WATV.org is provided in English. Would you like to change to English?

April 7, 2020

विपत्तिको बीचमा अझ चम्किएको जीवनको करार, निस्तार-चाड

विश्वभरिका १७५ वटा देशका सन्तहरूले आ-आफ्नो घरमा अनलाइन आराधना गरे

381 Views
FacebookTwitterEmailLineKakaoSMS

परमेश्वर शुद्ध हृदयका हुनुहुन्छ, र उहाँको करार अपरिवर्तनीय छ । विश्वव्यापी महामारी कोभिड-१९का कारण सारा संसार अस्तव्यस्त भइरहेको बेला निस्तार-चाड नजिक आयो । सङ्क्रमण पुष्टि भएको सङ्ख्या र मृत्यु हुनेको सङ्ख्या दिन प्रतिदिन बढ्दैगएको र विश्वमा महामारीलाई फैलनबाट रोक्न कर्फ्यू(shutdown) र बन्दाबन्दी(lockdown)का कदमहरू चालियो । पाप-क्षमा, मुक्ति र अनन्त जीवनको आशिष्‌को प्रतिज्ञा रहेको परमेश्वरको चाड, निस्तार-चाड विगतमा भन्दा यो समयमा अझ बढी आवश्यक थियो ।

सन्तहरूले आ-आफ्नो घरमै निस्तार-चाड मान्न सक्ने गरी परमेश्वरको मण्डली विश्व सुसमाचार समाजको प्रधान कार्यालयबाट अनलाइन आराधना घोषणा गरियो, अनि करीब ५० वटा भाषाहरूमा अनलाइन आराधनाका भिडियोहरू निर्माण गरेर वितरण गरियो । अप्रिल ७ तारिख(पवित्र पात्रोअनुसार पहिलो महिनाको चौधौँ दिन) साँझमा, निस्तार-चाडको गहिरो प्रतीक्षा गरिरहेका विश्वभरिका १७५ वटा देशका परमेश्वरको मण्डलीका सन्तहरूले कोभिड-१९ नफैलिएका केही देशहरूबाहेक, अधिकांशले आ-आफ्नै घरमा अनलाइन आराधनाद्वारा पवित्र र भक्तिसाथ निस्तार-चाड माने । त्यसको भोलिपल्ट ८ तारिखमा परेको अखमिरी रोटीको चाड र १२ तारिखमा परेको पुनरुत्थानको चाडमा पनि अनलाइन आराधना गर्दै सन्तहरूले ख्रीष्टको बलिदान र पुनरुत्थानको अर्थलाई स्मरण गरे ।

निस्तार-चाडचाहिँ परमेश्वरले मानव-जातिको मुक्तिको निम्ति दिनुभएको जीवनको करार हो । ३,५०० वर्षअघि इस्राएलीहरू मिश्रको दासत्वमा छँदा मिश्रमा ९ वटा विपत्ति झारिएको थियो । पानी रगतमा परिणत भयो । भ्यागुता, भुसुना र झीँगाहरू जताततै वृद्धि भए, गाईबस्तुमा र मानिसहरूमा रूढी आयो, असिना पऱ्यो, सलहको हूलले बाली नाश गऱ्यो, र आकाशलाई अन्धकारले ढाक्यो । अन्तमा प्रत्येक घरको पहिले जन्मेको जेठो छोरो र गाईबस्तुका पहिले बियाएकाहरू सबैलाई मार्ने ठूलो विपत्ति आउने भएकोले परमेश्वरले मोशालाई “थुमा बलि गरेर त्यसको रगत घरको ढोकाको चौकोसका दुईपट्टिका खम्बाहरू र माथिल्लो भागमा लाउनू । जब म त्यो रगत देख्नेछु तब तिमीहरूलाई चाहिँ छोडिदिनेछु । कुनै विपत्तिले तिमीहरूलाई छुनेछैन” भन्नुभयो । परमेश्वरले प्रतिज्ञा गर्नुभएअनुसार पहिलो महिनाको चौधौँ दिनको साँझमा, मिश्रीहरूको एउटा घर पनि विपत्तिबाट बच्न सकेन, र सबैले जेठो छोरो गुमाए । तर थुमाको रगत लगाइएको इस्राएलीहरूको घरबाट भने विपत्ति पार भयो, र इस्राएलीहरूले छुटकारा पाए । यो दिनलाई नै निस्तार-चाड भनिन्छ । चाडको नामबाटै थाहा हुन्छ, कि निस्तार-चाड भनेको विपत्ति पार हुने चाड हो । परमेश्वरले निस्तार-चाडलाई परमेश्वरको चाडको रूपमा तोक्नुभएर पुस्तौँसम्म एउटा रहिरहने विधिस्वरूप मान्नू भन्नुभयो (प्रस अध्याय ७-१२) ।

