हावा ढिस्कोको तल्लो प्वालहरूबाट भित्र छिर्छ र तातो हावालाई फेरि माथि धकेलिदिन्छ । एकदमै प्रभावशाली धमिराको ढिस्कोले जस्तोसुकै मौसममा पनि २७ डिग्री सेल्सियस तापक्रम र ६० प्रतिशत आर्द्रता कायम गर्दछ ।

अफ्रिकाको जिम्बाब्वेमा अवस्थित इस्टगेट शपिङ सेन्टर, धमिराको ढिस्कोबाट प्रेरित भएर निर्माण गरिएको थियो । खासै धेरै ऊर्जाको प्रयोगविनै पर्याप्त तापक्रम र आर्द्रता कायम गरी त्यसको डिजाइन गरिएको थियो । त्यसको प्रभाव साँच्चै उत्कृष्ट थियो । अफ्रिकामा मध्य ग्रीष्मको मौसममा पनि, इस्टगेट सेन्टरले एयर कन्डिसनिङ्गविनै २५℃ [७७℉]भन्दा कम तापक्रमको आरामदायी अवस्था कायम गर्दछ, त्यहाँ प्रयोग हुने बिजुलीको मात्रा उस्तै आकारको भवनको तुलनामा १०% मात्र हुन्छ ।

लगभग शून्य बुद्धि र कुनै दृष्टि नभएको यस्तो सानो कीरासँग कुनै वास्तुकलाको डिजाइन वा वैज्ञानिक ज्ञान हुँदैन । त्यसैले एउटा सामान्य नियम पालन गरेर आफू बाँच्नका लागि सबैभन्दा उत्कृष्ट ढिस्को बनाउनु भनेको आश्चयर्को कुरा हो ।

अहिले वैज्ञानिकहरूले कीराहरूको अनुकरण गर्दै केवल एउटा ठूलो रोबट बनाउनुको सट्टा धेरै वटा स- साना, साधारण रोबोटहरू बनाउने प्रणालीको विकास गरिरहेका छन् । यी स-साना रोबोटहरूलाई रक्तनलीहरूमा सर्ने न्यानोरोबोट र उद्धारको कार्यहरूमा राखिने रोबोटको रूपमा प्रयोग गरिने अपेक्षा गरिएको छ । त्यसै गरी कमिलाको झुण्डले सबैभन्दा छोटो मार्ग फेला पार्ने आश्यर्यजनक क्षमतालाई आधार बनाइ सफ्टवेयर बनाइएको छ । यसलाई ट्राफिक नियन्त्रण, मार्ग योजना र सञ्चार सञ्चाल सेवाहरूको पुर्वानुमान र सुधार गर्न प्रयोग गरिन्छ ।

सामूहिक बुद्धिमत्ता, अगुवाविना एक-अर्कासित सहकार्य गर्ने मनचाहिँ कीराहरूमा भएको असाधरण क्षमता हो । साना र नगण्य कीराहरूलाई दिइएको यो क्षमता स्वर्गीय आशिष् हो ।

“ए अल्छे, कमिलाकहाँ गएर त्यसको चाल-ढङ्ग हेर् र बुद्धिमानी बन् ! त्यसको अगुवा हुँदैन, हाकिम वा शासक हुँदैन, तापनि ग्रीष्म ऋतुमा त्यसले अन्नको भण्डार तयार गर्छ र कटनीको समयमा आफ्नो खानेकुरा सञ्चय गर्छ ।” हितो ६:६-८

सन्दर्भ
पिटर मिलर, द स्मार्ट स्वार्म, डेजर्ट न्यूज प्रकाशन कम्पनी, सन् २०१८
गो हो-वान, के कमिलाहरूलाई फर्म्याटको सिद्धान्त थाहा छ ? (कोरियालीमा 개미가 페르마의 원리를 안다고?) विज्ञान दोङ्गा, सन् २०१३, जुलाई
लि इन-सिग, कमिला, मौरी, र माछाको सामूहिक बुद्धिमत्ताले संसारको भविष्य परिवर्तन गर्छ ? (कोरियालीमा 개미, 벌, 물고기의 ‘떼지능’이 미래 세상 바꾼다) जोङवाङ सन्डे, सन् २०१३, मे १९