WATV.org is provided in English. Would you like to change to English?
‘विश्वको साझा भाषा’ रहेको सङ्गीतको शक्तिद्वारा समाजमा एलोहिम परमेश्वरको प्रेम प्रसार गर्न र खाँचोमा परेका छिमेकीहरूलाई सहयोग गर्न पेरु, संयुक्त राज्य अमेरिका, मलेसिया र सिङ्गापूरमा साङ्गीतिक कन्सर्टको आयोजना गरियो । प्रत्येक देशका परमेश्वरको मण्डलीका सन्तहरूद्वारा तयार पारिएको यस पटकको साङ्गीतिक कन्सर्टको स्थान र आकार भिन्नाभिन्नै भए पनि सुन्दर धुनहरूद्वारा रचिएको प्रेरणा भने एउटै थियो ।
हालसालै, पेरुको मोकेग्वास्थित उबिनासमा ज्वालामुखी विस्फोटको सङ्केत देखिएसँगै स्थानीयवासीहरूको चिन्ता बढ्दैगइरहेको छ । ज्वालामुखीबाट वायुमण्डलमा ५,००० मिटर(१६,४०० फिट)को उचाइसम्म खरानी र ग्यास उत्सर्जन भइसकेको छ, अनि खरानीले पानी दूषित पार्नुको साथै बालीनाली सखाप पारेको छ ।
त्यसैले पेरुको फसेत मण्डलीबाट ज्वालामुखी पीडितहरूको सहयोगार्थ च्यारिटी कन्सर्टको आयोजना गरियो । अगस्ट ११मा, बिदाको मौका पारेर आयोजना गरिएको कन्सर्टमा सन्तहरू लगायत स्थानीय अधिकारीहरू, व्यवसायीहरू, शिक्षकहरू गरी ९०० जनाभन्दा बढीले सहभागिता जनाए ।
३३ जना पेरुभेली सन्तहरूद्वारा गठित फिलो से अर्केस्ट्राले नयाँ भजन ‘म आज सियोनतिर,’ चलचित्र ‘ला ला ल्याण्ड’को ओएसटी, परम्परागत वाद्यवादनको धुनको साथमा लोक गीत ‘एल कोन्दोर पासा’ जस्ता विभिन्न गीतहरू प्रस्तुत गऱ्यो । कायाओका गभर्नर डन्टे माड्रिओटीले “यस कार्यक्रममा भेला भएका सहयोगी हातहरूले सहाराको खाँचो परेका छिमेकीहरूलाई ठूलो सहयोग पुग्नेछ” भन्दै आभार व्यक्त गरे ।
सोही दिन, संयुक्त राज्य अमेरिकामा चाहिँ परमेश्वरको मण्डली विश्वविद्यालय विद्यार्थी स्वयंसेवा सङ्गठन ASEZ(आसेज)का सदस्यहरूले न्यू योर्कको म्यानहट्टन लिङ्कन सेन्टरमा ‘विश्व शान्तिको निम्ति सहकार्य’ भन्ने शीर्षकमा कन्सर्टको आयोजना गरे । मार्चमा, आसेजले प्राध्यापकहरू, डाक्टरहरू, व्यवसायीहरू र नागरिकहरूलाई अपराधमुक्त र सुरक्षित समाज निर्माणमा अभिप्रेरित गर्न कन्सर्टको आयोजना गरेको थियो । यस पटकको कन्सर्टले पनि यूएनका दिगो विकास लक्ष्य(SDGs)हरू कार्यान्वयनमा एकता र सहकारिता निर्माण गर्ने मञ्चको भूमिका निर्वाह गऱ्यो ।
कार्यक्रमअघि, बधाईको दुई शब्द राखेकी न्यायाधीश रेजिना रिनाल्डीले सुन्दर समाज बनाउन प्रयत्नरत विश्वविद्यालयका विद्यार्थीहरूको सराहना गर्दै “परिवारबाट बलियो समर्थन नहुँदा युवाहरू सजिलैसित अपराधमा फस्ने गर्छन् । आमाको प्रेमद्वारा सेवा गर्ने आसेजले मानिसहरू र संसारलाई सही दिशातर्फ परिवर्तन गराउन सक्छ” भन्दै उनीहरूको गतिविधिमा समर्थन जनाइन् । अनि न्यू योर्कका सांसद नाडर सायेघले आसेजलाई सम्मानस्वरूप धन्यवादको पत्र प्रदान गरे ।
न्यू योर्क, डेन्भर, लस एन्जलस जस्ता अमेरिकाका विभिन्न सहरबाट भेला भएका अर्केस्ट्रा टोली र गायन टोलीले उच्चस्तरीय प्रस्तुतिसँगै शान्तिको सन्देश प्रसार गरे । हल्लेलूयाह संयुक्त गायन टोलीको प्रस्तुतिसँगै कार्यक्रमका सबै चरण समाप्त भएर प्रस्तोताहरूले दर्शकलाई अन्तिम अभिवादन गर्दा, ८०० जनाभन्दा बढी दर्शकहरू सबैले उठेर ताली बजाउँदै शान्ति र सुरक्षाको निम्ति सँगै प्रयत्न गर्ने इच्छा जाहेर गरे ।
अगस्ट ११मा मलेसियाको पेटालिङ जायामा अवस्थित प्लेटफर्म कन्सर्ट हलमा, दैनिक जीवनयापनबाट थकित भएका नागरिकहरूलाई हौसला प्रदान गर्न ‘माताको प्रेम समाहित हिलिङ कन्सर्ट’को आयोजना गरियो । यो कन्सर्टचाहिँ भाषा र संस्कृतिको पर्खाललाई नाघ्दै मलेसिया, सिङ्गापूर र कोरिया गरी ३ वटा देशका परमेश्वरको मण्डलीका सन्तहरू प्रस्तुति दिन एकजुट भएकाले अझ विशेष थियो । कन्सर्टको १० दिनअघिदेखि अभ्यास गर्न थालेका प्रस्तोताहरूले कार्यक्रमको दिनमा नयाँ भजन ‘स्वर्ग जाने चम्किलो बाटो,’ शोस्टाकोभिचको ‘वाल्ज नं २,’ योहान स्ट्रस प्रथमको ‘राडेज्की मार्च’ इत्यादि विभिन्न विधाका गीतहरू प्रस्तुत गरेर ३०० जनाभन्दा बढी दर्शकहरूको मनलाई प्रभावित तुल्याए । संयुक्त अर्केस्ट्रा टोलीले त्यसको भोलिपल्ट(अगस्ट १२) सिङ्गापूरमा गएर शेब्रोन्स सभा हलमा त्यहाँका नागरिकहरूलाई उपहारस्वरूप हिलिङको समय प्रदान गरे ।
राष्ट्रिय सिमानालाई पार गरेको सुमधुर धुनमा मन्त्रमुग्ध भएका कोरियाको नान्याङ प्रविधि विश्वविद्यालयका प्राध्यापक डा. उङ सिन फिनले “परमेश्वरको शिक्षा समाहित साङ्गीतिक प्रस्तुति एकदमै प्रेरणादायी थियो” भन्दै लगातार प्रशंसा गरे ।