नयाँ करारमा चाहिँ २,००० वर्षअघि येशूज्यूले आफू क्रूसमा टाँगिनुभन्दा ठीक अघिल्लो रात चेलाहरूसँग निस्तार-चाड मान्नुभएको थियो । उहाँले आशीर्वाद चढाउनुभएको रोटी चेलाहरूलाई दिनुहुँदै “यो मेरो शरीर हो” र दाखमद्य दिनुहुँदै “यो मेरो रगत हो, जो पाप प्रायश्चितका लागि बगाइन्छ” भन्नुभयो, अनि त्यसलाई नयाँ करार भन्नुभयो । उहाँको देह र रगतलाई जनाउने निस्तार-चाडको रोटी र दाखमद्य चेलाहरूलाई खान र पिउन लगाउनुभयो । कारण उहाँको अनमोल रगतद्वारा तिनीहरूले अनन्त जीवन र मुक्ति पाऊन् भन्ने उहाँको ठूलो इच्छा थियो (मत्ती २६:१७-२८; लूक २२:७-२०; यूह ६:५३-५८) ।

यो युगमा पनि विपत्तिहरू झर्नेछ, र विपत्ति पार हुने छाप परमेश्वरका प्रजाहरूमाथि लगाइनेछ भनेर बाइबलमा अगमवाणी गरिएको छ । चाहे त्यो ३,५०० वर्षअघि होस्, चाहे २,००० वर्षअघि होस् अथवा अहिले होस्, परमेश्वरले सधैँ निस्तार-चाडद्वारा आफ्ना प्रजाहरूमा मुक्तिको छाप लगाउँदैआउनुभएको छ ।

निस्तार-चाडको यस्तो अर्थलाई आफ्नो हृदयमा खोपेका परमेश्वरको मण्डलीका सन्तहरूले येशूज्यूको उदाहरणअनुसार उहाँको इच्छालाई पछ्याउँदै गोडा धुने धर्मविधि गरेपछि निस्तार-चाड मनाए । निस्तार-चाडको रोटी र दाखमद्य खाएर, पिएर ख्रीष्टको देह र रगतमा सहभागी भएका सन्तहरूले, क्रूसको कष्ट सहनुभई महान् बलिदानद्वारा जीवनको करार स्थापना गर्नुभएका परमेश्वरलाई गहिरो धन्यवाद चढाए ।

वर्तमान समयमा येशूज्यूको शिक्षाअनुसार नयाँ करार निस्तार-चाड मान्ने मण्डलीचाहिँ परमेश्वरको मण्डली विश्व सुसमाचार समाज मात्र हो । सन्तहरूले कोभिड-१९ले पीडित सम्पूर्ण मानव-जातिमा परमेश्वरको आशिष् बर्सियोस् भन्दै एउटै मनद्वारा प्रार्थना चढाए, अनि जीवनको नयाँ करार अझ धेरै मानिसहरूलाई जानकारी दिएर निस्तार-चाडमा समाविष्ट परमेश्वरको साँचो इच्छा र प्रेम सुनाउने दृढ सङ्कल्प लिए ।

FacebookTwitterEmailLineKakaoSMS

सम्बन्धित पोस्ट